जून निदाएको रात
संसार नै अँध्यारो हुन्छ
अँध्यारोको फाइदा लुट्नेहरू
उठ्छन् यस्तै मौका पारेर
हातहितयार बमबारुदका साथ
कोही भने यहाँ,
मातृभूमिको सेवा र रक्षाको लागि
उन्नति र विकासको लागि
यस्तै निस्तब्धतालाई अँगाल्दछन्
यस्तै निस्तब्धतामा जीवन बिताउन
विवश र बाध्य हुन्छन् ।
चोर-डाँका फटाहालाई
उज्यालो लाग्न सक्छ
जून निदाएको रात
कसैको धनसम्पत्ति
गुटुमुटु पार्न तल्लिन हातहरू
यस्तै रातमा लम्किन्छन्
कसैको ज्यान निमोठ्न होस् वा
कसैको उठिवास लगाउन
जानीजानी बुझीबुझी
बुझ पचाउनेहरू
पढेलेखेका मूर्खहरू
रोजगारीको अभावले
फूर्सदको मौका पारेर
यस्ता कतिकति
रातरात सुत्दैनन्
उनीहरूलाई लाग्न सक्छ
सधैँभरि अँध्यारो मात्रै भए हुन्थ्यो,
जून घाम सबै झरेर गए हुन्थ्यो ।
-दोखु-३, ताप्लेजुङ
मधुपर्क पुष, २०६५
