Skip to content

शीर्षक के हो ? (मुना २०६६ असार)

  • by


शैलजा र सपना बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्छन् । उनीहरूबीच आपसमा धेरै मेल छ । बेला-बेलामा सपनाले राम्रा राम्रा कुरा ल्याएर देखाउँछिन् । मीठा मीठा क्याडवरी चकलेट ल्याएर शैलजासँग बाँडेर खान्छिन् र भन्छिन् – “यो मेरो मम्मी-ड्याडीले अमेरिकाबाट पठाइदिएको ।”

त्यसबेला उनी निकै प्रसन्न देखिन्छिन् र आफ्ना राम्रा लुगा र मीठा चकलेटहरूमा आफ्ना बा-आमाको माया पाउँछिन् । आमाले उनलाई हजुरआमाको साथमा छाडेर अमेरिका जाँदा सपना कक्षा ४ मा पढ्थिन् । त्यसबेला मम्मीले भनेका कुरा उनलाई ताजै छ – सपना, तिमी मेरो सपना हौ । त्यो सपनालाई साकार बनाई उज्ज्वल भविष्यको निर्माण गर्दछु । त्यसैले तिमी अहिले हजुरआमासँग बसेर पढ्दै गर । म अहिले तिम्रो ड्याडी भेट्न अमेरिका जान्छु । अनि तिमीलाई अमेरिकाबाट राम्रा राम्रा कुरा पठाइदिन्छु नि ।”

मम्मीको अमेरिका बसाईं कति लामो हुन्छ भनेर सपनालाई केही थाहा थिएन । ड्याडीलाई सपनाले तस्बिरमा मात्र देखेकी छिन् । हजुरआमा भन्नुहुन्छ सपना जन्मेको छ महिनामा नै उहाँ अमेरिका जानु भएको रे ! सपनाको भविष्य राम्रो बनाउन धेरै पैसा कमाउन ।

शैलजाको भने छुट्टै कथा छ । उनी करिब छ वर्षकी थिइन् । उनका बाबु भिडन्तमा मारिए । उनी आमासँग बस्थिन् । एकदिन आमाले पनि आत्महत्या गरिन् रे ! अनि कसैले उनलाई अनाथ आश्रममा ल्याएर राखिदिए । त्यहीँ बसेर उनले आफूजस्तै भाग्यले ठगेका दाजुदिदीहरू पाइन् । त्यस बालगृहकै संरक्षणमा पढ्न-लेख्न पाइरहेकी छिन् ।

यी दुई भिन्न वातावरणका मित्रहरू आपसमा आफ्ना खुसी र दुःखका क्षणहरू साटासाट गर्छन् । दुवै उत्कृष्ट विद्यार्थी पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा उत्तिकै सहभागी हुन्छन् । सफलता हासिल गरेरै छाड्छन् । शैलजाको सफलतामा बालगृह परिवारले खुसी व्यक्त गर्दछन् सपनाको हजुरआमा भने पूजापाठ, भजन कीर्तनमै व्यस्त हुनुहुुन्छ । कसैलाई बताउन मम्मी ड्याडीको फोन कहिले आउँछ भनेर कुर्नुपर्छ ।

विद्यालयको वाषिर्कोत्सवको दिन । सबै खुसी थिए । सफा लुगा लगाई सबै फर्‍याकफुरुक गर्दै थिए । विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएका थिए । शैलजा र सपनाले पनि भाग लिए । शैलजा निबन्धमा प्रथम भइन् भने सपना वादविवादमा प्रथम भइन् । दुवैैले पुरस्कार र प्रशंसापत्रहरू प्राप्त गरे । दुवै आ-आफ्ना सर्टिफिकेट बोकेर घर-घर लागे । शैलजाको सर्टिफिकेट देखेर बालगृहको संरक्षकले स्याबासी दिए र उनको सर्टिफिकेटलाई फ्रेम गरेर सबैले देख्ने गरी भित्तामा झुण्ड्याउन लगाए । यता सपना पनि आफ्नो सर्टिफिकेट हजुरआमालाई देखाउन आतुर भएर उहाँलाई बोलाउँदै पूजाकोठामा पुगिन् अनि भनिन् – “हजुरआमा हेर्नुस् न ! म प्रथम भएको पुरस्कार ! ”

हजुरआमाले हेर जुत्तै लगाएर कोठामा आएकी । यो सर्टिफिकेट म के हेर्न जान्नु तेरै बाबुआमालाई अमेरिकाबाट आएपछि देखाउनु । खै छोड भन्दै हुनुहुन्थ्यो । गिलासको पानी घप्लक्क पोखिएर सर्टिफिकेट भिजेर जम्मै अक्षर मेटियो अनि सपनाका सपना सब चकनाचुर भए । त्यो रात उनी धेरैबेर रोइन् । आफ्ना बाआमाले जन्म मात्र दिएर भविष्य बनाउने बहानामा आफूलाई टुहुरो तुल्याएको महसुस गरिन् । भोलिपल्ट निन्याउरो मुख लगाएर स्कुल जाँदा शैलजाले सोधिन् – के भयो ?

उनले आफ्नो सर्टिफिकेट कसैलाई देखाउन नपाएको र पानीले भिजेर मेटिएको कुरा भनिन् । सपना पनि उनको कुराले दुःखी भइन् । आफ्नो सर्टिफिकेट भित्तामा टाँगिएको पनि सम्भिmन् । अनि सपनाले भनिन् – “शैलजा तिमी अनाथ भनेको त म पो अनाथ रहिछु ……… ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *