उपन्यासको प्रसङ्ग
साझा प्रकाशनको सूचीपत्रमा ‘दीना, भद्री र सलहेश’ नामक एउटा पुस्तकको नाम पढ्दा उत्सुकता जाग्नु अस्वाभाविक थिएन । जनकपुर शाखामा खोजबिन गरियो, पाइएन । त्यति बेलासम्म यो पनि बुझ्न सकिएको थिएन कि त्यो पुस्तक कुन विधामा लेखिएको हो ।
पछि मैथिली साहित्यका अन्य लोकगाथा, साहित्यसम्बन्धी अनुसन्धानमूलक ग्रन्थ, आलेखहरू पल्टाउँदा ऋषभदेव शर्मालिखित उक्त पुस्तकको चर्चा भएको पाइयो तर स्रोत र पुस्तकका विषयवस्तुबारे कतै पनि उल्लेख भएको देखिएन । सम्भवतः सूचीपत्रहरूकै आधारमा लोकगाथाका अमर पात्रहरू दीना, भद्री र सलहेशको नाउँमा पुस्तक देखिएपछि त्यसलाई लोकगाथाकै अनुसन्धानमूलक ग्रन्थ सम्झेर उल्लेख गरिएको हुन सक्ने अनुमान र उत्सुकता झन् बढ्यो ।
बिहार, दरभङ्गाका एक जना मित्र चन्द्रेशले पनि उक्त पुस्तकबारे मसँग जिज्ञासा राखेका थिए तर मैले कतै पनि प्राप्त गर्न सकेको थिइनँ ।
संयोगले जब म साझा प्रकाशनकै अध्यक्ष बनेर ललितपुर केन्द्रीय कार्यालयमा पुगेँ, मेरो पहिलो काम नै उक्त पुस्तकको खोजी भयो । बजार प्रबन्धक रुद्र न्यौपानेलाई खोज्न आग्रह गर्दा साझाका पूरै स्टक खोज्नुभयो, पत्ता लागेन । अन्ततः उहाँले कुनै पुस्तकालयबाट एकप्रति मात्र ल्याएर मलाई दिनुभयो र त्यस बेलामा देखेँ ऋषभदेव शर्मा रेग्मीद्वारा लिखित त्यो लघुउपन्यास रहेछ- दीना, भद्री र सलहेश भन्ने पुस्तक लघुउपन्यास रहेछ । अनुसन्धान कृति रहेनछ तर पनि एक जना नेपालीका हस्ताक्षरले मिथिलाञ्चलका लोकगाथामा वणिर्त अत्यन्त प्रसिद्ध चरित्रहरू दीना, भद्री र सलहेशको उपयोग आफ्नो उपन्यासमा कसरी गर्नुभएको रहेछ भन्ने जिज्ञासाले ठाउँ लियो र मैले तत्काल त्यसको फोटोकपी गरी मगाएर डेरामा आई आद्योपान्त पढेँ । उपन्यास मिथिलाञ्चलको सिराहा, सप्तरी, कोसी क्षेत्रकै परिवेशमा लेखिएको भेट्टाएँ र त्यहाँ प्रचलित दीना, भद्री र सलहेशका लोकगाथा, गीतहरूबाट प्रेरणा लिएर उपन्यासकारले त्यो कृति लेख्नुभएको देखियो ।
को हुन् कृतिकार ?
विक्रम संवत् २०३५ सालमा ११०० प्रति छापिएको यो लघुउपन्यासका लेखक ऋषभदेव शर्मा रेग्मीको बारेमा परिचय खुलाउने केही लेखिएको छैन । साझा प्रकाशनले प्रकाशकीयमा मात्र ‘दर्शन, व्याकरण, अलङ्कारशास्त्र, काव्य आदिका पुस्तकहरू नेपाली भाषामा रचना गर्ने ऋषभदेव शर्मा रेग्मी शिक्षितजगत्मा अपरिचित हुनुहुन्न’ लेखेको छ । ३।४० पैसा मोलको यस पुस्तकका लेखक रेग्मीले ‘दुई शब्द’ मा भन्नुभएको छ- कथा कल्पना हो तर त्यो निराधार हुँदैन, कल्पनाका लागि पनि आधार चाहिन्छ । घुर्मी खोला, सिराहाको सदरमुकामतिरकै सलहेशको पुरानो बसोबासको थलो, सलहेशकै नामले प्रसिद्ध रहेको फूलबारी यस कल्पनाका आधार हुन् । स्थानीय मानिसहरू दीना, भद्री र सलहेशका गीत गाउँछन् । मैले पनि तिनको गीत सुनेको छु । श्रुतिपरम्परामा चलेको तिनको कथा पनि सुनेको छु । यिनै आधारहरूले मलाई प्रेरणा दिए र मैले यो कथा लेखेँ र यसरी तयार भयो यो लघुउपन्यास ।
निश्चय नै जुनबेला यो उपन्यासको पृष्ठभूमि तयार हुँदै थियो, त्यतिबेला उक्त क्षेत्रमा विभिन्न गायकहरू महराइ, सलहेश गाथा, नाचद्वारा यी पात्रहरूको शौर्यगाथा गाउने गर्दथे । उपन्यासमा प्रयुक्त दीना, भद्री र सलहेशका गाथागीतहरूका उर्वर भूमि मिथिलाञ्चल नै रहँदैआएको छ । उपन्यासकार आपै”mले स्वीकार गरेझैँ गीत सुनेर पात्र र स्थानको नाउँ स्मरण गर्नुभयो, कथानक आफ्नै रुचिअनुसार रच्नुभयो ।
कथानकको सान्दर्भिकता
दीना, भद्री मुसहरहरूका देउता हुन् । मैथिली लोकगाथामा दीना, भद्रीको विशिष्ट स्थान छ । यिनीहरू सामन्तवाद र शोषणका विरुद्ध लडेका योद्धाहरू थिए, जसलाई त्यस बेलाका प्रतापी राजकुमार सलहेशको सहयोगमा मारिएको वर्णन छ । यो गाथा नेपाल बिहारको सीमान्तक्षेत्रमा बढी प्रचलित रहेको छ । त्यसमा पनि खास गरी नेपालको सिराहा, सप्तरी क्षेत्रमा यसका अवशेषहरू अझसम्म रहेका छन् । दीना, भद्री, जिउँदोभन्दा मरेपछि बढी प्रभावकारी भूमिका खेलेको गाथागीतले देखाउँछ । उनले बेगारी खटाउने शोषक कनकसिंह धामीलाई मारे, कुनौलीका दुष्ट जोरावर सिंहलाई पनि मारे, जसले त्यस क्षेत्रका नवविवाहिताको स्त्रीत्व गर्ने गर्दथे । कथानकमा दीना, भद्रीका मित्र सलहेशको पनि चर्चा छ, जसलाई सत्मा पारेर कटैया खाप जङ्गलमा आफ्नै मित्र दीना, भद्रीको विरुद्ध उतारेर हत्यामा सहयोग गर्न बाध्य तुल्याइयो ।
दीना, भद्री लोकगाथामा कथानायकहरूका अतिरिक्त कनकसिंह, बुधनी वतरनी जादुगरनी, मोतीपुरका बहुरन, कुनौलीवासी जोरावर सिंह, रूपचन्द, पाँचोनाथ अघोरी, बधेसरी, बहिन महेसरी, गुलाम जट, तुमरी मुखिया, कोमला दुसाध, बाबा सिंधेश्वर, लुल्ही बाधीन, पोटरा गिदर, हंस-संझा, नीरसो, सलहेशजस्ता पात्रहरू पनि महत्त्वपूर्ण चरित्रका साथ आएका छन् ।
दुसाधहरूका जातीय देवताको रूपमा पूजित सलहेश पनि अन्याय, अत्याचारका विरुद्ध लड्ने योद्धाको रूपमा चर्चित छन् । यो लोकगाथा सम्पूर्ण मिथिलाञ्चलका लागि अमूल्य सम्पत्तिका रूपमा रहेको छ । यसका पात्रहरू र यसमा वणिर्त स्थानहरू नेपालको मिथिलाञ्चलक्षेत्र-सिराहा, सप्तरी, मोरङमा मुख्यरूपमा केन्दि्रत देखिन्छन् । सलहेश सिराहाको महिसौथाका हुन् । महिसौथा अतिरिक्त श्यामल गढ, मोरङ, विराटपुर, मैनीगढ, सतखोलिया, बेलका गढ, बरहरधार, मानिकदह, कोशिका, परबापोखरी, नेपालकै भूमिमा पर्दछन् ।
मध्यकालभन्दा पूर्वकै यो गाथा नाचको रूपमा सम्पूर्ण मिथिलाञ्चलमा देखाउने गरिन्छ । यसका पात्रहरूमा सलहेश, चूहडमल, मोतीराम, करिकन्हा बुधेसर, राजाकुलेसर, केवल किरात, दीना, भद्री, मन्दोदरी, रेशमा, कुसुमा, दौना, रानी फूलवंती, रानी तरेगना, वनसप्ती, चन्द्रा आदि मुख्य छन् । यिनी देवत्वप्राप्त नायक थिए । सलहेशको फूलबारी प्रसङ्ग अत्यन्त महत्त्वपूर्ण घटना मानिन्छ । राज पकरिया कन्चनगढमा कुलेसर राजाकी पुत्री चन्द्रासँग फूलबारीमा सलहेशको भेट हुनु, चन्द्राद्वारा प्रेमको अनुनय, सलहेशद्वारा अस्वीकार गरिनु, राजा कुलेसरद्वारा सलहेशको पक्राउ, जेल, चन्द्राको कोठाको पहरेदारी, चूहडमलको मुकामबाट नै गङ्गाको सहयोगमा सुरुङ खनी चन्द्राको कोठामा पसी सबै गरगहनाको चोरी गर्नु, सलहेशमाथि शङ्का, सलहेशकी पत्नीद्वारा चोर पत्ता लगाई पति हिरासतबाट मुक्त गराउनुजस्ता रोचक प्रसङ्ग रहेको छ । यस प्रेम र समर्पणको प्रतीक थलो सलहेश फूलबारी अझ पनि सिराहा जिल्लामा, लहान नजिक विद्यमान छ । यहाँ प्रत्येक वर्ष वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ ।
यसरी गाथागीतमा दीना, भद्री र सलहेशको मूलकथा समेटिएको छ । दुवै समकालीन थिए र मित्र पनि तर छलले मारिएका दीना, भद्री कारकरूपमा सलहेशलाई नै ठानेर दुवै मित्रका बीच कलह नहोस् भन्न खातिर सलहेशको पूजा हुँदा आफ्नो पनि पूजा होस् भनी सर्त गराएर पुनः मित्रता कायम राखेको प्रसङ्ग पनि दीना, भद्रीगाथामा उल्लेख छ ।
अब रेग्मीद्वारा लिखित दीना, भद्री र सलहेश उपन्यासमा वणिर्त कथानक र पात्रको कुरा गरौँ भने यसमा ठाउँ, पात्रहरू त धेरै मिल्छन् तर कथानक फरक छ । त्यो कल्पना हो लेखक आपै”mले भनिसक्नुभएको छ तर पनि तत्कालीन सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई ध्यानमा राखी रच्नुभएको कथानक आफ्नो विशिष्ट पहिचान राख्न सफल भएको छ ।
यस लघुउपन्यासमा दीना, भद्री, सलहेश र चूहडमाल (मल) मुख्यरूपमा प्रस्तुत गरिएका पात्र हुन् । कोसी नदीलाई मध्य मानी पूर्व र पश्चिम क्षेत्रका स-साना राजाहरूको राजनीतिक सङ्गठन, सैन्यक्षमता, विजय आकाङ्क्षा, युद्धकौशलको चर्चा नयाँ कथानकद्वारा गरिएको छ । त्यहीँ सलहेशको चर्चा गर्दा फूलबारी प्रसङ्ग पनि ल्याइएको छ तर फरक अर्थमा । मोरङका महाचौधरी रणपाल चम्पा, कनकसिंह राज्यविस्तारका लागि कोसीवारिका सरदार कालु दादाको राज्यमा आक्रमणको तयारी गर्छन् तर त्यहाँ दीना, भद्री, चूहडमल र सलहेशको संयुक्त शक्ति हुन्छ । सलहेश मणिकचन्द्र चौधरीका छोरा हुन्- राजकुमार सलहेश । दीना, भद्री र शवरकुमार स्वाभिमानी । चारै जना अखडामा कुस्ती खेल्ने मल्लयुद्धमा पारङ्गत । चार जनाको शक्ति नफुटे कोसी पश्चिम जित्न नसक्ने ठानेर सलहेशलाई प्रेमपासमा फसाउने रणनीतिअन्तर्गत ‘वेदना’ को उपयोग गरिएको र पछि साँच्चिकै प्रेम हुन गएको रहेछ । दीना, भद्री, रणपाल, कनकसिंहसँग युद्धमा विजयी भई दुवैलाई बन्दी बनाएर ल्याउँदै गर्दा कोसीमा ढुङ्गा पल्टिँदा सबै नदीमा बगेर मरे । कथानकको सार यही हो ।
यहाँ दीना, भद्री, सलहेशसँगै चूहडमललाई चूहडमाल भनी प्रयोग गरिएको र चूहडमालले कोसीबाट सुरुङ खनी चम्पाको महलमा गई रणपाललाई ‘हनुमन्ते’ बनाएको प्रसङ्गमा सलहेशगाथाको चूहडमलको मुकामाबाट खनिएको सुरुङ र चन्द्राको गरगहना चोरी गरेको प्रसङ्गको झझल्को दिने प्रयास भएको प्रस्ट छ ।
दीना, भद्री र सलहेश लघुउपन्यासमा लोकगाथाका अमरपात्र र त्यसले ओगटेका चर्चित ठाउँ समेतको प्रयोग कल्पित कथाको प्रसङ्गमा उपयोग गरिएको छ । यो प्रयोग यति सटीक र सान्दर्भिक रूपमा गरिएको छ कि यसले तत्कालीन सामाजिक अवस्थाको परिचय मात्रै होइन, मिथिलाञ्चलका केही खास वैशिष्ट्यलाई पनि इङ्गति गरेको छ ।
सिराहा, सप्तरीका ती क्षेत्रहरू मध्यकालपूर्व निश्चय पनि जङ्गल, पहाडले भरिएको थियो । सलहेश र दीना, भद्रीको उपस्थिति त्यसै परिवेशमा शिकारीको रूपमा भएको र त्यसबखतका खानाहरू पनि पशु प्राणीका मासुमै आधारित भएको प्रसङ्ग अखडामा ल्याइएको ‘जलपान’ बाट थाहा हुन्छ । बँदेलको मासु, माछा, मक्खन मल्लहरूका लागि उपयोग खाद्य पदार्थ थिए । मालिनी सम्प्रदायको चर्चा, फूलबारी, युद्ध, रणनीति, गुप्तचरी, राग-अनुरागका प्रसङ्गहरूले तत्कालीन जीवनशैलीलाई पनि प्रतिनिधित्व गराउँछन् ।
यसरी ऋषभदेव शर्मा रेग्मी, जो स्वयं सिराहाकै पानबारी गाउँका निवासी थिए र मैथिली राम्ररी बोल्न जान्दथे उनीद्वारा दीना, भद्री र सलहेशकै नाउँ राखेर लेखिएको यो लघुउपन्यास मौलिक चिन्तन भएको एउटा सफल आञ्चलिक उपन्यास हो, जसले लोकधर्मिताको निर्वाह सुरुदेखि अन्त्यसम्म गरेको छ ।
यो उपन्यास आजका पाठकसमक्ष पनि पस्किनुपर्ने जनचाहनालाई ध्यानमा राखेर साझा प्रकाशनले यसबारे अवश्य पनि पाइला चाल्ने आशा गर्न सकिन्छ ।
