कहिले बादलका फूलहरु सिउरेर चुल्ठोमा-
ताराबुट्टे घुम्टो अलिक उघारेर
गीत गुन्गुनाइरहेकी
र
सयपत्रीका पत्रहरु चुँडेर
हावामा उडाइरहेकी,
कहिले चियाको बुट्टाको आड लागेर
आफ्ना कोमल औँलाहरुले
आकाश छोइरहेकी
र
इन्द्रेणीको माला लगाएर
नाचीरहेकी, हाँसीरहेकी,
कहिले मसंगै
पुतलीहरुको पछि पछि दौडिरहेकी
र कहिले
बाक्लो हुस्सूमा लुकेर कतै
मलाई अत्याएझैँ जिस्काइरहेकी
तर सधैं सधैं
छातीबाट अनन्त जीवन
र काखबाट अपार ममताले
मलाई सिँचिरहेकी,
नदीहरुका मेंहदी
र तालहरुका चुराले सजिएका
हातहरुले घुँडा बेरेर
सारीको पहेँलो किनार
पछिल्तिर अलिक लतारेर
जुनले पखालेका सुन्दर सेता पाउहरु
कलिलो घामले सेकिरहेकी,
रंगीन बतासमा हल्का झुलेर
शान्त लज्जालु आँखाले मुस्कुराइरहेकी
सदा यौवना अमर सुन्दरी मेरी आमा
सदा यौवना अमर सुन्दरी मेरी आमा।
http://www.basantagautam.com/2009/03/blog-post_31.html
