Skip to content

लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अर्न्तर्तरङ्ग बुझन
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु

अरूका मनका भारीले थिचेर
आजकल मलाई मेरो अस्मिताभन्दा
अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ
भन्छन्
धेरै जनाले तिमीमाथि आँखा लगाएका छन् भने
तिमी अपरिचित आँखाहरूका बाढीमा बगेका हुन्छौ
भन्छन्
सबैका मनहरू लिएर हिंड्छौ भने
तिमी समयका पुराना बस्ती खोजेर
तिनीहरूलाई बिसाउने ठाउँ हेरिरहेका हुन्छौं
इतिहास यसरी नै बनिएको हो भन्छन्
मनहरूका बाढीमा कसैलाई धकेलिदिएर
कसैले चम्किला आँखाले सीधा हेरेर
एउटा पीडा देखियो भने
कहीं केही बलियो रचना भत्किन्छ
कोही दुःखले मनभित्रको खण्डहर देखाएर उठ्यो भने
त्रि्रो मनभरि नै भैंचालो जान्छ
लाग्छ त्यसैले
मान्छेको समय कुइरोजस्तै
सबैको मन छोएर उडेको हुन्छ
कहिलेकहीं लाग्छ
हिजोको जस्तो बिहानीर्
दर्जनौं कुखुराहरू बासे पनि खुल्दैन
लाग्छ हिजोको जस्तो साँझ
हजार चराहरूले झुम्मिएर सहगान गरे पनि
आकाशभरि आरेखित हुँदैन
त्यसैले हिजोआज
आफ्नै स-साना बिहानीहरू
अक्षरमा कोरेर
कागजको मैदानभरि छरिदिन्छु
साँझहरू समातेर
कविताका क्षितिजभरि टाँगिदिन्छु
जिन्दगी भनेको
पहाडमाथि चढिसकेर
कठै फेदीमा सम्झनाहरू छोडिए भन्ने
एउटा लामो सुस्केरा मात्र रहेछ !
शहरमा पसेको यति धेरै भयो
यहाँ अनेकौं समय
पुराना घर र गल्लीहरू
अनि देवालय र गुम्बाहरूका खण्डहरमा
लडेर घाइतेजस्तै छट्पटाएको देखेको छु
अनि
मन र चाहनाहरूका पनि
खण्डहर हुँदारहेछन्
जहाँ मान्छे
आफ्नै शहीद दिवस एकल गायन गरेर मनाउँदोरहेछ
एक्लै उद्घोषण गर्दोरहेछ
अनि हतियारहरूमा
त्यस कथालाई लुकाउँदो रहेछ
यहाँ हिजोआज
यात्राहरूका गन्तव्य छैनन्
कोही बिपनाको बाटो गरेर
घोर सपनाभित्र पस्छ
कोही काँधमा उज्यालो बोकेर
अँध्यारो खोज्दै हिंड्छ
सपनाहरू भत्किन्छन्
बिपनाहरू क्षतविक्षत हुन्छन्
छेवैबाट उडेका गोलीको आवाजमा
एउटा किशोर आफूले घरमा छोडेको सङ्गीत सुन्छ
झुट खेल्नेहरूका अभिनय
साँचो खेल भएका छन्
तिनलाई हेरेर
म आफैं भीड किनारामा
मन नपराए पनि
बा ! बा ! गर्दै ताली बजाएर उभिएको हुन्छु
समयको कानमा
मेरी ताली सुनिंदैन
मेरो र्समर्थन र विरोधले
कुनै पनि खेलको हारजीत हुँदैन
आफ्ना सबै कथा कोरेर
एउटा रङ्गमञ्चमा उभ्याउँछु
कथा खोजेर आउनेलाई पर्खेर
कपडामा तन्त्र आलिङ्गनमा बाँधिएका
आकाश भैरवका नाच फैलाएर कसैलाई पर्खिएर बस्छु
संस्कृति भनेको
कहिले लाग्छ
मेरै सपनाको खेती हो कि
आफूले देखेको समयमा
केही बनाउने चाहनाले
आफैंले टाँगेको सानो आकाश हो कि –
संस्कृति
म हिजोआज
अघि नै छोडेका कुनाकानी
अहिले हिंडेका यी गोरेटाहरू
सबैलाई एउटै कुनै आकार दिन खोजिरहेको हुन्छु
मलाई आजकल
अरूको मनका खण्डहरबाट
केही रचना उठाउने चाहनाले पिरोल्छ
हिजोआज म
आफ्नो आकाश अरूलाई दिएर
कहीं केही बनियोस् भन्ने चाहनाले पिरोलिएको छु
तर लाग्छ
दौडभित्र कहीं चौतारी छन्
कहीं आफ्नै यात्रामा
अरूका आँखाहरूसँगै कुद्छन्
मलाई आजकल
कहीं चढ्दा
उचाइले पिरोल्दैन
झर्दा फेदीको चिन्ताले छुँदैन
आजकल मलाई
थकित आकाशले र्स्पर्श गर्दा
कहीं जानै पर्ने चिन्ताको उज्यालोले पनि लखेट्दैन
आजकल मलाई !

1 thought on “आजकल मलाई”

  1. सुन्दर कविता
    हाम्रा गुरु अभि सुबेदीका कविताहरु सशक्त हुन्छन्। विचार, दर्शन, भावभूमि, विश्व चेतना, समाज, जीवन, ब्यक्तिको कलेबर हुन्छन्। सिक्दैछु। यात्रा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *