बेरोजगार रामेश्वरले
भर्खर थुकेको
दादाखैनीको छाप छैन मेटिएका ।
पहिरो पीडित दिलकुमारी सोताङ्गले
चिरा पारेका हरिया काँक्राका बियाँहरू
झर्न पाएका छैनन्-भुइँमा ।
हामीहरू
भर्खर टुक्रिएको तरबूजको
राता टुक्राजस्ता
राता झन्डाहरू हल्लाउँदै
फेरि आइपुग्यौँ
उही रत्नपार्क ।
कुनै महँगो बियरको कम्पनीले
प्रायोजन गरिदिएका
सस्ता
घोषणा-पत्रहरू
मोटो सिसा भएको चस्मा लगाउने
पुरानो नेताका
अपारदर्शी भाषणहरू ।
शान्तिको माग गर्दै
अशान्तिपूर्ण रुपले जम्मा गरिएका
सत्ताविराधी
दुई लाख अठहत्तर हजार सात सय पन्चानब्बे
हस्ताक्षरहरू
एकफन्को मारेर
फेरि हामीले नै शासन गर्ने
यी जीर्ण सडकहरू
एक इँट्टा हानेर
फेरि हामीले नै चिहाउने
ती सिंहदरबारका सिसाहरू
भर्खर मशाल जुलुस गरेर
हामीले नै फेरि कफ्र्यु लगाउने
ती अँध्यारा गल्लीहरू
आइपुगेका छौँ हामीहरू
उही रत्नपार्क
हल्लाउँदै राता झन्डाहरू फेरि ।
