Skip to content

स्वास्नी हुन नसकेकी प्रेमिका


नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”

सायद मसँग स्वास्नीमानिस हुनुको प्राचीन गन्ध अझै छ, मलाई यस्तै विश्वास भयो । स्वास्नीमान्छेसँग हुने आध्यात्मिक जादु पनि मसँग छ, जुन मैले कहिल्यै हटाउन सकिनँ र त आज म जमुना भएँ कि ? निर्जन भत्किसकेको पाटीपौवाजस्तो म आफूलाई एक्लो उभ्याइदिन्छु । यतिखेर मैले कसैलाई आकषिर्त नगर्नुपर्ने हो वा गर्दिनँ । यस अर्थमा भन्ने हो भने म स्वास्नीमान्छे रहिनँ । सोच्छु, त्यसो भए म को हुँ ? मात्रै यही पुरुषकी जमुना ?

कुनै ईश्वर जसलाई देउता भनेर पुकारिन्छ (त्यो श्रीमान् पनि हुन सक्छ) सँग मेरो घरेलु सम्बन्ध भएन । त्यसैले म थालीमा अक्षतापाती बोकेर कहिल्यै मन्दिर छिरिनँ पनि । लोग्नेको अँगालोमा रात बिताउनु, प्रत्येक बिहान थिलथिलो र आलस्य जीउ लिएर उठ्नु, अस्वाभाविक रूपमा अर्काका लागि मेरो भुँडी बढाएर गर्भवती भइदिनु घरेलु पीडाका यी कुनै अनुभव मैले लिन सकिनँ । यसो भनौँ, लिइनँ पनि । मलाई सबै मान्छेहरू सधैँ पराया लागे । यी सबै मान्छेका आकृति मजस्ता होइनन् भन्ने लाग्यो । मेरो विचार, स्वभाव, अनुभव र सोच वा मसँग भएको भनिने विवेक यी कुनै पनि मलाई आफ्ना लाग्दैनन् । कोही यसलाई निजत्व दिन सक्लान् तर मेरो जन्म निजत्व मात्रै होइन । तर पनि मलाई लाग्छ, त्यसो भए म को हुँ ?

स्मृतिका धुमिल चिन्हहरूमा मेरो विगत वा मेरो जन्मकथा, बाल्यकाल, यौवन अवस्था सबै नाच्छ । जतिबेला म जन्मिएँ एउटा उमङ्ग छायो । दीपावली भयो । तर, मेरो जन्म आइमाईको रूपमा भएको थियो । जतिबेला म नाङ्गै जन्मिएँ, नाङ्गै हिँड्थेँ, त्यतिबेला पनि म आइमाई नै थिएँ । जतिबेला मेरो जीउ कसिलो, भरिलो र पुष्ट थियो, त्यतिबेला पनि म मात्रै आइमाई भएँ । जतिबेला प्रेमी बनेँ, पाउजु बजाएर छमछम नाच्थेँ, ती दिनहरूमा अझै बढी आइआई भएँ । विस्तारै चाउरिँदै गएको गालाको डोब, झोल्लिँदै गएका हात पाखुराका मांसपेसी, आकर्षण घट्दो सुक्दै गएको मेरो नितम्ब, यी सबै हिजो मेरै थिए । सोच्छु, त्यसो भए हिजो म को थिएँ ? आज म को हुँ ? अनुत्तरित छ । के हिजो म कसिलो स्तन वा भर्भराउँदो यौवन मात्रै थिएँ ? के हिजो विज्ञानको परीक्षण मात्रै थिएँ ?

थाहा छैन, उसले बोलाएको जमुना म हुँ या होइन । तर, उसले भनेका सबै कुरा सुनिदिन्छु । घण्टाघरमुनि उभिएर ऊ भन्छ, “जमुना तिमीलाई थाहा छैन, घण्टाघर उल्टो घुमिरहेछ । यस समयलाई यही घण्टाघरले कैद गरेको छ । हामी यसको मुनि छौँ र सेकेन्ड, मिनेट, घण्टा सुईसँगै हाम्रो आयु घुमाइरहेछौँ ।” लाग्छ, उसले भनेका कुराहरू असत्य होइनन् । “यो घडी बनाउने मान्छे निकै बुद्धिमान हुनुपर्छ । हामीलाई उसले विज्ञानको पछिपछि लगाइदियो, दिन र रातको भ्रम सिर्जना गराइदियो र हामी मध्यदिनमै घाम हराए पनि या जून उदाए पनि दिनलाई दिन नै भन्छौँ,” उसले आफ्नो भनाइ जारी राख्यो ।

मैले उसलाई भनिनँ, “महासय हाम्रा युगभरिका प्रख्यात/अप्रख्यात दार्शनिक चिन्तक वा धर्मगुरु सबै यही घण्टाघरकै सुईसँग घुमे । चाहे त्यो सुई सुल्टो घुमोस् या उल्टो ।” इतिहासका आकर्षक हल्लावाजहरू नित्से, गान्धी, फ्रायड, सार्त्र, मार्क्स, डे कार्ते, स्पिनोजा, ब्रेख्त, प्लेटो, सिजी युङ् यी सबै सायद उल्टो घुम्ने घडीको सुईसँगै घुमे । त्यसैले डे कार्तेले भन्यो, म सोच्छु त्यसैले म छु । मैले सोचे पनि नसोचे पनि म त छु नै । त्यसो त घडी सुल्टो घुम्दा पनि म नहुन सक्छु वा उल्टो घुम्दा पनि हुन सक्छु । विज्ञान रहेसम्म म रहन्छु । तिम्रो चेतना रहेसम्म विज्ञान रहन्छ, त्यो घडीको सुई ! तिम्रो चेतना नरहे पनि घुमिरहनेछ ।”

“जमुना ! डे कार्तेले घोषणा गरेरै आफूलाई बिर्सिसक्यो । ऊ विज्ञान रहेसम्म बाँचिरहनेछ । सायद तिमीले त अब मलाई बिर्सिसक्यौ । तिम्रो यात्रा गहिराइतिर गयो,” प्रतिक्रियाविहीन उभिएपछि मेरो प्रतिक्रियाको अपेक्षा नगरी उसले व्यङ्ग्य गर्यो, “समाजसँग मोहभङ्ग भएर तिमीले रोजेको सतहको मृगतृष्णा त्यागेर गहिराइतिरको यात्रा निरर्थक छ । तिमी गहिराइमा पुगेपछि तिम्रो बूढो सौन्दर्यले तिमीलाई घोच्नेछ । तिमी आफ्नो जन्मलाई धिक्कार्नेछौ । यस समाजलाई धिक्कार्नेछौ । त्यसपछि तिमी यही असामाजिकजस्तो लाग्ने सामाजिक भीडमा मिसिन आउनेछौ ।” सायद उसले मलाई उसकी पूर्वप्रेमिका जमुना भन्ठान्यो भन्ने अनुमान लगाउन अब मलाई गाह्रो भएन । त्यो जमुना सायद उसकी स्वास्नी हुन नसकेकी आइमाई हुनुपर्छ । उसले सम्भावित स्वास्नी बनाएको थियो होला सायद, म यस्तै कल्पना गर्छु जमुनाबारे ।

जन्डिस लागेजस्तो सूर्य पहेँलिएको छ । घण्टाघर छेउका रूखहरूमा मान्छेका करङजस्ता हाँगा मात्र छन् । फोटोजेनिक पोज र गालाको चार्मिङ् गुमाइसकेकी नायिकाजस्ती म घण्टाघरमुनि उभिइरहेकी छु । यो सहर- एड्सग्रस्त पुरुषको सम्भोगले शिथिल वृद्ध वेश्याजस्तो लाग्छ । र पनि, झर्कोलाग्दो गरी आउने गाडीका आवाज र हर्नलाई पचाएर हामी उभिएका छौँ घण्टाघरमुनि ।

“तिमीले यो घण्टाघरमुनि छाडेर गएपछि पनि म बाँचिरहेछु,” उसले बिनाकुनै सङ्कोच स्वाभाविक भएर भन्यो, “बाँच्नका लागि यहाँ सबैले सङ्घर्ष गरे । तर, मैले षड्यन्त्र रचेँ । हो, म अहिलेसम्म षड्यन्त्र रचेर बाँचिरहेछु ।” कुरो टुङ्ग्याएर ऊ गजबले हाँस्यो । “के फरक पर्यो त ?” मैले मन नलगाएरै जवाफ फर्काएँ । “ल तिमीले छाडेपछि म गाँजा तानेर लट्ठ भइनँ, विछोडको पीडाले मलाई पटक्कै छोएन, प्रिम्याचर फ्रस्टेसनको ओभरडोजले ग्रस्त भइनँ । मैले निद्रालाई मात्र आफ्नो ठानिनँ, जुन औसत प्रेमीहरू विछोडपछि ठान्छन् । तिम्रा चिठीहरू जलाएँ र खरानीमा बाँकी राखेँ सम्झनाहरू । अक्षरहरू टुक्राटुक्रा पारेर जोड्नै नसक्ने गरी भत्काइदिएँ ।” ऊ गम्भीर र दृढ वा कठोर भएजस्तो पनि गर्यो, “म आज यहाँ भेटिएँ, यो पनि मेरो गम्भीर षड्यन्त्र हो । वास्तवमा म तिमीसँग भेट्दै थिइनँ, अन्त जाँदै थिएँ ।”

ऊ एकनास बोलिरह्यो, “तिमीले छाडेपछि यहाँ धेरै भयो । घण्टाघर उल्टो घुम्यो । श्रीमतीद्वारा पालिएका पुरुषहरू प्रदर्शनीमा राखिए । डिस्कभरी अन्तरिक्ष पुगेर फर्कियो । पृथ्वीमा मङ्गलग्रहको जग्गा किनबेच थालनी भयो । ह्याचरी उद्योगमा कुखुराका चल्ला जन्माएजसरी टेस्टट्युबमा मान्छेका आकृतिका केटाकेटी जन्मन थाले र सबै आइमाई कुमारी रहन थाले । भ्रूण प्रत्यारोपण सफल भयो र साइनोको समस्या जन्मियो । कन्डमको जन्म भयो र वीर्यहरू आफ्नो स्वतन्त्रता खोसिएकोे विरोधमा उत्रिए । तिमीले छाडेपछि यहाँ विज्ञानले धेरै थोक गरिदियो ।”

मलाई खित्का छाडेर हाँस्न मन हुँदाहुँदै पनि हाँसिनँ । सोच्छु, मान्छेहरू मात्रै एक-एकवटा विम्ब हुन् । उनीहरूको अस्तित्व देखिएको सग्लो आभास मात्रै हो । मान्छेहरू आफैँले सिर्जना गरेका विम्ब बोकेर हिँडेका छन् । स-साना कम्पोनेन्टहरूलाई जोडेर बनाइएका स्ट्रेसिङ् अनुभूति लिएर बाँचेका छन् । घण्टाघरछेउमा अपरिचित दृश्यहरू चल्मलाउँछन् । मूर्दा बोकेका अपरिचित मान्छेका हूलहरू हिँड्छन् । नचाहेरै पनि म उसलाई सोध्छु, “कहाँ लगिँदैछन् यी लासहरू ?” “बिक्रीका लागि,” ऊ सजिलै जवाफ दिन्छ, “तिमीले मलाई छाडेपछि यी सबै भए । लासहरू थाना लगिन्छन् । लासहरू अदालत लगिन्छन् । लासहरू मन्त्रालय लगिन्छन् । लासहरू झन्डावाल गाडीमा पनि हिँड्छन् । अख्तियार, आयोग, अनुसन्धान केन्द्र, गुम्बा, दरबार सबैतिर लासहरू जान्छन् किनभने अचेल लासहरू बिक्री गरिन्छन् ।”

उसका अभ्यस्त कुरा सुनेर म दङ्ग हुुन्छु । अनौठा कुरा गर्ने यो मानिस अर्थात् जमुनाको प्रेमी अनौठो छ । सोध्छु, “महासय ! गलत मान्छेसँग तपाईं आफ्नो व्यस्त समय बर्बाद गरिरहनुभएको छ । माफ गर्नुहोला, म यहाँलाई चिन्दिनँ ।” “तिमी जमुना होइनौ ? सायद तिमी सतहबाट गहिराइमा गयौ र मलाई भुल्यौ । सबै मान्छेहरू गलत छन् । कोही सही होइनन् । आफूलाई सही भन्नेहरू सबैभन्दा बढी गलत हुन् । जमुना ! तिमीसँग भेट गर्न पाएकोमा म खुसी छु । थाहा छैन किन हो तिमीलाई म गलतहरूबीच पनि सही देख्छु,” यति भनेर ऊ मोडपट्टि लाग्यो । फेरि केही सम्झेझैँ गरेर फर्कियो र भन्यो, “तिमीले मलाई बिर्सियौ ? ठीक गर्यौ । सबैलाई सम्भिmनुहुन्न । तर, सम्झने कोसिस गर्नु । म तिम्रो उही पुरानो प्रेमी, पदम ।”

“महासय माफ गर्नुस् । म जमुना होइन । तपाई उस्तै अनुहार देखेर झुक्किनुभयो । म जमुनाको क्लोन हुँ । उस्तै, दुरुस्तै उस्तै । यो सब विज्ञानले गरेको प्रगति हो । अघि तिमीले भनेजस्तै जसरी टेस्टट्युबमा वीर्य र डिम्ब घोलेर भ्रुण बने, जसरी एउटाको गर्भबाट अर्कोको गर्भमा भ्रूण प्रत्यारोपण गर्न वैज्ञानिकहरू सफल भए । त्यसैगरी विज्ञानको अर्को सफलता हुँ म, क्लोन । म ठ्याक्कै अर्कोको प्रतिरूपमा जन्मिएको हुन्छु । र, धेरैलाई भ्रम दिन सफल हुन्छु । जस्तो अहिले म तपाईंकी जमुना भइदिएँ ।”

उसको निधारका धर्साहरूको खुम्च्याइले ऊ अलमलमा परेर अस्पष्ट भएको प्रस्ट हुन्थ्यो । उसले एकटकले मलाई हेरिरह्यो, शिरदेखि पाउसम्म । नितम्ब, स्तन, ओइलाउँदो अनुहारको चमक सबै-सबै उसले गाढा तरिकाले हेर्यो । त्यसपछि घण्टाघरमुनि उसले आफ्नो हातको पुरानो घडी हेर्यो, घण्टाघर र उसको घडीमा समय बराबर थियो । उसले सायद यस्तै सोच्यो, घडी घुम्यो र फेरि उल्टो घुम्यो । त्यसपछि उसले न प्रतिक्रिया दियो, न त मेरो कुनै प्रतिक्रियाको प्रतीक्षा गर्यो । घण्टाघरमुनिबाट ऊ फटाफट जन्डिस लागेका सूर्य अस्ताएपट्टि लाग्यो । जहाँबाट सबेरै बेपत्ता भएको नीलो अँध्यारो फेरि घण्टाघरपट्टि आउँदै थियो ।

नेपाल साप्ताहिक
अंक १६९

1 thought on “स्वास्नी हुन नसकेकी प्रेमिका”

Leave a Reply

Your email address will not be published. Required fields are marked *