लोकका आँखामा त्यो एक कुरुप, हेर्दा अनाकर्षक,
छुँदा झन् एलर्जिक, आँङै सिरिङ्ग बनाउने
एउटा महìवहीन कीरो हुन सक्ला
अनि बोट, बिरुवा एवं कलिला टुसा-मुनाका लागि
त्यो एक खतरा पनि कहलिन सक्ला
सजिएका बारी, बगैँचाहरूमा उसको उपस्थिति
अशुभ पनि हुन सक्ला, अभिशाप मानिन सक्ला ।
प्रत्येक झुसमा पखेटाको सम्भावना साँचेको
त्यो सङ्घर्षरत झुसिल्कीरो
मानिसको घृणा र चिन्ताको विषय मात्र हुनै सक्तैन
त्यो त बरु अनुपम स्फटिकझैँ
चित्ताकर्षक जीव बन्न सक्ने
पर्यावरणको आˆनै मौलिक रङ्गीबिरङ्गी सजावट गर्न सक्ने
जैविक चक्रमा आˆनो बेग्लै योगदान दिन सक्ने
अनि घिस्राइबाट प्रेरणादायी उडानको लक्ष्य चुम्न सक्ने
प्रत्येक कुरुपता भित्रको
एउटा सुन्दर सम्भावनाको दृष्टान्त ।
हो, त्यो भोलिको सुन्दर पुतली हो
उड्ने दिनको व्यग्र पर्खाइमा रहेको
मात्र मेटामोर्फोसिसको कालखण्ड बाँचिरहेको ।
-महेन्द्रनगर-१०, कञ्चनपुर
