राणाहरू प्रजातन्त्रको नामै सुन्न चाहन्नथे । त्यस्तो अवस्थामा पनि विभिन्न राजनीतिक दलहरू आ-आफ्ना राजनीतिक एजेन्डासहित राणा शासनको विरोधमा सडक तताइरहेका थिए । विरोध र आन्दोलनका कार्यक्रम सार्वजनिक गररिहेका थिए । सायद त्यसैको प्रतिफल एक दिन राणा शासन गयो र प्रजातन्त्र आयो ।
विसं १९९७ सालको सहिदकाण्डताका म ११ वर्षको मात्र थिएँ । तर, जब टेकु (पचली)को खरीको बोटमा मान्छे झुन्ड्याएको सुनेँ, मामाघर लगनखेलबाट साथीसँगी बटुली हेर्न पुगेँ । खरीको बोटमा झुन्डिरहेको मानिसको लास हावाले हल्लाइरहेको थियो, त्यस लासको छातीमा एउटा बोर्ड झुन्ड्याइएको थियो । जसमा लेखिएको थियो, ‘गाथगद् दी ताक्नेलाई यस्तै हुन्छ ।’ यत्तिकैमा एक जना वृद्ध मान्छे लठ्ठी टेक्दै आए र हिन्दीमा भने, “बेटा हो तो ऐसा । स्याबास् !” यति भनिनसक्दै उनले लासको परत्रिmमा गरे र ‘राम राम’ भन्दै बाटो तताए । पछि थाहा पाएँ, उनी त शुक्रराज शास्त्रीका बुबा वेणिमाधव पो रहेछन् ।
अर्का सहिद धर्मभक्त मेरा छिमेकी थिए । काकाको घरमा गएका बेला उनलाई झुन्ड् याइएको सुनेँ । त्यस्तै अन्य दुई सहिदहरूबारे पनि मैले त्यसबेला जे सुनेँ, मन त्यसै उद्वेलित भयो । यो सबै देखेपछि मेरो बालमस्ितष्कमा खै कस्तो छाप पर्यो, राणाहरू भन्नेबित्तिकै वितृष्णा जाग्न थाल्यो । विडम्बनाचाहिँ के थियो भने, मेरो बुबा कृष्णराजसिंह बबरशमशेरको दरबारमा काम गर्नुहुन्थ्यो । सोझै राजनीतिमा लाग्न अप्ठ् यारो थियो । तर, खै किन हो, यस कुराले मलाई राजनीतिमा लाग्नबाट रोक्न सकेन । बुबासँग पौठेजोरी गरेरै राजनीतिमा संलग्न भएँ ।
२००५ सालमा विजय मल्ल, कृष्णप्रसाद रमिाल, त्रिपुवर सिंह, गोपाल दास आदि मिलेर नेपाल प्रजा पञ्चायत स्थापना भएको थियो । त्यसले राणाहरूले ल्याएको अन्तरमि विधान-२००४ लागू गर भन्ने बहानामा भित्रभित्रै राणाविरोधी अभियान चलाएको थियो । धर्मभक्तको घरअगाडिको चोकमा हामीले भेला आयोजना गर्यौँ र सबैलाई दहीमा मुछेको रातो टीका लगाएर स्वागत गर्यौँ । त्यस सभाको सभापतित्व मैले गरेको थिएँ, कृष्ण मानन्धरले स्वागत भाषण गर्नुभयो भने विजय मल्लले लामै बोल्नुभयो ।
यस्तो कुरा राणाहरूको दरबारमा नपुग्ने कुरै भएन । बबरशमशेरले मेरो बुबालाई हप्काएछन् र भन्नुनभन्नु भनेछन् । त्यसपछि त बुबा साइकल टिपेर सरासर घर आउनुभयो र साइकलसमेत स्ट्यान्डमा नराखी माथि उक्लिनुभयो । बबरशमशेरले सर्वस्वहरण गर्ने र जागिरबाट खोसुवा गर्ने धम्की दिएको सुनाउँदै अंग्रेजीमा गाली गर्न थाल्नुभयो । बुबाको बानी कस्तो थियो भने धेरै रिसाउनुभयो भने अंग्रेजीमा बोल्न सुरु गर्नुहुन्थ्यो । घरमा एककिसिमको कोलाहल नै मच्चियो ।
म भने संगठनमा आबद्ध मानिसहरूको पर्चा लुकाउनमै व्यस्त थिएँ । दरबारबाट माग भएको त्यो पर्चा दरबार पुग्यो भने खत्तमै हुन्थ्यो । मैले बुबालाई त्यो पर्चा मसँग होइन, विजय मल्लसँग भएको भनेर ढाँटेँ । बुबा उतै लाग्नुभयो, मैले खल्तीबाट पर्चा निकालेर गन्जीभित्र राखँे । यस काण्डमा थुप्रै यातना सहनुपर्यो । त्यस घटनामा मेरो बुबासँग अलिक नराम्रै भनाभन भयो । मैले भने, “तपाईंले पो उसको नोकरी खानुभएको छ । म किन डराउने ऊसँग ? यदि तपाईंको मालिकले यस्तो कुरा गर्यो भने म पनि मर्छु र उसलाई पनि मार्छु ।” त्यसपछि बाबुछोराको बीचमा यसबारेमा कुराकानी नै हुन छोड्यो । म आन्दोलनबाट अलग हुन सकिनँ । निरन्तर सक्रिय भइरहेँ ।
००४ सालमा काठमाडौँमा ठूलो राणाविरोधी जुलुस निस्िकएको थियो । जुलुस घन्टाघर हुँदै नक्साल चारढुंगेमा पुग्दा प्रहरी हस्तक्षेपमा पर्यो । त्यसबेला नरशमशेर राणा र चन्द्रबहादुर थापाको प्रहरीतर्फ हाइहाई थियो । उनीहरूले नै त्यहाँ जुलुस तितरवितर गरे । हामीहरू भागेर सुन्दरराज चालिसेको पालि निस्किएको पुरानो घरमा लुकेर त्यो भिडन्त हेररिह्यौँ । टंकविलास बज्राचार्यले नेतृत्व गरेको त्यो जुलुसमा पुलिसले नचाएको खुकुरी र लाठी प्रहारबाट कति घाइते भए, यकिन भएन । तर, एउटा बालकलाई टिपेर ट्रकमा फालेको दृश्य साह्रै पीडादायी थियो । पछि बुझ्दा उनी त नूतन थपलिया, जो पछि प्रेस काउन्सिलका अध्यक्ष पनि भए, रहेछन् ।
त्यसपूर्व ००३ सालमा नरमान श्रेष्ठको नेतृत्वमा हामीले विश्वनिकेतन स्कुल स्थापना गरेका थियौँ । यसको भित्री मनसाय क्रान्तिकारी युवा तयार गर्ने थियो । हामीले हरेक शिक्षकलाई सातामा एक दिन राजनीतिक प्रवचन दिन लगाउँथ्यौँ । एक किसिमले राणाविरोधी आन्दोलनमा यसको आफ्नै महत्त्व र उपादेयता थियो भन्ने लाग्छ । हामी शिक्षकहरूकै सक्रियतामा ००५ सालमा एउटा जुलुस निस्िकयो । त्यसको नेतृत्व माइला दाइ (गोर्खाली) र भवानीशंकर श्रेष्ठले गर्नुभएको थियो । त्यो जुलुस कमलपोखरी-हात्तीसार पुग्दा नपुग्दै गिरफ्तारीमा पर्यो, हामी सात-आठ जना शिक्षक पक्राउ पर्यौँ । हामीलाई ट्रकमा राखेर नाचघरनिर ल्याउँदा नल्याउँदै नाचघरको छेउबाट अर्को जुलुस निस्िकयो । पुलिसहरू कराए, त्यत्तिकैमा बाबुराजाले भनिहाले, “खानलाउन नपाएपछि जुलुस ननिकालेर के गरून् त ?” त्यसपछि त के थियो, बाबुराजालाई कुट्न थाले र अघिल्लो ट्रकमा लिएर गए । त्यस दिनभर िहामीलाई मोहनशमशेरको दरबारमा राखेर साँझ छोडे ।
००७ सालको एउटा घटना रोचक लाग्छ । तत्कालीन राजा त्रिभुवन भारत प्रवास जानुभएको थियो । काठमाडौँमा सानातिना जुलुस निस्िकरहन्थे । जुलुसलाई नियन्त्रण गर्ने क्रममा पुलिसको यातनाबाट असनका न्हुच्छेरत्न सख्त घाइते भए । अर्को दिन रगत बान्ता गरेर उनको मृत्यु भयो । परविारजन आफ्नै किसिमले अन्त्येष्टिको तयारी गर्दै थिए । तर, हामीलाई लाग्यो, ठूलो शवयात्रा निकालेर यसैको आडमा राणाविरोधी अभियान चलाउनुपर्छ ।
टोलटोलमा खबर गरेर हामीले ठूलो शवयात्रा निकाल्यौँ । हामी युवकहरूले पालैपालो लास बोकेर असनबाट केलटोल, भेँडासिङ, क्षेत्रपाटी, धोबीचौर हुँदै विष्णुमतीसम्म पुग्यौँ । पुलिस त्यहाँ कुरेर बसेको रहेछ, जुलुस तितरवितर गर्न । तर, जुलुस त्यहाँ पुग्नासाथ ढुंगामुढा भयो । पुलिस आफ्नो ट्रकसमेत छोडेर भागे ।
प्रस्तुतिः ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक ३४४
