सौन्दर्य र पहिरनप्रति निकै सचेत अञ्जली सेनले बढ्दै गइरहेको उमेरले ल्याउने शिथिलता र बुढ्यौलीलाई लक्ष्य गरेर प्रायः आफ्ना अनुभवहरू सुनाइरहन्थिन्, मेन्टेनेन्स कस्ट निकै बढ्दै गइरहेछ अचेल शरीरको । पहिला जे कुरा यसै यत्तिकै प्राकृतिक रूपमै प्राप्त हुन्थ्यो, त्यसैलाई जोगाउन वा जोगिएको देखाउन मात्र पनि अनेक साधन-प्रसाधनहरू जुटाउनुपर्छ अचेल ! त्यसभन्दा पनि बढी तिनको नियमित उपयोग निम्ति जाँगर जुटाउन साह्रै कठिन छ । शरीरको सुचारु सञ्चालनका अतिरत्तिm सौन्दर्यमा देखापर्ने अवरोधका कुरा बढी गर्दै थिइन् अञ्जली । मलाई थाहा थियो, आफ्नो कमाइको निकै ठूलो अंश तिनको यसैमा खर्च हुन्थ्यो ! तिनले ब्रेकफास्टसँग अनेक प्रयोजनका एकमुठी क्याप्सुल खाएको देख्थेँ म, नियमित जिम र पार्लर जान्थिन्, खानेकुरामा थुप्रै बन्देजहरू थिए ! सौन्दर्य प्रसाधनको सतर्क प्रयोग र हरेक रात त्यसको उचित सफाइमा कत्ति अल्छी मान्दिनथिन् । पोसाकको चयन उत्तिकै सतर्कतापूर्व हुन्थ्यो । सम्बन्धित सूचना जानकारीहरू खोज्थिन्, अद्यावधिक राख्थिन् आफूलाई । म अनुभव गर्थें, ५० को वरपरमा पनि तीभित्रको युवा ऊर्जा उत्तिकै सक्रिय छ । तिनले गरेका काम सबैका निम्ति आदर्श उदाहरणीय छन् भन्नुभन्दा पनि तिनले कत्ति नआत्तिईकन बडो शान्त र शालीन किसिमले आफ्नै निर्णय र छनोटमा जीवनका ओरालो लाग्दै गरेका स्थितिहरूको सामना गरेको देख्ता लोभ लाग्थ्यो मलाई । मेन्टेनेन्स कस्ट बढी भए पनि त्यो उनकै प्राथमिकताको कुरा थियो र त्यसबाट उनी सन्तुष्ट थिइन् । ५० वर्षकी स्वास्नीमान्छे भन्नेबित्तिकै हामीले तिनीहरूका बारेमा गर्ने कल्पना र हामीले सोच्ने तिनको भूमिकामा कहीँ पनि अञ्जली अटाउँदैनथिन् ।
म जब सानी थिएँ, ४० वर्षभन्दा माथिको उमेरको मान्छे मरेको सुन्दा त्यो मर्न सुरु हुने उमेरै त हो, त्यति दुःखमनाउ गर्नुपर्दैन जस्तो लाग्थ्यो । मान्छेलाई छिट्टै नै बुढ्यौली आरोपण गरिदिने चलन हाम्रातिर निकै छ । सम्भवतः सानैमा केटाकेटीको बिहे गरििदने र थुप्रै पुस्ताहरू एकाघर बस्ने चलनले गर्दा माथिको पुस्तालाई मनोवैज्ञानिक दबाब पनि पर्दो हो बुढ्यौली स्वीकार्ने । बडाको उत्तराधिकार कुरेर बस्नुपर्ने तलका पुस्तालाई पनि सधैँ उपल्लाहरूका खटन र दबाबमा बस्नुपर्ने कारणले तिनलाई छिट्टै बुढ्यौली आरोपण गरिदिन पाए आफ्नो पालो अलि छिटो आउँथ्यो कि जस्तो पनि लाग्दो हो । अन्यथा चेतनाका हिसाबले त मान्छेले कहिल्यै पनि उमेरको प्रभाव अनुभवै गर्दैन । मलाई जुनबेला संसारमा आफ्नो उपस्थिति बोध भएको सम्झना हुन्छ, त्यतिखेर र यतिखेर पनि आफ्नो अवस्थामा कुनै भिन्नताको अनुभव हुँदैन, लाग्छ, म सधैँ उस्तै थिएँ र छु ।
उमेरको प्रभावलाई मेरी मम्मीले सामना गर्ने तरकिा भने भिन्न थियो अञ्जलीको भन्दा । प्रायः घाममा बसेर तेल लगाउनुहुन्थ्यो र यसो गर्दा सञ्चो भएको कुरा गर्नुहुन्थ्यो । यता दुख्यो, उता दुख्यो, आफूले नपुगेको ठाउँमा यता मालिस गरदिेओ, तेल लगाइदेओ भन्नुहुन्थ्यो ! हामी भने बुझ्दैनथ्यौँ र नटेरी हिँड्थ्याँै । उहाँको चासो भने अय्याआत्थु नगरीकन शरीर राम्ररी चलाउनु र घर-व्यवहार सम्हाल्न सक्नुसम्म हुन्थ्यो, पैसा र समय खर्च गरेर उमेरमाथि नै छेकबार हाली आकर्षक देखिइरहन सकिन्छ भन्ने कुराप्रति त्यति सचेत हुने वातावरण पनि थिएन उहाँको, जानकारी पनि थिएन होला । हद गरे तोरीको तेल लगाउनुहुन्थ्यो अनुहारमा र भन्नुहुन्थ्यो, यसले रूप दिन्छ । कोरीबाटी अनुसारका प्रसाधनहरू, राम्रा लुगा, झरभिmुप्प गहना लगाउने कुरालाई नै मेरी मम्मी र मेरै पुस्ताले पनि राम्री हुनु भनेर बुझेको जस्तो लाग्थ्यो मलाई । सानैदेखि उहाँको नक्कल गरेर म पनि अनुहारमा क्रिम-पाउडर, टीको-गाजल लगाएर ठाँटिन्थेँ बिहानै र मात्रै घरबाट निस्कन्थेँ । लाग्थ्यो, खूब राम्री भएकी छु ।
केही दिनअघि निकै अगाडि चिनेकी एक जना बैनीलाई भेटेकी थिएँ एउटा पार्टीमा । चिनेचिनेजस्तो लाग्यो तर ठम्याउन सकिनँ । उसले पनि निकैबेर हेररिही मलाई । पछि चिनेँ, कल्पना रहिछ । ऊ निकै राम्री, चलाख, फुर्तिली केटीका रूपमा चिनिन्थी । बडो चञ्चल नटखट थिई । ४० वर्ष नाघेकी थिइन होली उसले तर उसको रूप पूरा फेरिएको थियो, यतिखेर मोटाएर भकारी भएकी थिई । निकै गाढा मेकअप गरेकी, महँगा लुगा, गहना लगाएकी कल्पनाको शरीरले राम्रो सम्पन्नता देखाइरहेथ्यो तर अनुहार भावशून्य थियो, जीवन थिएन उसका हाउभाउमा, सपाट देखिन्थी । छेउमा दुईवटी राम्री ठिटीहरू थिए, छोरीहरू हुँदा हुन् । उसको पुरानो सौन्दर्य र जीवन्तता तिनमा रूपान्तरति भएको थियो । उसले मलाई आफूसँगका नन्द-आमाजू, भान्जीहरूको परचिय गराउँदै थिई, मलाई भने लाग्यो, अरू थुप्रै नयाँ भूमिका निर्वाह गर्दागर्दै आफूलाई चाहिँ बिर्सिछ कल्पनाले ।
हामी धेरैजसो मध्यमवर्गीय नेपाली स्वास्नीमान्छेहरू प्रायः बिहे गरेपछि र अझ बच्चा पाएपछि त आफूलाई दुरुस्त र आकर्षक राखिरहनु त्यति आवश्यक पनि ठान्दैनौँ, घरकै मान्छे र अरूले पनि प्रोत्साहन गर्दैनन् । बिहेका निम्ति स्वीकार गरनि राम्री देखिने भन्ने मान्यता बलियो भएर होला, एउटा लोग्ने फेला परसिकेपछि, अब अरू कसलाई देखाउन राम्री हुने भनेर पनि भन्छन् कतिले । कतिपयले त बच्चा पाइसकेपछि घरमा आफ्नो स्थिति बलियो भइहाल्यो जस्तो लागेर आफूलाई ध्यान दिनै पनि छाड्छन् रे ! धेरैचाहिँ घरकै काममा व्यस्त हुनुपर्ने कारणले आफ्ना निम्ति समय निकाल्न नभ्याएको बताउँछन् । तर, घरै बसेका कतिपय स्वास्नीमान्छेले आफ्नो कपाल कोर्न फुर्सत पनि निकाल्न नसकेको देखेकी छु मैले । म आफैँ पनि अफिस छुट्टी भएका दिनमा झन् अस्तव्यस्त भएर बस्ने गरेको सम्झन्छु । यस्ता कुरामा फुर्सतभन्दा पनि हामीले आफूलाई कति महत्त्व दिन्छौँ भन्ने कुराले बढी भूमिका खेल्छ जस्तो लाग्छ मलाई अचेल । प्रायः बिहेपछि हामी धेरै स्वास्नीमान्छेले आफ्नो जीवनको उद्देश्य पूरा भयो र आफ्नो प्रयोजन पनि सकियो झैँ गरी गति छाडेर आफूलाई अप्रासांगिक र शून्यप्रायः बनाउँदै जाने कुरा भने मलाई बडो खट्किरहन्छ । लाग्छ, हामी त्यसपछि आफूलाई समाप्त गर्छौं र अरूकै लागि बाँच्छौँ । हामीलाई यसै हाम्रो प्राथमिकतामा हाम्रा केटाकेटी, लोग्ने र घरका परिवार पर्छन् । बिरामी नै भए पनि सिकिस्त नभएसम्म मिचेर बस्ने हाम्रा निम्ति आफू सुन्दर र आकर्षक बन्न प्रयत्न गर्ने भन्ने कुरा टाढाकै कुरा हुन पुग्छ ।
जीवनमा यति धेरै झमेलाहरू हुन्छन्, बारम्बार जडताले प्रभुत्व जमाउन खोज्छ, निराशा र उदासीले गाँज्ने पनि गर्छ र हामी ऊर्जाहीन अनुभव गर्छौं आफूलाई । बढ्दै गइरहेको उमेरले स्थितिलाई अझै जटिल बनाउँछ र हामी अब किन, केका लागि राम्रो, गतिलो देखिनुपर्यो पनि भन्ठान्छौँ । यथार्थमा आफू सुन्दर र आकर्षक बन्ने भन्ने कुरा अरूका लागि नभएर आफ्नै लागि हो र उमेरसँग यसको केही सम्बन्ध छैन भन्ने बोध गर्न मलाई पनि निकै समय लाग्यो । सुन्दर हुनु, सुन्दर अनुभव गर्नु भनेको जीवनप्रति नित्य उत्सुक भइरहेको अवस्था हो ! आफ्नो नित्य स्वरूपकै सन्धान भएका कारणले यो ऊर्जाले हामीलाई गतिशील बनाउँछ । म देख्छु, सुन्दर देखिन हामीले गर्ने प्रयत्नमा हाम्रो मानसिकता, प्रवृत्ति र रुचिको सकारात्मक पक्ष मुखरति हुन्छ, यसबाट हाम्रा सम्बन्धहरू प्रभावित हुन्छन्, हाम्रो आत्मविश्वासमा फरक पर्छ । जीवनमा आफूलाई र आफ्नो स्वतन्त्र छनोटलाई आफ्नै प्राथमिकतामा पार्न सक्नु महत्त्वपूर्ण कुरा हुने रहेछ । आफैँले आफूलाई मद्दत गर्न तयार हुन सकेन मान्छे भने बाहिर उपलब्ध कुनै पनि मद्दतले काम गर्दैनन् । हाम्रो सक्रियताको स्रोत आत्मविश्वास मात्रै हो ।
मेरो कपालमा मेहन्दी हालिदिँदै गर्दा सन्तोषले भने, आज “आ…छोडिदिनूस् हजुरले अब मेहन्दी हाल्न, कति छिटो जान्छ रङ, अस्ति भर्खर हालेको, फेर िसबै सेतै भइसक्यो ।”
रङ त जान्छ नि…, जीवनको पनि जान्छ, गई नै त रहेछ, रोक्न कहाँ सकिन्छ र ? तर, मान्छेले आफ्ना प्रयत्नले आफूमा रङ थप्दै गरेन भने ऊ समयभन्दा पहिल्यै उजाडिने गर्छ हाम्रा प्रयत्न र लगानीले मात्रै सधैँभरि हाम्रो शरीर स्वस्थ र राम्रो बनिरहँदैन तर त्यसलाई राम्रो बनाउन रुचि र रहर लागुन्जेल त्यही ऊर्जाले हामीलाई जीवित बनाइरहन्छ ।
नेपाल साप्ताहिक ३३३

(Soundaryama sarir) yo
(Soundaryama sarir) yo sandesh dherai ramro lagyo online tour gardai dada yati ramro tips paye bhagya mani fell bhayo.thx lekhak jyu