पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, “भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहाँ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गराउनु पर्लाजस्तो छ ।” मैले ‘हवस्’ भनेर फोन राखिदिएँ । मैले उसलाई ‘हवस्’ त भनेँ तर त्यसपछि भने मलाई चिन्ताले गाँज्न थाल्यो । आफ्नो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिएँ र मेरो घर थियो ।
ऊ आलिसान महलको मालिक थियो । वरपिरि ठूलो कम्पाउन्ड थियो । कम्पाउन्डभित्र फलफूलको बगैँचा थियो, जहाँ वर्षौभरि मीठा-मीठा फलहरू लाग्थे । घरका बार्दली, छत, गेट र कम्पाउन्डको पर्खालमा रङ्गीबिरङ्गी फूलहरू बाह्रैमास लत्रिरहेका देखिन्थे । महलभित्र नै एक सुन्दर, रमणीय र मनोहारी तलाउ थियो र तलाउको बीचमा एक जना महात्माको सालिक थियो । महलको दक्षिण भागमा एउटा टावर थियो, जसमा टेलिस्कोप र दूरबीन जडान गरएिका थिए । ग्रह, नक्षत्रको गतिको लेखाजोखा गर्न ती जडान गरिएको हो भनिएको थियो । पल्लो घरको छिमेकी छाताको विशेष सोखिन प्रतीत हुन्थ्यो । घरको छतमा र बगैँचामा थरीथरीका रङ्गीबिरङ्गी छाताहरू गाडिएका थिए । छाता बनाउने कालिगढहरू पालेर राखेको थियो उसले । छिमेकका एक-दुइ घरको छतमा समेत उसका छाता गाडिएका देखिन्थे । ऊ अनौठो स्वभावको थियो । उसले एउटा हिंस्रक सिंहलाई फलामको पिञ्जरामा थुनेर राखेको थियो। उसलाई जब छिमेकीका कुनै कुराहरूबाट चित्त बुझ्दैनथ्यो वा रसि उठ्थ्यो, तब उसको महलबाट सिंह गर्जेको आवाज सुनिथ्यो । सिंहको आकस्मिक र भयावह गर्जनले अरूजस्तै मेरो पनि सातोपुत्लो उठ्थ्यो ।
मलाई अचानक आएको उसको फोन पनि मेरालागि सिंहको गर्जनझैँ थियो । एक रोपनीमा बनेको मेरो घर र जग्गा ५० रोपनीसम्म फैलिएको उसको आलिसान महलका लागि किन र कसरी घाँडो बनिरहेको छ, मैले बुझ्न सकिरहेको थिइनँ । मेरो घरका केही विशेषता थिए । जस्तैः मेरो घर उसको आलिसान महलभन्दा उँचो भूसतहमा रहेको थियो, मैले चर्चेको जमिनमा एउटा प्राचीन प्राकृतिक पानीको धारो थियो, जसबाट अविरल रूपमा शीतल पानी बहिरहन्थ्यो । मेरो घर भूकम्प, आँधीबेहरी, मेघ र असिनावृष्टि र खडेरीबाट क्षत्रि्रस्त बने तापनि कहिल्यै ध्वस्त भने भएन । सदा सुरक्षित रहिरहन सफल भयो । मलाई चिन्ता लाग्न थाल्यो कि कतै त्यो छिमेकीले साँध-सिमानाको कचिङ्गल झिकेर मेरो यो पानीको धारो, अग्लो ठाउँमा ठडिएको घर र यसको प्राचीन इतिहासलाई हडप्न खोजेको त होइन ! मैले आफ्नी बूढीसँग आफ्नो चिन्ता व्यक्त गरेँ । मेरा कुरा सुनेर उनी पनि चिन्तित भइन् । तर, आफूलाई सम्हाल्दै उनले भन्न भूलिनन् कि हाम्रा यत्रा लाठे छोराहरू छन्, तपाईं किन चिन्ता गर्नुहुन्छ ?” मैले आफ्ना छोराहरूसँग छलफल गरेर समस्याको समाधान खोज्ने निर्ण्र्ाा गरेँ ।
मेरा छोराहरू मेरोअगाडि उपस्थित थिए । तिनीहरूको अनुहार हेर्दा लाग्दैनथ्यो कि तिनीहरू कुनै समस्याको पूर्वानुमान गरेर आएका छन् । बरु बाबुले बुढेसकालमा पैतृक सम्पत्तिको भागबन्डा गरिदिन बोलाएको हो कि भन्ने आशामा थिए तिनीहरू । मैले समस्याको पोको खोल्दै भनेँ कि, “पल्लो घरको छिमेकीको नियत खराब छ । ऊ साँध-सिमाना मिचिएको निहुँमा हाम्रो घरजग्गा हडप्न चाहन्छ । जग्गाको नक्सा र लालपुर्जा लिएर आउन भनी उसले मलाई टेलिफोनमा जनाउ दिएको छ ।” मैले पालैपालो सबैका अनुहार नियालेँ ।
“जग्गाको नक्सा र लालपुर्जा लिएर आउनु भन्दैमा आत्तिनुपर्ने के अवस्था छ र बा ! आखिर उनी हाम्रा राम्रा छिमेकी हुन् । हामीलाई गाह्रोसाह्रो परेका बेला काम लाग्छन् ।” छोरो नं १ अथवा जेठो छोरो बोल्यो । छिमेकीप्रति सदासयता देखाउँदै बोल्यो ऊ । ऊ सानो छँदा छिमेकीको छोरोसँग छिमेकीकै आँगनमा साइकल कुदाएको हो उसले । ऊ कहिलेकाहीँ मलाई नै शब्दको झटारो हान्ने गर्छ कि पल्लो घरको अङ्कल नभएको भए सायद ऊ बालककालमै साइकल कुदाउन सक्ने थिएन । उसलाई पछि आफ्नो मोटर दिएर ड्राइभिङ् सिक बेटा भन्ने पनि तिनै छिमेकी हुन् ।
“के गरौँ त छोरा -” मैले उसलाई फेरि सोधेँ ।
“पटक-पटक अङ्कलको गाडी मागिराख्नुपर्छ बुबा !” उसले भन्यो ।
छोरो नं १ बाट हरेस खाएर म छोरो नं २ अर्थात् माहिलो छोरोतिर उन्मुख भएँ । ऊ मलाई नै हेररिहेको थियो । यो छोरोबाट केही समाधान निस्की हाल्छ कि भन्ने आशा पलायो मेरो मनमा ।
“त्यो छिमेकी अङ्कल मान्छे त अप्ठ्यारै हो तर लालपुर्जा नै हडप्लाजस्तो त मलाई लाग्दैन बा ! उनलाई के कमी छ र – त्यत्रो ठूलो बगैँचा छ, बगैँचामा बाहैमास मीठामीठा फलहरू लाग्छन् ।”
मलाई राम्रैसँग थाहा थियो कि ऊ यसो किन भनिरहेको थियो ? ऊ घूसघूसे, मनभित्र एउटा कुरो राख्ने र बाहिर अर्को कुरो देखाउने प्रवृत्तिको थियो । उसको यो बानी सुधार्ने प्रयास नगरेको होइन मैले । छिमेकीसँग लोलोपोतो गरी उसको बगैंचामा नै गएर मीठामीठा फल चाख्ने र गोजीमा समेत भरेर कोठामा ल्याई लुकाउँथ्यो ऊ । घरमा आएपछि मलाई भन्ने गथ्र्यो कि छिमेकी अङ्कलले उसलाई मीठो फल खाएर जा भनेका थिए तर उसले खान्न भनिदियो । उसको कुरा सुनेर मलाई हाँसो उठ्थ्यो । सायद फलको रसको स्वाद बाँकी नै थियो उसको ज्रि्रोमा, त्यसैलै ऊ प्रकट रूपमा छिमेकीविरुद्ध बोल्न हिच्किचाइरहेको थियो ।
यी दुइ छोराहरू जो अन्य छोराहरूभन्दा उमेरले र अनुभवले पनि जेठा र पाका थिए, आफ्ना बा, आमा र आफ्नो पुख्र्यौली घरमाथि छिमेकीले गर्न लागेको हस्तक्षेपका विरुद्ध बोल्न नचाहेकामा मलाई उदेक लागेर आयो । हामी मरेर गएपछि यो घरको के गति होला भन्ने पीरले मलाई पिरोल्न थाल्यो । कतै हाम्रो घरको नियति पनि ऊ त्यही पल्लाघरे सुकबहादुरको झैँ हुने त होइन । सुकबहादुर जसको घर मेरो घरसँगै जोडिएको थियो, नालायक छोराहरूको बदमासीले त्यही छिमेकीको कम्पाउन्डभित्र गाभिन पुग्यो । सुकबहादुर जसले आफ्नो घर र जग्गा छोराहरूको नाममा अंशबन्डा गरिदिएका थिए, ती छोराहरूले त्यो घर र जग्गा छिमेकीको नाममा राजीनामा पास गरिदिएका थिए । आफूहरू भने छिमेकीको कम्पनीका जागिरे बनेका थिए । सुकबहादुरका बूढाबूढी भने केही समयसम्म पागलजस्ता बनी भौतारिएर अलप भएका थिए ।
मैले अझै आशा नमारेर छोरो नं ३, छोरो नं ४, छोरो नं ५ र छोरो नं ६ सँग पनि मनको बह पोखेँ । “जेठा र माहिलालाई कुनै सरोकार छैन भने हामीले मात्र किन टाउको दुखाउनु बा !” छोरा नं ३ ले भन्यो । ऊ सानैदेखिको जिद्धी स्वभावको थियो र खालि जेठो र माहिलोको आरसि गर्ने र कुरा लगाउने गथ्र्यो ऊ । मैले उसको आश मारेँ । मैले छोरा नं ४ तिर दृष्टि फ्याँकेँ, “छिमेकीकी नातिनी मेरी छोरीकी साथी हो बा ! तपाईंकी नातिनी हरदम उसको साथीको घरमा हुन्छे । ऊ त्यहाँ कम्प्युटर खेल्छे, स्विमिङ् गर्छे स्किइङ् गर्छे ब्रेकफास्ट, लञ्च र डिनर पनि प्रायः त्यहीँ गर्छे छिमेकीले पनि उसलाई आफ्नी नातिनीसरह मान्छन् । म कसरी उनका विरुद्ध जान सक्छु बा !” उसले आफ्नो हात मल्दै भन्यो ।
छोरो नं ५ र छोरो नं ६ को जवाफ पनि अन्य छोराहरूको विचारसँग मेल खान्थ्यो ।
“हाम्रो यो सानो परविारलाई यो चौबीसै घन्टा बगिरहने पानीको धारो किन चाहियो र बा ! उनले मागेका छन् भने दिए हुन्छ, खाली आँगनमा पानी जमेर हिलो मात्र भएको छ । अङ्कलले हामीलाई चाहिएको बेला कोकाकोला र पेप्सीकोला खुवाउलान् नि बा ! किन चिन्ता गर्नुहुन्छ -” यी दुइ छोराका कुरा सुनेर भक्कानो छोडेर रुन मन लाग्यो मलाई । हे इश्वर ! यो समयको दोष हो वा मेरी बूढीको गर्भको दोष हो भन्दै मनमनै बिलाप गर्न थालेँ म ।
छोरो नं ७ अथवा कान्छो छोरो अलि पर गमक्क परी बसेको थियो । अरू छोराहरूभन्दा ऊ अलि भिन्न प्रकृतिको थियो । सानैदेखि ऊ व्रि्रोही स्वभावको थियो । स्कुलमा पढ्ने बेलादेखि नै ऊ जीवनको यथास्थितिमा परविर्तन हुनुपर्दछ भन्थ्यो । उसले हामीहरूको पुरानो घर भत्काएर नयाँ ढाँचाको घर बनाउने प्रस्ताव राख्यो । उसको यस प्रस्तावसँग अरू छोराहरूले असहमति जनाएपछि अन्य भाइहरूसँग उसको ठाकठुक पर्यो र ऊ घर छोडेर निस्क्यो । करबि एक दशकपछि सबै भाइहरू मिलेर घरलाई नयाँ रचनामा ढाल्ने सहमति भएपछि ऊ घर फर्केको थियो । मैले आशालु दृष्टिले कान्छो छोरोको अनुहारमा हेरेँ ।
“छोरा अब तँ मात्र एक जना बाँकी छस्, जसप्रति मेरो भरोसा छ । त्यो छिमेकी जसलाई तँ पहिले ठालू भन्थिस्, त्यसले तेरो बालाई नदिने दुःख दियो ।”
“बा तपाईंलाई एउटा गोप्य कुरा थाहा छैन सायद,” उसले भन्यो ।
“के कुरा हो बाबु !” मैले ब्याकुल हुँदै सोधेँ ।
“म जब घरबाट भागेको थिएँ नि, मेरो धेरैजस्तो समय ती छिमेकी अङ्कलको घरमा नै लुकेर बितेको थियो । उनले नै मलाई खुवाइपियाई राखेका थिए ।” उसले रहस्यको पेटारो खोल्दै भन्यो ।
“हँ, के भन्छस् तँ !” निमेषभरमा नै खङ्रङ्ग भएँ म ।
“हो बा उनी अब ठालू रहेनन्, उनी मजस्तो र्सवहाराको अभिभावक हुन् । मैले उनीसँग एक जना अभिभावकसँग गर्ने व्यवहार गर्नुपर्दछ, बा !” यति भन्दै ऊ मुसुक्क मुस्कुरायो । घरसँगसँगै उसले आफूलाई पनि नयाँ ढाँचामा ढालिसकेको थियो ।
छोराहरू छाडा भइसकेछन् । यिनीहरूलाई आफ्ना बा-आमा र आफ्नो घरको कुनै सरोकार रहेनछ । मलाई डाँको छाडी रुन मन लाग्यो । छोराहरूबीच पनि आ-आफ्नो अस्तित्त्वलाई लिएर विवाद सुरु भयो । अचानक कसैले ढोका ढकढक्यायो । मैले सशङ्कित बन्दै ढोका खोलेँ । ढोकामा एउटा मान्छे उभिएको थियो । मलाई ऊ चिनेचिनेझैँ लाग्यो तर ठ्याक्कै ठम्याउन भने सकिनँ ।
“म पल्लो घरको छिमेकीको खास मान्छे हुँ । तपाईंको घरभित्रबाट आइरहेका नानाथरी आवाज सुनेपछि तपाईंहरूको घरभित्रको झगडा मिलाउन मालिकले पठाउनुभएको हो ।” यति भन्दै ऊ ढोकाभित्र प्रवेश गर्यो । उसको हातमा ठूलो र आकर्ष छाता थियो । त्यो छाता छिमेकीको छत र बगैँचामा गाडिएका छाताहरूझैँ थियो । उसलाई देखेर छोराहरूको अनुहारमा आर्श्चर्यमिश्रति खुसी देखियो । तर, म भने उसको उपस्थितिमा खुसी हुन सकिरहेको थिइनँ । बाहिर पानी पररिहेको थिएन तर उसको हातमा छाता देखेर म विस्मित बनेको थिएँ ।
“यो छाता -” मैले उसको अनुहारमा हेर्दै भने ।
“हो, यो छाता हो । सुरक्षा छाता । मालिकले पठाउनुभएको ” उसले छातातर्फ हेर्दै भन्यो ।
“किन – कसलाई पठाएको -” मैले प्रश्न गरेँ । “तपाईंहरूलाई दिनु भनेर पठाउनुभएको हो ।”
“उहाँको भनाइ अनुसार यो छाता जसले ओढ्छ, यस घरको हकदार पनि उही हुन्छ ।”
“कसरी -” म अचानक जोडले चिच्याएँ ।
पल्लो घरको छिमेकीको मान्छे हातमा छाता समातेर उभिएको छ र मेरा छाडा छोराहरू बाबुआमाको इज्जतमा दाग लगाउँदै त्यो छाता ओढ्न छिमेकीको मान्छेवरपिरि चक्कर माररिहेका छन् । छिमेकीको मान्छे खितखिताउँदै हाँसिरहेको छ ।
“…ल …ल …दौड, दौड… अँ… उप …उप …छाताभित्र पर्नैलाग्यौँ …ल …ल …फेरि उप… यसरी कहाँ हुन्छ र …छाताभित्र नै आउनुपर्यो नि…।” मेरा छोराहरू छाता ओढ्न घम्साघम्सी गररिहेका छन् । छाता ओढ्न गएको एक जनालाई अर्कोले समातेर बाहिर हुत्याइरहेको छ । छाता ओढ्ने जिजीविषामा आफ्नो एक छोरोले अर्को छोरोको गर्धन अँठ्याएर पर हुत्याइरहेको लज्जास्पद, भ्रष्ट, बीभत्स र अमानवीय दृश्य हेररिहेका हामी तिनका बाआमाहरू पुर्खादेखि जगेर्ना गर्दै आएको आफ्नो घरजग्गाको सुरक्षित भविष्यप्रति चिन्तित हुँदै भक्कानो छोडी रुन थाल्छौँ ।
छिमेकीको छाता ओढ्न तम्तयार छाडा छोराहरूको विकल्पमा नयाँ सन्तानलाई जन्म दिन फेरि एकपटक हामी बूढाबूढी गर्भाधानका लागि तयार हुनुपर्ने हो कि ? सोच्न बाध्य भएका छौ ।
नेपाल साप्ताहिक
अंक ३००

Katha Deshako Paristhitisanga
Katha Deshako Paristhitisanga Ekdam mel khane khalako chha. Baristha kathakar mahesh Bikram dai prati hardik kritagyata. Hamra netaharulai nai ek patak yo katha padhaunu parla.
बेजोड (छिमेकीको छाता र छाडा छोराहरू)
कथा बेजोड छ । प्रतीकात्मक प्रस्तुतिमा गहन छ ।