गजल मुरद्दफ १
बिखालु रातको चिहान निम्ति लेख्छु म ।
अझै नझुल्केको बिहान निम्ति लेख्छु म ।।
गर्न के गर्छन तर भन्न सबैले भन्छन्
पाप र धर्मको किटान निम्ति लेख्छु म ।।
लासले लास दबाइन्छ जब माटोमा ।
विजोग परेको मसान निम्ति लेख्छु म ।।
गरे के हुन्न दुनियाँमा जे पनि हुन्छ ।
आकास धर्तीको मिलान निम्ति लेख्छु म ।।
न ज्युन दिन्छ सुविस्ताले न मर्नै दिन्छ ।
हो, त्यही रोगको निदान निम्ति लेख्छु म ।।
बडो जुक्तिले अनिकाल, खडेरी माझ ।
जोगाइराखेको इमान निम्ति लेख्छु म ।।
कुडा कर्कटले अब शोक मनाए हुन्छ ।
दिलमा जागेको तुफान निम्ति लेख्छु म ।।
गजल मुरद्दफ २
सेती हो जिन्दगी यो काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी
पहिरन्छ माला कहिले मोसो दलाउँछ
ताली कहीं कसैको गाली हो जिन्दगी
ढंग नपुग्दा ढुंगा, काँढा बिझाउँछ
होइन भने त फूलको डाली हो जिन्दगी
दुर्गन्ध या अरूले लिने सुगन्ध हो
आफै बगैंचा आफै माली हो जिन्दगी
सिद्घान्त हो कसैको संघर्ष हो भने
कसै कसैको सालासाली हो जिन्दगी
राती अँधेरी, कोप्ची, औंसी भए पनि
प्रभातमा उषाको लाली हो जिन्दगी
कुनै कुनैको डिस्को, पिकनिक हो भने
कुनै कुनैको धर्ना र्याली हो जिन्दगी
रुँदा करुण गाथा हो किन्तु गाउँदा
झाम्रे, भजन, गजल र ख्याली हो जिन्दगी
खल्ती जुवाडेको या खहरे भने हुने
छिन्मा भरिलो छिन्मा खाली हो जिन्दगी
छाडा पशुहरू छन् चर्लान् जोगाउनू
अनमोल प्रकृतिको बाली हो जिन्दगी
