प्रिय धेरै भयो मैले
राम्रा-राम्रा पुस्तकहरू पढ्न छोड़ेको
हिजोआज त मैले
डिस्कभरी, जोग्राफिकल च्यानल
हेर्न छोड़ेको पनि धेरै भयो
तिमी मलाई प्रश्न गर्नसक्छौ
त्यसो भए तिमी पागल भयौ?
हुनसक्छ, तिम्रो नजरमा म पागल हुँला
तर मेरो नजरमा, आजको पीढ़ीको अघि
म पागल प्रमाणित हुँदिनँ
किनभने अमेरिकाले मलाई
निर्दोषहरूलाई मार्न सिकाएको छ
विश्वको महान समाजवादको पूर्खा रूसले
सम्झौता गर्न सिकाएको छ
चिली र रूवाण्डाका चेलीहरू
भोकै र पीड़ित भए पनि
बीच सडकमा बलात्कृत र अपमानित भए पनि
जापान फ्रान्सका मुनाफादार कम्पनीहरूले
“ सम्झौता गर शान्तिले बाँच’’
भन्ने पाठ पढाएका छन््
लु भन त प्रियतमा!
यो समयमा म कसरी पुस्तकको अध्ययन गरौं?
प्रत्येक टेलिभिजनका च्यानलमा
सेक्सका कुराहरू, अपराधका विडम्बनाहरू
सासै नबिसाई आउँदा म कसरी मन थामौं?
आदर्श र स्वाभिमानका कुरा गर्छयौ तिमी
तर तिमी आफै भन त?
त्यही बहुराष्ट्रिय कम्पनीका
छोटा लुगा लगाउँदा तिम्रो आदर्श कहाँ लुक्यो?
जिन्स नभए आत्महत्या गर्ने
तिम्री बहिनीको स्वाभिमान कता अल्पियो?
तिमी मलाई इतिहासका पाठ नपढाउ
इतिहास मैले पनि पढेको छु
आखिर हाम्रो शिक्षा नीतिमा
सिनो गन्हाउने इतिहास बाहेक के नै पढाइन्छ र!
कुनै एक समय थियो
जब पुस्तक मेलामा विद्यार्थी कालमा पनि
कसैले दया गरी दिएको पैसाको जोहो गरेर
पुस्तक किन्ने मै हुँ
मैले दिएका पुस्तकका कतिपय हरफहरू
आज पनि तिमीलाई मुखस्थ होलान्
तर इमान्दारितापूर्वक भन त!
ती पुस्तकको आदर्शता तिमीमा छ?
नवजागरणको कुनै एउटा लाइन सुनाउ त?
अब भन, तिमी पागल कि म!
बलिवुडको कुनै चलचित्रमा हिरोइन हुन
कुनै पनि स्तरमा तयार छु
भन्ने तिमी नै हौ
आजको समयसँग पौंठे स्पर्धा लिन
जे पनि गर्नसक्छु
भन्ने तिमी नै हौ
तिम्रै आदर्शतालाई मैले अँगालेको छु
तिम्रै भइदिनको निम्ति मैले आफूलाई
पटक-पटक मारिसकेको छु
भने आज फेरि फर्किने आह्वान किन?
अब म फर्किन सक्दिनँ
किनभने प्रत्येक च्यानलको टीआरपी
बढाउने होडले मलाई खाइसकेको छ
सद्दामको खुलेआम फाँसीले
मलाई अमानवीय बनाइसकेको छ
तिमीसँगै बजारमा हिँडने सुन्दर नयनहरूले
मलाई राम्ररी तानिसकेको छ।
मबाट अब त्यो निश्चल प्रेमको आशा नगर
म कुनै पनि दिन क्रूर बन्दिनँ यस्तो भरोसा नराख
किनभने तिम्रै सिद्धान्तलाई अप्नाउँदै-अप्नाउँदै
म लेडी किलर बनिसकेको छु
म अब विदेशप्रेमी बनिसकेको छु
कुनै विदेशी शक्तिले यस देशमा
राज गरोस् भन्ने आकांक्षी बनिसकेको छु
यसैले मलाई क्षमा गर प्रिये
अब म फिर्न सक्दिनँ
किनभने मेरा नसाले अर्दै थोक माग्दैछन्
आदर्श र स्वाभिमान पुरुषको व्यवहार
मबाट अब पलायन भइसकेका छन्।
