Skip to content

गोबर्द्धनले बुझेको राष्ट्रवाद

  • by

तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्‍यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइन । कोशीको बाँधको डुबान होस् वा मेचीको कटान, बकेया बागमतीको डुबान होस् वा महलीसागरको, शारदा ब्यारेजको पनपक्षे होस् वा ब्रहृमदेवमण्डी अर्थात् टनकपुरको अतिक्रमण, कालापानीको बेदखली होस् वा दशगजाको मिचमाच, छिमेकीको नियतबाट ऊ भलिभााति परिचित थियो । सर्पको सन्तान सर्पै हुन्छ भनेझैा साम्राज्यवादको आत्मज -हुन त यस सन्दर्भमा उसलाई आत्मज शब्द त्यति उपयुक्त लागिरहेको थिएन तथापि तिनको व्यवहारले ऊ नयाँ शब्द खोजिहाल्नुपर्छ भन्ने निश्कर्षमा पनि पुगिहालेको थिएन) ले साम्राज्यवादी, उपनिवेशवादी नीति नै लिन्छ भन्ने उसको धारणा थियो । हुन त उसका कतिपय साथीहरू ‘तेरो धारणा वा सोच पूर्वाग्रही छ’ भन्थे तर पनि ऊ आˆनो अवधारणामा यतिञ्जेलसम्म कायम नै थियो । ‘पछि परन्तु सच्याउनु परेछ भने देखाजाला, सच्याउँला’ भन्थ्यो र उसका साथीहरू चुप लाग्थे । छयालीस सालको नाकाबन्दीको त गोबर्द्धन भुक्तभोगी नै थियो । छयालीस सालमै गाउँका सारालाई उसले ‘अब त छिमेकीको कोखाको दाँत देख्यौ कि ?’ भनी आँखा खोल्ने प्रयास नगरेको होइन तर पनि गाउँलेहरूले चेतेका थिएनन् ।

यी सब पीडाहरू ऊ रिसले भुतभुतिँदै, दाँत किट्दै अनि सरकारको निरीहतामा चुकचुकिँदै पचाउने प्रयास गथ्र्यो । उसले गर्न सक्ने यति थियो किनकि ऊ नागरिक थियो । खुब गरे आलोचना गर्न सक्थ्यो र आत्मसन्तोष प्राप्त गर्न सक्थ्यो । ऊ त्यति पनि गरिरहेको थिएन भन्ने बोध चाहिँ उसलाई नभएको होइन । यसो हुनुको एउटा कारण चाहिँ ऊ आफैँ पनि के ठान्थ्यो भने लामो समयदेखि ऊ सत्ताधारी वर्गको विश्वासिलो पात्र बनेको थियो र त्यो पात्रता अद्यापि कायम थियो । तथापि ऊ यस मानेमा तिनको काम गराईबाट सन्तुष्ट भने थिएन, राष्ट्रियतासम्बन्धी तिनको नीतिको पुस्टि गर्न ऊ आफूलाई कसै गरी पनि समर्थ पाउादैनथ्यो । उसका अन्नदाताहरू पनि राष्ट्रवादको नारा त दिन्थे तर आफू साखुल्ले हुनका लागि मात्र । कालापानी त्यसैगरी बक्सेका रहेछन् भन्ने कुरा आमनेपालीलाई छयालीस सालको राजनीतिक परिवर्तनपछि मात्र थाहा हुनु एउटा बिडम्बना नै थियो । राजनीतिको यो पाठशालाबाट ऊ वाक्कदिक्क भइसकेको थियो तर झोलीतुम्बा बिसाउने ठाउँ सायद भेटिरहेको थिएन वा भेटे पनि बिसाइहाल्न मन लागेको थिएन । आˆनो पुरानो थलो हो, को स्थितिमा ऊ अद्यापि रहिरहेकै थियो ।

यी युवाहरू त नारा घन्काउँदै विरोध जनाउन सडकमा उत्रिएका थिए । त्यसैले तीप्रति ऊ लि सकारात्मक भयो । ‘यति भए नि गरिरहेछन् यी’ स्वगत भन्यो ।

एउटाले भट्यायो : भारतीय विस्तारवाद ।

समूहले स्वर दिए : मुर्दावाद ।

नेताले उराल्योः सीमा मिच्न पाइँदैन ।

हूलले साथ दियोः हामीलाई हेप्न पाइँदैन ।

अगुवा आक्रोशित भयोः पुलिस दमन ।

अखिल युवाले हुँकार भरेः मुर्दावाद ।

यसरी राष्ट्रियताका पक्षमा विभिन्न नाराहरू व्योममा घन्कन थाल्यो । बुझ्दै जाँदा उसले थाहा पायो- जोशिला ती युवा विद्यार्थीहरू सीमा अतिक्रमणको विरोध गर्दै विरोधपत्र दिन दूतावास गएका रहेछन् तर सुरक्षार्थ तैनाथ गरिएका सुरक्षाकर्मीले लाठीचार्ज गरेछन् । त्यतिले पनि जुलुस तितरबितर हुन नसकेपछि अश्रुग्याँस प्रहार गरेछन् र दूतावास वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेछन् र आक्रोशित विद्यार्थीहरूको हूल सहरभरि कोणसभा गर्दै हिँडेछन् । कुन पक्षका विद्यार्थी हुन् यी भनी उसले सोधखोज पनि गर्‍यो । यस मामिलामा प्रायशः अखिलेहरू नै अगाडि रहन्थे, कहिलेकाहीँ चाहिँ मण्डलेहरू पनि अघि सर्थे तर प्रायोजित भएर । अहिले चाहिँ सबै पक्षकाहरू संयुक्त भएर लागेका रहेछन् । त्यसैले पनि मामिला गम्भीर हुनुपर्दछ भन्ठान्यो उसले ।

जुलुसका युवाहरू पुतला जलाउन थालेथे, त्यसैबेला साइकलमा तरकारी बेचेर र्फकादै गरेको भैयाउपर तिनीहरूको दृष्टि परेछ क्यारे, एकजना त करायो, ‘ए समात्-समात् त्यो धोतीलाई ।’ गोबर्द्धन पर्‍यो धर्मसङ्कटमा, ‘बचाउन जाउँ आफूलाई खतरा, नबचाउँ त्यल्लाई धूलो पार्ने भए अर्थात् एकजना मधेसीभाइ, स्वदेशी हो वा विदेशी, चुटिने भयो । सीमा अतिक्रमणमा वा अन्य जे कारणले यो भइरहेको छ त्यसमा यस बिचराको के दोष ? ‘देख्दादेख्दै उसलाई हूलबाट कुद्दै गएका केही मान्छेहरूले घेरेर झाँगलझुँगल पार्न थाले । ऊ पनि बीच बचाऊ गर्न भनी कुद्दै त्यतै गयो । हेर्छ त डाँडाटोलबाला सुरेन्दर महतो ।

“सुरेन्दर तिमी कहाँबाट आयौ यो हूलचालमा ?” सोद्धै भीडलाई अनुरोध गर्दै भन्यो, “सीमा अतिक्रमणमा यसको कुनै दोष छैन । यो मेरो छिमेकी गाउँको कोइरी हो, यहाँ तरकारीको बेपार गर्छ ।”

ऊतिर मुखापेक्षी हुँदै भीडका युवाहरूले सोध, “तिमी को हौ ?”

उसले तुरुन्तै भन्यो, “भाइहरू, म त विश्वविद्यालयमा इतिहासको प्रोफेसर हुँ, प्रा.डा. गोबर्द्धनप्रसाद ।”

युवाहरू अलि हच्के ।

यै मौका छोपेर उसले सुन्दरेलाई अह्रायो, “तिमी पनि नारा लगाऊ ः भारतीय विस्तारवाद मुर्दावाद ।”

उसले नारा लगायोः भारतीय विस्तारवाद मुर्दावाद ।

जम्मा भएका भीडले परर ताली बजायो ।

यसरी ऊ भीडको कारबाहीबाट जोगियो । यदुवंशी गोबर्द्धन कृष्णकन्हैयाझैँ कालो नभएर गोरो थियो, निख्खर गोरो । नेपाली फरर्र बाल्थ्यो । बाहुन, क्षेत्रीकोभन्दा पनि ठेट र शुद्ध त्यसैले ऊ मध्यदेसी भएर पनि मधेसीजस्तो देखिँदैनथ्यो । त्यसैले यस्तो राष्ट्रवादी आन्दोलनको बेलामा पनि उसले असुरक्षा महसुस गर्नु पर्दैनथ्यो, नत्र त यस्तो आन्दोलन आन्दोलनकारीहरूमा व्याप्त मधेसीलाई भारतीय ठान्ने गलत र पूवाग्रही चेतनाका कारण भारत विरोधी मात्र नभएर प्रायशः मधिसे विरोधी पनि हुन्थ्यो र धेरै पटक मधिसेहरू अराष्ट्रियको बात लागेर यस्तो आन्दोलनका शिकार भएका थिए । एकपटक त उसकै गाउँको बाहुनबाजे रामजी घिमिरे पनि सायद कालो वर्णको भएकोले होला, त्यस्तै शिकार बनेको थियो तर ऊ आजसम्म कहिल्यै त्यस्तो कारबाहीमा परेको छैन, बरू कतिपय बेला उसले त्यसरी कारबाहीमा परेकालाई बाचाएको थियो ।

जुलुसका युवकहरू पुतला जलाउन थालेथे, त्यही मौका छोपेर गोबर्द्धन यादवले उसलाई पनि तान्दै भीडबाट बाहिर ल्यायो । अनि भीडबाट जागिादै छेउलाग्दै ती दुवै पुगे टिमकियावाला हलधरको भोजनालय कम चायदोकानमा । त्यहाा सुरेन्द्र महतोजस्ता दुईजना मधिसेहरू पहिले नै पुगिसकेका रहेछन् । गम्भीर मुद्रामा चियापान गरिरहेका थिए । उसलाई देखेपछि तिनीहरूको अनुहारको कसक केही खुकुलिएझैँ मान्यो उसले । भित्र पस्न नपाउँदै सुरेन्द्र महतो आजको आˆनो रामकहानी सुनाउन थालिगो …. ।

यस्तो विषम परिस्थितिमा उसका चिनजान र सम्पर्कका सब आरोपित अराष्ट्रियहरू हलधरको चियादोकानमा अनिवार्यरूपले उपस्थिति जनाउँदथे । उनीहरूमध्ये कतिपय त चिया, नास्ता मात्र हैन, भोजन पनि त्यहीँ महिनावारी खान्थे भने कतिपय आक्कलझुक्कल वा भइपरी आउँदा । यसैले यस्तोमा हलधरलाई पनि एक किसिमले फाइदै हुन्थ्यो । उनीहरूलाई पनि फाइदा थियो, सहरभरिको खबरबाट सुसूचित त हुन्थे नै त्यस्तै पर्दा साझा प्रतिरक्षात्मक उपायको खोजी गर्न नि सजिलो पथ्र्यो । गोबर्द्धनले त सिक्किम बिलयको आक्रोश पनि भोगेको थियो र धरमेन्दर र हृत्विकको काण्ड पनि । तिनताक ऊ विद्यार्थी थियो भने अचेल शिक्षक, प्रोफेसरी गथ्र्यो कलेजमा । इतिहासको प्राध्यापक, प्रा.डा. गोबर्द्धनप्रसाद यादव ।

छेउमा थियो नवराजपुरबाला नगिन्दरको सैलून र औरहीबाल बण्ठा बढईको पानपसल । नगिन्दर नाऊ, बण्ठा बढई, हलधर हलुवाई सबलाई उसैले यहाा बसाएको थियो । यस्तै गाह्रोसाँगुरो पर्दा आˆनो समाज चाहिन्छ भनेर ।

यत्तिकैमा जय नेपालको अभिवादन गर्दै दिगम्बर मिश्रा पनि आइपुग्यो । एउटा कुर्सी तान्दै बस्दाबस्दै सोध्यो, “हा, प्रोफेसर साहेब, अहिले फेरि केको हङ्गामा सुरु भएछ ?”

“मुद्दा पुरानै दोहोरिएको हो, उही दसगजाका कुरो तर सुनिन्छ यसपालि अति नै गरेछन् अरे, त्यसैले मानिसहरू निकै आक्रोशित भएका छन् ।” प्रा.डा. गोबर्द्धनप्रसाद यादव गम्भीर थियो ।

“भन्छन् कि कुनदुनी बम्बईया हिरोले हाम्रो देशलाई उनीहरूको देशको एउटा प्रान्त भनेको छ रे, हाम्रो प्रधानमन्त्रीलाई मुख्यमन्त्री भनेको छ रे ।” चियापान गरिरहेका मध्येकोले भन्यो- “त्यसैले प्रधानमन्त्रीजीको पनि विरोध भइरहेको छ ।”

त्रिपाठी परैबाट कराउँदै आयो- “क्या खबर है प्रोफेसरजी ? मामला पेचिदा लग रहा है । मुखर्जीजी से बात करना जरुरी हो गया है ।”

“मुखर्जीजीले के भन्लान् र ? हामीले सीमा मिचेका हौँ भन्दैनन् क्यारे । उही टालटुले कुरो न हो….. हाम्रो मित्रता शताब्दीयौँ पुरानो हो । सानातिना कुरामा मनमुटाउ बढाएर हाम्रो मित्रता धमिल्याउनु हुँदैन…. आदि इत्यादि ।” प्राध्यापक यादवले भने- “सवाल त सानो माछालाई ठूलो माछाले खाइरहनुपर्दछ कि पर्दै भन्ने न हो । अचेल अधिकारविहीनहरूका पक्षमा मानिसहरू न्यायपूर्ण आवाज विश्वभरि उठाइरहेका छन्, अधिकारविहीनहरूले अधिकार पाउनुपर्छ भनी आवाज उठाइरहेका छन् । अधिकार दिलाउनका लागि अनेक प्रयासहरू गरिरहेका छन् तर हाम्रा हकमा भने सधैा उही मुद्दा दोहोरिरहेको छ । आजादीभन्दा पहिले बेलायतले हामीमाथि आक्रमण गथ्र्यो त आजादीपछि यिनीहरू अनेक किसिमले हामीलाई दुःख दिइरहेको छन् । यो त भाइचारा होइन नि, कि यसैलाई भाइचारा भन्नुहुन्छ ?”

“भाइ त्यसमा लुकाउने छिपाउने कुरो के छ ? यसमा शोरगुल हल्लाहङ्गामा गर्नुपर्ने के छ ? हाम्रो रहनसहन, सभ्याता, संस्कृति समान छ । उनीहरू ठूला छन् ठूल्दाइ भए, हामी साना छौँ, सानो भाइ भयौँ । त सानो भाइले ठूलो दाइसाग त मिलेरै बस्नुपर्छ नि ।” दिगम्बर मिश्रले गुनासो गरेझैँको मुद्रामा भन्यो, “सगरमाथाको मुद्दामा तपाईं कहाँ कहिल्यै केही बोल्नु हुन्छ ? उत्तरी सीमामा पनि त खटपट छ होला नि । जहिले पनि दशगजाको दूम समातेर बोल्नुहुन्छ ।”

“ए त म कहाँ भनिरहेछु उत्तरी सीमामा राम्रो भइरहेछ । चाइना त न मेरो आमापटिको न बाबुपटिको, बरू इन्डियैमा हाम्रो सगीसम्बन्धीहरू छन् तर त्यसो भनेर उसले जति हेपे पनि हामीले सधैँ सहिरहनुपर्छ भन्ने त होइन नि । हेर्नुस् त सब भुटानीहरूलाई हाम्रोमा हुलिदिएछ ।” गोबर्द्धन फेरि पड्क्यो ।

“केको घम्साघम्सी चलिरहेछ तपाईं कमरेडहरूको ?” हातमा मोबाइल खेलाउादै अन्सारीजी पनि आएथे र भन्दैथिए, “कुनै छिमेकीसाग राम्रो गरेन यसले । बङ्गलादेशसाग पनि राम्रो छैन, पाकिस्तानसाग त जन्मजात दुश्मनी भइगो । श्रीलङ्कासाग पनि राम्रो छैन, भुटान त उसको बगलीकै भइहाल्यो । हामीलाई समेत सधैँ किचकिचकिचकिच गरिरहन्छ । भन्नलाई लोकतान्त्रिक मुलुक छ तर व्यवहार छ प्रभुत्ववादी, उपनिवेशिक, विस्तारवादी….।” भन्दाभन्दै मुखभरिको खैनीको थुक पिच्च थुक्यो र फेरि भन्न थाल्यो, “यल्लाई त चाइनाले मात्रै तह लाउन सक्ने र छ । पैासठमा त बहादुरी के साथ पिछे हटरहेँ हैँ भन्ने पारिदिएकै हो नि ।”

“अन्सारीजी, आप काहेको इन्डियाके पिछे हात धोके पडे हैँ ? आपको वैसेही आई.एस.आई. का एजेन्ट ना बोलेहैँ एटेचीसाहेब ।” त्रिपाठीले आपत्ति जनाउादै भन्यो ।

“त्रिपाठीजी, तपाईं त मिथिलाक्षेत्रको मान्छे तर तपाईंको प्राथमिकतामा मैथिली नपरेर जहिले पनि हिन्दी किन परिरहेको छ ? पटक्कै बुझ्न सकिएन । मैथिली बोल्नूँस, भोजपुरी बोल्नुस्, अवधी बोल्नुस्, तब न मधेसीको भाषा अगाडि बढ्छ । हाम्रोतिर त दारु लागेपछि मात्र नेताहरू हिन्दी झार्छन् ।” दिगम्बर मिश्रले जिस्क्याएझैा गर्‍यो ।

“एकदम सही कुरो र त्यो पनि ऐनमौकामा गर्नुभयो मिश्रा कमरेडले, तपाईंलाई धेरैधेरै धन्यवाद । त जहाासम्म एजेन्टको आरोप छ । त्यो त भन्ने नै भयो, कमरेड । एक त परेँ मुसलमान, त्यसमा पनि उसको विरोधी । आˆनो विरोधीजति सबैलाई आई.एस.आई. र चाइनिज खुफिया गुनानबु देख्नु त उसको धर्मै भो ।” अन्सारी भन्दै थियो- “हेर्नोस् न, हामीलाई नै कति दुःख दिइराख्छ, कहिले सीमा मिच्या छ त कहिले सीमामा अग्लो बाँध बाँधिदिएर हाम्रो भू-भाग जलमग्न पारिदियाछ । कालापानी लेको लियै भैगो, टनकपुरमा पनि देखिहाल्नुभो । त आˆनो राष्ट्रिय स्वार्थका लागि बोल्नु आई.एस.आई.को एजेन्ट बन्नु हो ? भन्नुस् त मिश्राजी ?”

“केको टनकपुर-टनकपुर गर्नुहुन्छ ? महाकाली चाहिँ बिर्सिनुभयो कि क्या हो ?” गोबर्द्धनले थपथाप पार्‍यो ।

“त्यसो त कालापानी पनि छ नि ।” अन्सारीले पनि फेरि थप्यो- “कौनो कौनो से कम नै वा । का कहिँ, किनका कहिँ ।”

त्यसैबेला कतैबाट आइरहेको होहल्लातिर उनीहरूको ध्यान आकृष्ट भयो ।

“हलधर भाइ, हेर त केको हल्ला हो ?” गोबर्द्धनले अह्रायो ।

हलधरले होटेलमा काम गर्ने धादिङे केटोलाई अह्रायो । धादिङे केटो कुद्दै सडकमा निस्क्यो । उसले देख्योः जुलुस त्यतै आउँदै रहेछ । जुलुस होटेल अगाडिबाटै गयो ।

उनीहरूले भित्रैबाट त्यसको अवलोकन गरे ।

“जुलुस त त्यस्तो ठूलो होइन ।” मिश्राले प्रतिक्रिया जनाउँदै भन्यो ।

“त्यसो नभन्नुस् मिश्राजी, जुलुस सहरभरि छरिएको छ र सङ्जुक्त कार्यक्रम छ । यसपटक मानिसहरू निकै आक्रोशित छन् ।” प्राध्यापक यादवले स्पष्टीकरणको शैलीमा जानकारी गरायो- “होस पुर्‍याउन सकेन भने मधेसी विरोधी अभियान बन्न बेर छैन ।”

“वैसा होगा तो हम भी मधेसमे पहडिँया धुलाइ अभियान चलादेगा ।” प्रतिवादमा त्रिपाठी बोल्यो ।

“हैन त्रिपाठीजी, कुरो पहाडिया-मधेसियाको हैन, कुरो त राष्ट्रियताको हो । राष्ट्रियताको समस्यालाई पहाडिया-मधेसियाको द्वन्द्वमा अल्झाउनु, साम्प्रदायिक रूप दिनु भनेको विस्तारवादी नियतलाई टेवा दिनु हो । यस कुरामा हामी एकदम सतर्क हुनुपर्दछ । त्यसैले आन्दोलनमा उत्रेकाहरूको भावनालाई कसैले बहकाउन भड्काउन नपावोस् भन्नका लागि हामीले पनि हाम्रो सीमा अतिक्रमणको विरोधमा एकबद्धता जनाउनु पर्छ । मुखर्जीजीहरूको चालमा फस्यौँ भने हामी आफैँ नै कमजोर बन्ने हौँ । हामी मधेसीहरूले पनि यस्तो कुरामा पहल गर्नै पर्दछ ।” प्रा.डा. गोबर्द्धनले गम्भीर हुँदै भन्यो ।

अन्सारीले उसको कुरोमा सहमति जनायो भने दिगम्बर र त्रिपाठी दुवैले मुख खुम्च्याए । अरूहरू उनीहरूको कुरोकानी खुब ध्यानदिएर सुनिरहेका थिए ।

देख्दादेख्दै राष्ट्रवादी आन्दोलनले गति लियो । पहिलेपहिलेको आन्दोलनभन्दा यस आन्दोलनको स्वरूप फरक देखिरहेको थियो गोबर्द्धन । पहिले एकथरि सत्तामा टिकिरहनका लागि राष्ट्रवादको नारा दिन्थे भने अर्काथरि जनतामा आˆनो प्रभाव विस्तार गर्नका लागि विस्तारवादको विरोध गर्थे र राष्ट्रवादको स्वर घन्काउाथे । दक्षिणसाग सम्बन्ध बिगि्रयो भने उत्तरसाग कुम जोर्ने र उत्तरसाग सम्बन्ध बिग्रयो भने दक्षिणसाग कुम जोर्ने पुरानै सरकारी दस्तुर थियो ।

यसपालि कुरो बेग्लै थियो । सरकार त मिलिजुली थियो यसपालि । त्यसैले सरकारमा रहेकाहरू सबै दोषजति अरूको थाप्लोमा थोपरिरहेका थिए । गोबर्द्धनले पनि एउटा परिचर्चा कार्यक्रममा भाग लियो र त्यसमार्फत् उसले राष्ट्रवाद भनेको मधेसीविरुद्धको आन्दोलन होइन, मधेसीहरूले पनि राष्ट्रवादको पक्षमा आवाज चर्को पार्नुपर्छ भन्ने मन्तव्य राख्यो । उसले के कुरामा पनि जोड दियो भने अहिलेसम्मका सरकारले राष्ट्रवादलाई सत्तामा पुग्ने । त्यहाँ टिकिरहने नारा मात्र बनाएको तर राष्ट्रलाई बलिाये पार्ने, सके जति कुरामा स्वाबलम्बी बनाउने, राष्ट्रवादी भावना फैलाउने र त्यसलाई बलियो पार्ने नीतिगत काम कुरा कहिल्यै नगरेकोले नै हाम्रो राष्ट्रवाद कमजोर देखिएको हो । उसको विचारलाई कतिपय साथीहरूले सह्राए पनि, कतिपयनले खिसीट्युरी र टीकाटिप्पणी मात्र गरे । बडो आदर्शवादी बन्छ भनेर उडाउन खोजे ।

तर आन्दोलनले गति लिन थाल्यो ।

आन्दोलनकारी चरणबद्ध विरोधमा उत्रे । पहिलो चरणमा उनीहरूले सञ्चार र मनोरञ्जनका साधनहरूमा धावा बोले । सीमा मिच्नेको देशमा उत्पादित पत्रपत्रिका र पुस्तकहरू, टेलिभिजनका सम्पूर्ण च्यानलहरू तथा सम्पूर्ण चलचित्रहरू बहिष्कारको अभियान चल्यो । रेडियो, टेलिभिजन, क्यासेट, सि.डी. लगायत सबै श्रब्यदृश्य माध्यममा हिन्दी गीत, गज, फिल्म, टेलिशृङ्खला सब बन्द भयो । बिहे उत्सवमा पनि हिन्दी गीत, गजल बन्द भए । प्रतिक्रियास्वरुप उतातिर पनि मनिषा, डेनी आदिले खेलेको फिल्महरू बहिष्कार भयो । यताका हलहरूमा नेपाली चलचित्र चलाइयो, कतिपयले हल बन्द नै गरे । समस्या तुरुन्तै धार्मिक प्रतिष्ठानहरूमा देखापर्‍यो किनकि भगवान्का भजनहरू, स्तुतिगानहरू सबै हिन्दीमा रहेछन् । ठूल्ठूला पण्डित पुरोहितका धार्मिक प्रवचनका पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरिए । धर्मभिरु भाग्यवादी नेपालीहरूको ग्रहदशा र भाग्यविधान हेर्न पल्केका नामीगिरामी हिन्दूस्तानी ज्योतिषीहरूको होटलको अगि्रम बुकिङ रद्द भयो ।

दोस्रो चरणको आन्दोलनका क्रममा आन्दोलनकारीहरूले त्यताका प्राविधिकहरूका सेवा बहिस्कार गर्ने निर्णय गरे । गल्लीगल्लीमा साइकलमा डुलाइडुलाइ बेच्ने तरकारी सेवा बन्द भएकै थियो । सहरका सैलूनहरू बन्द भए, खाली बोतल, पुराना कागज, फलामसलाम कवाडी सामानहरूको सङ्कलन बन्द भयो । डकर्मी, सिकर्मी, मेकानिक, प्लम्बर, इलेक्टि्रसियन, स्टोभ र ग्याँस चुल्हो मर्मत आदि सेवा बन्द भयो । व्यापार बजार बन्द भयो । सीमाक्षेत्रका स्कुलहरू बन्द भए । सीमा क्षेत्रमा तनाव उत्पन्न भयो । दुवै देशका सैनिकहरू आ-आˆना ठाउँमा तैनाथ गरिए । उता गएर कान्छा र बहादुर बनाइएका नेपाली श्रमजीवीहरूले पनि डरत्रासमा दिन काट्नुपर्ने हुन थाल्यो । सीमामा आवत-जावत बन्द भयो ।

दुवैथरि सञ्चार युद्धमा उत्रे, रेडियो, टेलिभिजन र अखबारहरूमा राष्ट्रियताबारे बहस तथा चर्चा-परिचर्चा हुन थाल्यो । उताका अखबारहरूमा पनि नेपाल र नेपालीलाई होच्याउने तथा हिन्दूस्तानीहरू चाहिँ महान् भएका कुराहरू प्रचारमा ल्याइयो । विभिन्न समयमा सत्तामा रहेकाहरूले विभिन्न किसिमले उताकाबाट शुभलाभ गरेर विभिन्न राष्ट्रघाती सन्धि-सम्झौताहरू गरेका तथ्यहरू पनि क्रमशः छापाहरूमा आउन थाले । उताका बैङ्कहरूमा यताका विभिन्न नेताहरूको गहकिलो निक्षेप रहेको, उताका कम्प्नीहरूसाग मिलेर यताका नेताहरूले विभिन्न व्यापार-व्यवसाय सञ्चालन गरेको कुराहरू दृष्टान्तसहित पत्रिकाहरूमा छापिन थाल्यो ।

गोबर्द्धनको मनमस्तिष्कमा एउटा सवाल सलबलायो- के राष्ट्रवाद भनेको उता र यताको लडाइँ मात्र हो ? आज घरैपिच्छे मान्छेहरू अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत विभिन्न मुलुकहरूमा ग्रीनकार्ड, पि.आर. वा त्यस्तै कुरो पाउन हत्ते हालेर लागिरहेका छन् । बर्सेनि डि.भि. भर्नेहरूको अत्यासलाग्दो लाम लाग्छ । सरकारका उच्च ओहोदामा रहेकाहरूलगायत राजनीतिक प्राणीहरूसमेत त्यही धन्धामा लागेका छन् भनेपछि यो देश कसको हो र को हुन् यस देशका आˆना मान्छे ? यस देशले को उपर गर्व गर्नुपर्ने हो र कसले यस देशका उपर गर्व गर्ने हुन् ? देशका बारेमा सोच्ने कसले र कसले यस देशका बारेमा चिन्ता र चासो लिइरहेको छ ? राष्ट्रवादको आधारशिला के हो ? जस्ता कुराहरू उसको मनमस्तिष्कमा सलबलाउन थाले ।

त्यो जोशी भन्ने मन्त्रीले त अमेरिकामा पेट्रोल पम्प चलाएको छ अरे ।

स्वीजरलैन्डको एउटा बैङ्कखातामा स्वर्गीय रानीको बीस खरब रुपियाा छ अरे ।

गरिब देशको धनी राजा रे त ।

यस्ता थुप्रै कुराहरू पत्रिकामा छापिएका हुन्थे ।

‘प्रधानमन्त्रीको त आˆनो ज्यानबाहेक सबैथोक विदेशमै छ अरे । छोरी युरोपमा, बहिनी पाकिस्तानमा, छोरा अमेरिमा, साली क्यानाडामा । अनि यस्ता प्रधानमन्त्रीले देशको बारेमा के सोच्ने ? पाएसम्म र भ्याएसम्म धुतधात, लुटलाट पारेर उतै लाने त भए । हामीलाई चाहिँ राष्ट्रवादको खोक्रो नारा सुनाइरहन्छन् ।’ भन्ने असन्टुष्टहरू “यस्तालाई त हामी काँधमा बोकेर हिँड्या छौँ । अनि कस्तो होस् हाम्रो हविगत ?”

यस्ता कतिपय कुराहरू उसले पनि सुनेको थियो, व्यवहारमा पनि देखिँदै थियो । त्यसैले ऊ चिन्तित थियो । कसरी सफल हुन्छ राष्ट्रवादको आन्दोलन ? महात्मा गान्धीले त्यसै चलाएका थिएनन् चर्खा आन्दोलन । हाम्रा कुनै पार्टीका नेताहरूले पनि राष्ट्रलाई स्वावलम्बी बनाउन, राष्ट्रिय स्वाभिमान बढाउन कहिल्यै केही गरेका छैनन् अनि कसरी सफल हुन्छ राष्ट्रवादी आन्दोलन ? विश्वग्रामको नारा उराल्दै राष्ट्रिय योजना र चिन्तनधारी विदेशबाट आयात गर्न थालेपछि कसरी बलियो हुन्छ राष्ट्र र राष्ट्रिय भावना ? यहाँ त सरकारसमेत अरूकै ईशारामा बन्ने र ढल्ने गर्छ । मुलुकमा सरकार फेर्नका लागि विदेशी शक्तिहरू कम्मर कसेर लागेका हुन्छन् र हाम्रा नेताहरू पनि तिनीहरूकै हुइँय्याँमा लागेर लैबरी गर्दै नाचेका हुन्छन् । सत्तामा हुने पनि तिनकै ईशारामा, प्रतिपक्षमा रहने पनि तिनकै आँखा सन्काईमा अरू त अरू सुन्दछु । विद्रोहीहरू पनि तिनकै आडभरोसमा अनि के होस् हाम्रो हविगत ? त्यसैले हाम्रो विरोध निरपेक्ष होइन सापेक्ष हुनुपर्दछ र हाम्रो निशाना हाम्रै अराष्ट्रिय नेताहरूप्रति पनि लक्षित हुनुपर्दछ । यो बोधका साथ प्रा.डा. गोबर्द्धनप्रसाद यादवले केही राहत बोध गरेझैँ मान्यो ।

लगभग दुई सातापछि आन्दोलन थामियो । दुवै देशका सरकारले संयुक्त विज्ञप्ति प्रकाशित गरे । परस्पर सम्मान र सद्भाव विकास गर्ने पुस्तौँदेखि चलिआएको भाइचारा सम्बन्धलाई सुदृढ पार्ने वचनबद्धता विज्ञप्तिमा समावेश गरिएको थियो । अब सब कुरो पूर्ववत् हुन थाल्यो । मठमन्दिरमा हिन्दी भजन गाइन थालियो । रेडियो, टिभीमा हिन्दी गीत, चलचित्र र शृङ्खलाहरू पहिलेझैँ प्रसारित हुनथाले । चलचित्र भवनका मालिकहरूले सन्तोषको सास फेरे । पत्रिकाहरूमा छिमेकी देशका ज्योषित, पण्डा र स्वामीजी महाराजहरूको आगमको सूचना विज्ञापनहरूको ताछाडमछाड चल्यो । प्रा.डा.गोबर्द्धनले पुरानो क्यासेट चक्का झिक्यो, क्यासेटमा हाल्यो र धेरै दिनदेखिको राष्ट्रि गीत सुन्ने आˆनो तलतल मेट्ने प्रयासमा लाग्यो । चक्का बज्न थाल्यो, त्यसमा त लता मंगेशकरको स्वरको पुरानो गीत पो भरेको रहेछ ।

‘ए मेरे वतन के लोगोँ जरा आँख मे भर लो पानी
जो सहिद हुए हैँ उनकी जरा याद करो कुर्बानी…..।’

मुलुक फेरि पहिलेकै जस्तो गरी त्यही लिकमा चल्न थाल्यो ।

“के रहेछ त हाम्रो राष्ट्रवाद ?” गोबर्द्धन घोरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *