Skip to content

आमाको शुभ्र आँचल

  • by


फुलेका केशझैँ सेता हिमाली टाकुरा शिर
हरियो फरिया लामै लत्रेको छ यतातिर
खास्टो ओढाइ डुल्दै छ पाखामा मेघ निर्मल
कुन्नि केले भिजेको छ आमाको शुभ्र आँचल ।

कहीँ बारुदको रास बिजुलीको धराप छ
सुनिन्छ गाउँको बस्ती आगो लागी सखाप छ
छाती पड्केर धर्तीको मुटुमा बन्छ खाडल
पोतो लत्पतिएझैँ छ आमाको शुभ्र आँचल ।

कसैका भाँचिए लौरा कति आशा चुँडालिए
टुहुरा पारिए, कैयौँ जिउँदैमा जलाइए
कैयौँका पुछिए स्युँदा रातै बर्सेर बादल
रगताम्मे भएको छ आमाको शुभ्र आँचल ।

भित्रको चाहना अर्कै बाहिरी भाव भिन्न छ
गाउँले सहरी जो हुन् सबैको मन खिन्न छ
बैशाख पनि बित्दै छ अझै पाकेन काफल
चिथ्राचिथ्रा भएको छ आमाको शुभ्र आँचल ।

न कुनै योजना राम्रो न देख्छु कार्य पद्धति
सत्ताको खेलमै व्यस्त देखिँदै छन् भएजति
अलपत्र परेको छ भएर देश घायल
बुटले कुल्चिएको छ आमाको शुभ्र आँचल ।

कोही मधेस भन्दै छन् कोही पूर्व र पश्चिम
खुल्लेआम मचाएर वीभत्स त्रास वस्तीमा
देख्दादेख्दै दसा यस्तो नहोला कुन पागल
तम्सेका छन् सबै च्यात्न आमाको शुभ्र आँचल ।

बुद्धिजीवीहरूको छ स्वार्थमै व्यस्त जिन्दगी
विदेशैतिर भुल्दो छ तन्नेरी मस्त जिन्दगी
युवती नाचमा व्यस्त बाँधेर पाउ पायल
स्याहार कसले गर्ला आमाको शुभ्र आँचल ।

छन् दुश्शासनका आँखा परेका जननीतिर
बढ्दै छन् दुष्टका कैयौँ हात हाम्रै अगिल्तिर
धमिल्याउन तम्सेका प्रतिष्ठा स्वच्छ उज्ज्वल
रहला कि सधैँ यस्तै आमाको शुभ्र आँचल ।

यो राज्य कसको निम्ति मानिसै नरहेपछि
राष्ट्रको प्रेम पाइन्न भाव नै नभएपछि
यस्तै चाला रहे हुन्छ अन्तमा राष्ट्रघायल
धर्साधर्सा भई जान्छ आमाको शुभ्र आँचल ।

-चन्द्रनिगाहपुर, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *