Skip to content


मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
व्ा बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु

अब धेरै बाकि छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरी एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु
२० मङ्सिर २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *