साकेला किरात समुदायको एक महान् सांस्कृतिक पर्व हो । प्रकृति र ऋतुसँग सम्बन्धित यो पर्व हावापानी तथा ऋतु परिवर्तनको सूचक पनि हो । किरातहरू विभिन्न भाषिक समूहमा विभाजित भएको कारण साकेला पर्वलाई फरक फरक नामले चिनिन्छ । किराँत चाम्लिङ भाषामा साकेला भनिन्छ भने साकेवा किरात बान्तवाले भन्दछ । यस्तै अन्य किरात भाषीहरूले अन्य नामले यो पर्वलाई मनाउँछन् ।
साकेला पर्वलाई उभौली-उधौली पर्व पनि भनिन्छ । ऋतु परिवर्तनसँगै जीवजन्तु तथा मानिसको बसाइ सराइ हुन्छ अथवा वासस्थान परिवर्तन गर्छ । यस अर्थमा यस समयको साकेलाले गर्मीको याम आएको कारण हिमाल वा उभो जाडो ठाउँतिर बास परिवर्तन गर्ने बुझन्िछ । मङ्सिर महिनामा मनाइने सकेलाले उधौली अथवा गर्मी स्थानतिरको बसाइ सराइ जनाउँछ । यसरी यी दुई कुरालाई नियाल्दा यथार्थ देखिन्छ । हिमाली भेगका मानिस जाडोमा तराई झर्छ । त्यस्तै अन्य जिल्लाहरूका मानिस पनि यस्तो बेला यसै गर्छन् ।
यसैगरी नयाँ अन्नबाली लगाउने समयको जनाउ घण्टी हो साकेलाभन्दा अनुपयुक्त हुनेछैन । लगाइने अन्न बालीको प्रशस्त उब्जनी होस् र आगामी वर्षमा अनिकाल र भोकमरी नलागोस् भनी भगवान् र पितृसँग गरिने प्रार्थना पूजा हो साकेला । राम्रो उब्जनी हुनलाई अनावृष्टि वा अतिवृष्टि बाधक पक्ष हो । यस्तो बाधाहरू नहोस् भनी र सबै प्राकृत कुराहरू सही भएपछि बाली पाकेपछि भित्र्याउँदा पुनः प्रकृतिलाई धन्यवाद स्वरूप गरिने प्रकृति पूजा हो साकेला ।
अझ साकेला भन्नासाथ सामूहिक तथा गीत सङ्गीत र नृत्यको पर्व हो भनेर किरात समुदायको मानिसको दिमागमा आइहाल्छ । अर्थात् किरात समुदायसँग नजिक र घुलमिल भएका जो कोहीले त्यही बुझ्छ । नृत्यमा विभिन्न जनावर, किराफट्याङ्ग्रा र चराचुरूङ्गीको अभिनय गरिन्छ भने किरात मानव नृत्यको अभिनय शैलीमा कृषि प्रशिक्षणको झलक पनि पाइन्छ । बाली लगाउने, गोडमेल गर्ने, पाकेपछि भित्र्याउने आदिसम्मको नृत्य अभिनयले यो कृषि प्रशिक्षणको जानकारी गराउँछ ।
यस पर्वको अर्को पाटोमा महिलाले गर्ने श्रृङ्गार पटारको झल्को पाइन्छ । यसबाट आदिमकालबाट मानव जाति विशेष महिलाहरू सचेत थिए भन्ने प्रष्टिन्छ ।
नृत्यले समानताको शिक्षा दिएको पाइन्छ । बालक, युवा, वृद्ध तथा महिला पुरुषको समान सहभागिता हुनु साकेलाको विशेषता हो । साकेला नृत्यमा उमेर र लिङ्गको बन्देज नभए जस्तै यो नाचमा कुनै जाति विशेषलाई बन्देज छैन । एउटा बच्चाले नृत्य हेर्दाहेर्दै सिक्छ । उसलाई कुनै गुरुको आवश्यकता पर्दैन । अर्थात् पूर्णरूपले नृत्य गर्न नजाने पनि सहभागी हुन पाउने अवसरले एक दिन उसलाई निपूर्ण बनाउँछ । तर कुनै विशेष गुरु वा प्रशिक्षकको आवश्यकता नभए पनि यस सामूहिक नृत्यमा सिलीबोमा -महिला गाइड) र सिलीबोपा -पुरुष गाइड) दुवै वा एक मात्रै पनि हुनसक्छ । यी सिलीबोमा सिलीबोपाको नृत्य इशारामा अरूले पछ्याउँछ । यसरी हेर्दा यस सामूहिक नृत्यमा कुनै तह पार गर्नु नपरे जस्तै जब कुनैं व्यक्ति नृत्य गर्न सिपालु हुन्छ तब ऊ नृत्य नेता -सिलीबोमा वा सिलीबोपा) हुनसक्छ ।
यससँग जोडिएको अर्को पक्ष हो सिलीबोमा नृत्य नेतृत्व गरे बापत सायारेम्मा -शिर उभ्याउने) जोड, रक्सी वा नगद राखी अथवा यी कुनै पनि नभई मौखिक रूपमा धन्यवाद दिइनु हो ।
साकेला पर्वलाई सैद्धान्तिक शिक्षासँग जोडेर हेर्दा के देखिन्छ भने हामी प्रकृतिको पूजक हुनुपर्छ, किनभने यो बिना प्राणी जगत्को अस्तित्व रहन्न । समान सहभागिता अर्को सैद्धान्तिक शिक्षा हो । यहाँ उमेर, जात र लिङ्गको विभेद रहँदैन । बालबच्चालाई आफैँ स्वतन्त्र छोडी दिएमा आफैँ सिक्न सक्छ भन्ने रूसोको प्रकृतिवाद पनि इङ्गति भएको पाइन्छ । यसोभन्दा सही वातावरण भएमा केटाकेटीले आफैँ सिक्न सक्छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्व विकास वा उत्तराधिकारीको विकास तथा नेतृत्व अवसर स्वतन्त्ररूपले छाडी दिनाले हुनसक्छ भन्ने कुरा साकेला पर्वको अर्को सैद्धान्तिक शिक्षा हो । यसबाट नेतृत्वको महत्त्व र यसको कदर गर्ने क्रम बस्छ ।
बालक युवा र वृद्धलाई एकसाथ सामाजिकिकरण गर्छ । लैङ्गकि तथा जातीय विभेद अन्तः गर्ने एक कडी प्रदान गर्छ । सिक्ने सिकाउने वातावरण दिन्छ । सहज प्रक्रियाले नेतृत्व प्रदान गर्छ । नेतृत्वले जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि श्रेय दिइनुपर्ने संस्कार सिकाउँछ । प्राज्ञलाई सैद्धान्तिक र दार्शनिक पक्ष सिकाउँछ । सीपको पुस्तौनी हस्तान्तरण गर्छ । गर्दै सिक्ने विधिको अवलम्बन गराउँछ ।

hi sister tapi le sakela ko
hi sister tapi le sakela ko bare ma ramrari khulai denu vhayakoma dhannebad