जटिल जिन्दगीको अभिशप्त समय । त्यही समयको एउटा नायक हुनुहुन्थ्यो ईश्वरबल्लभ । कठिनाइहरू फुकाउन खोज्दाखोज्दै कठीन बन्थ्यो शैली र हाडे ओखर फोरेर गुदी खाँदाको सुस्वाद्य लेखकीयले अविस्मरणीय बनाउँदै लगेको बेग्लै परिचय बन्यो उहाँको । आयामेली आन्दोलनले प्रतिनिधित्व गरेको उहाँको व्यक्तित्वलाई तेस्रो आयामकै सन्दर्भमा विश्वविद्यालयमा अध्ययन-अध्यापन र बुझ्ने-बुझाउने कोसिस गरियो । इन्द्रबहादुर राईबाहेक वैरागी काइँला र उहाँलाई यदाकदा साहित्यिक कार्यक्रमहरूमा अलि परैबाट देख्दै आएकी थिएँ- २०४६ सालपछि जब म यो सहरमा भित्रिएँ । अक्सर लाग्ने गथ्र्यो- “तीनै जना प्रतिनिधिहरूलाई एकसाथ भेट्न पाए पनि हुने ।”
धेरैपछि भनौ यसैपाली मात्र मैले इन्द्रबहादुर राईलाई काठमाडौँमा पहिलोपटक भेटेँ, पहिलोपटक सुनेँ र एउटा ठूलै धोको मेटिएको जस्तो भयो तर ईश्वरबल्लभ दाइ नरहेकोे काठमाडौँमा कताकता फेरि पनि त्यो भेट अधुरै रहे जस्तो भयो, दुई आयामको अपुरो यात्राको अनुभूति हृदयबाट ओझेल हुन सकेन । एउटा उचाइ हेर्दाहेर्दै धर्तीबाट धेरै अग्लिएर गयो, समाधिस्थ भयो शून्य आकाशमा अहिले पढ्दैछु- इन्द्रबहादुर राईले भर्खरै लेख्नुभएको रहेछ- “आज हामी एक जना (स्व. ईश्वर बल्लभ) नरहेका भएका छौँ, आफू धेरै अपाङ्ग बनेको लाग्छ ।” ईश्वर बल्लभको कोमल व्यक्तित्व सधैँ एउटै आयामको लाग्थ्यो, परिचयभित्रको खास परिचय- निर्दोष भावनाको सरल र आफैँभित्र कतै चिन्तन मग्न एक दार्शनिक जस्तो । दुब्लो-पातलो शरीर र त्यसभित्रको मिजासिलो मानवीय मौन-संवेदनशील आकृति जो थोरै बोलेर धेरै बुझाउने खालको, सम्भवतः थर्ड डाइमेन्सन व्यक्तित्वमै झल्कन्थ्यो कि कुन्नि! आज उहाँ हाम्रा आँखाबाट विलीन हुनुभएको वर्ष दिन भयो तर मानसमा झनझन् अस्तित्वपूर्ण बन्दैछ । नेपाली साहित्यमा उहाँको अस्तित्वको जग कसैले ढाल्न चाहेर पनि सकिने विषय होइन तर साकाररूपको दर्शन र मूर्तिपूजामा अभ्यस्त मानवमानसले निराकार अस्तित्वका सम्झना र श्रद्धामा चाहेर-नचाहेर पनि दूरी बनाउँदोरहेछ, कहिलेकाहीँ धेरै यस्ता सन्दर्भहरूले मन दुख्ने गर्छ ।
यिनै परिस्थितिहरूमा पनि हुनु र नहुनुबीच धेरै कुरा छन् उहाँका । एकदिन ईश्वर बल्लभदाइकै सामुमा उहाँको जीवनी लेखिनु पर्ने प्रसङ्ग उठ्दा साँच्चै पुलकित हुनुभएको थियो उहाँ, लाग्थ्यो धेरै गहिरो छ उहाँको जिन्दगी भोगाइ र अनुभूतिको कुवा । एक युवाकवि यसका लागि प्रेरित भइरहनुभएको छ भन्ने पनि दाइले सुनाउनुभएको थियो । यो उहाँको जीवनकालमै आउनसकेको भए कति राम्रो हुन्थ्यो तर कसले चासो देखाउने यस्ता विषयमा । केही दिन अगाडि ‘धूमपानको क्षमाप्रार्थना’का सन्दर्भमा देवकोटाका तरल संवेदनाका केही रोचक प्रसङ्गहरू उप्काइरहँदा कलेजका एक जोसिला विद्यार्थीले सोधेका थिए- “उहाँको बारेमा विदेशी लेखकको स्ट्याण्डर्डको जीवनी किन आजसम्म लेखिएन ?” म झस्किएँ देवकोटा स्वयंले पागल कविता र धूमपानको क्षमा प्रार्थनाजस्ता रचनामा प्रस्तुत गरेका केही घटनाबाहेक उनका रहस्यमय अनुभूति र जीवनयात्रालाई नयाँ पुस्ताले कसरी जान्न पाउलान् ? अहिलेसम्म त उहाँलाई नजिकबाट जान्ने केही व्यक्तित्वहरू सशरीर हुनुहुन्छ, त्यस्तो कुनै कृति यही शताब्दी महोत्सवका अवसरमा आउन सके कति राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ । ईश्वर बल्लभको यसै प्रसङ्गमा अम्बर गुरुङ, शङ्कर लामिछाने, नारायणगोपालजस्ता केही आदरणीय नामहरू क्रमशः स्मृतिमा बस्दै आए, तिनको जीवनी लेखिनु भनेको त्यो आधार हुने थियो, जसबाट साहित्य, सङ्गीत र कलाको आँचलमा मानव सभ्यताको विकास अवश्यम्भावी थियो । समयमा यस्ता काम हुन नसक्दा नेपाली साहित्य र त्यसका पाठकलाई हुनसम्मको घाटा भएको छ र विदेशी लेखकका अटोवायोग्राफी पढेर हामी चुक्चुकाइरहन्छौँ ।
उहाँका कवितालाई नेपाली कविताको पहिलो अडियो सी.डी. रेकर्ड अञ्जली- मा सुनेकी थिएँ । पछि केही समय अगाडि राष्ट्रपतिबाट ‘सुन्ने कविता’का दस अडियो सी.डी. सार्वजनिकीकरण गरियो । ती अन्य नौ जीवित कविका शृङ्खलाभित्र भर्खरै दिवङ्गत हुनुभएका ईश्वर बल्लभको एक शृङ्खला थियो, आशा थियो उद्घोषणका क्रममा उहाँका योगदानका बारेमा केही सन्दर्भहरू उप्काइयुन् । आमन्त्रितहरूका माझमा कमलाभाउजू पनि हुनुहुन्थ्यो, सायद यो आशा उहाँमा पनि रहेको हुँदो हो तर त्यस्तो हुन किन सकेन ? त्यसको जवाफ मसँग छैन, प्रसङ्ग सानै भए पनि त्यसलाई उचित ठाउँमा उठाउन सकिए त्यसले दिने प्रभावको बेग्लै महìव रहन जान्छ । बाहिर निस्कँदै गर्दा ढोकैमा भेटिनुभएथ्यो कमलाभाउजू । बल्लभ दाइका भागको दस थान सी.डी. उठाउँदा लच्किएको थियो उहाँको हात । तीमध्येको एक थान सी.डी. हत्केलामा उठाउँदा कस्तो अनुभूति भयो होला ? उहाँलाई Û, मैले मन भएर पनि सोध्न सकिन । एक/एक सी.डी. उपहार दिइँदै थियो, मैले जानेरै ईश्वर दाइलाई छानेँ । घर आएर जब सुन्दै थिएँ, लाग्यो आवाज कतै टाढाबाट थर्किएर आइरहेछ । उहाँको जीवनकालमै रेकर्ड भएको भन्ने कुरा नै अविश्वसनीय जस्तो हुँदोरहेछ । आत्माबाट आएको निराकार ईश्वर आवाजले मन बेस्सरी हल्लाएको थियो, जताततै परिव्याप्त शून्यताले कोठामा स्पीकरबाट आइरहेको प्रतिध्वनिमा समेत बेग्लै तरङ्ग महसुस भयो । शून्यताले भरियो मन सुन्ने कवितामा । सोच्दैछ- धेरै कुरा हुँदारहेछन् हुनु र नहनुका बीच-
आधी रातको घामको मुलुकको गीत
म यहाँ
तिमी नभएको बेला सम्झेर गाउँछु
नर्वे स्वतन्त्र भएको शताब्दी-उत्सवका सन्दर्भमा कवि ईश्वर बल्लभका अभिव्यक्ति हुन् उल्लिखित कविता । कविताका भावले भनेजस्तै गीतहरू सम्झेर गाउनकै लागि हुँदारहेछन् । ‘कतै टाढा जाँदा पनि सँगै हिँड्यौँ जस्तो लाग्छ’- सम्झेरै गाउन र आत्मविभोर हुनका लागि छोडेर गएका ताजा स्मृति हुन् यी गीतहरू उहाँका ।
नेपाली साहित्यका विविध विधामा कल चलेको छ उहाँको । गीत, कविता, निबन्ध अनि एकाङ्की नाटकहरू समेत । बौद्धिक समाजमा ज्यादा चिनाउने विधा कविता र निबन्ध हो भने, कोमल भावमा डुबाएको छ उहाँका गीतले अधिकांश श्रोतालाई । नाटकको सन्दर्भ चाहिँ अलि सीमित नै छ भन्न सकिन्छ अर्थात् थोरैलाई मात्र उहाँको नाटक-लेखनको जानकारी छ ।
मलाई अनौठो लाग्छ कहिलेकाहीँ- आयामेली आन्दोलनका सशक्त हस्ताक्षरत्रयमा ईश्वर बल्लभलाई हामीले विश्वविद्यालयका पाठ्यपुस्तकमा अत्यन्त कम या नगण्य नै पढ्न पाउँछौँ । बी.ए. को ऐच्छिक नेपालीमा ‘रिक्तताको देवतालाई हेर्न मन लाग्यो’ शीर्षकको कविताबाहेक उहाँको कविता अन्यत्र हामीले भेट्टाउँदैनौँ । यद्यपि उहाँका सहकर्मीहरूलाई हामीले अन्य तहमा पनि दोहोर्याएर पढ्न पाएका छौँ । यो एउटा सानो खुल्दुली मनमा रहिरहेकै छ । स्थापित र नवप्रविष्ट सबै खाले कविहरूले, निबन्धकारहरूले उहाँका आशीर्वचन लिनमा तेज रुचि लिएको देखिन्छ, प्रशस्त भूमिकाहरू लेखिएका छन् उहाँका कलमबाट । हृदय र विचारको उत्कृष्ट सम्मिलनले उहाँका तर्कको आभास नै अलग रहन्छ र सायद यो स्वादका पारखीहरू उहाँका भावोक्षरविना आˆनो पुस्तकलाई पूर्ण सम्झँदैनथे कि कसो Û
वि.सं. २०१२ सालबाट सुरु भएको देखिन्छ कवि बल्लभको कविता यात्रा । भारती पत्रिकाले उहाँको ‘म के हुँ’ शीर्षकको कविता प्रकाशन गरेपछि यो यात्राको गोरेटो निरन्तरलाई बन्यो । सुरुमा स्वच्छन्द सिर्जना रहे पनि उहाँको कवित्वले समयको जटिलताभित्र नयाँ प्रयोगको शैली समात्न पुग्यो । नेपाली कवितामा प्रयोगवादका नामले चिनिने समयमै उहाँका कविताहरू झाङ्गएि । अमूर्त भावको कलात्मक शिल्प संवरणमा सम्पूर्णताको अभिव्यक्ति दिने उहाँका कविताहरू वि.सं. २०२०को आयामेली चिन्तनबाट अनुप्राणित हुँदै गए र यथार्थबाट अलि पर अस्तित्वको खोजमा समर्पित हुँदै गए । उहाँका चर्चित कविता सङ्ग्रहहरूमध्ये आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (२०२९) मदन पुरस्कार प्राप्त कविता कृति हो । यसका अतिरिक्त एउटा सहरको किनारामा (२०३४), समानन्तर (२०३८), कस्मै देवाय (२०४२), धुवाँको जङ्गल (२०६०)जस्ता काव्य-कृतिहरू रहेका छन् । बौद्धिक चिन्तनका गहकिला कविता लेख्ने उहाँका कवितामा जीवनलाई अन्ततः अस्तित्ववादी/जीवनवादी निचोडमा उभ्याइएको हुन्छ । दार्शनिक श्रेणीका , क्लिष्टताले छोपिएका कविताभित्र सौन्दर्यको आवीर्भाव गर्ने खुबीले उहाँका कवितालाई बेग्लै प्रभावशाली बनाएको छ । मिथकहरूको प्रशस्त प्रयोगमा, प्रतीक र बिम्बहरूको पुष्टतामा उहाँका कविताहरू चित्रात्मकसमेत बनेका छन् । तत्क्षणका अनुभूतिले जीवनका क्षणिकतालाई बोध गराउने सामथ्र्य उहाँका कवितामा पाइन्छ ।
मानिसको पयरजस्ता केही कवितामा प्रकृति र जीवनको यथार्थ-सम्बन्धको सजीव अभिव्यक्ति दिएको पनि भेटिन्छ-
आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ
धरतीले मानिसलाई साह्रै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ
त्यति नै बिरुवा यहाँ सर्छ
मेरी आमाले आत्महत्या गरेको देश-जस्तो अति मार्मिक कविता लेखेर पाठक र श्रोताहरूको मुटु हल्ल्ााउने कवि ईश्वर बल्लभ नेपाली साहित्यका एक बलिया खम्बा हुन् । जन्मथलो काठमाडौँ भए पनि भाषा र संस्कृतिको, साहित्य र सङ्गीत-कलाको मायामा उनको कर्मथलो फैलिएर दार्जीलिङसम्म पुगेको थियो । नेपाल र नेपाली भाषीलाई भावनाको बलियो डोरीले बाँधेर राख्ने विषय नै एउटै भाषा र संस्कृति हो । यसलाई अझ बलियो बनाउन साहित्य-सङ्गीतले भूमिका खेलेको हुन्छ । त्यसमा पनि काठमाडौँका नारायणगोपाल र दार्जीलिङका गोपाल योञ्जनबीच मितेरी सम्बन्ध गाँसिदिेने ईश्वर बल्लभ हाम्रानिम्ति मितेरी पुल पनि बन्नुभएको थियो, जुन पुलले कहिल्यै नभत्किने इतिहासलाई नेपाली साहित्य र सङ्गीतको आकाश-धर्तीभरि उभ्याएर गयो ।
– बालुवाटार, काठमाडौ
