Skip to content

इन्द्रजात्राका किंवदन्ती

  • by


परम्परागत रूपमा मनाइने जात्रा, पर्व र उत्सवहरूमध्ये इन्द्रजात्रा जात्राका रूपमा मनाइने प्रसिद्ध पर्व हो । विशेषगरी नेवारले यो पर्वलाई धुमधामसँग मनाउने गर्छन् ।

अन्य सहरका तुलनामा काठमाडौँ सहरमा यो पर्वविशेष उत्सव र खुसियालीसाथ मनाइन्छ । स्वर्गका राजा इन्द्रसँग सम्बन्धित जात्राको प्रदर्शनी गरिने भएकाले यस पर्वलाई इन्द्रजात्रा भनी नामकरण गरिएको हो । काठमाडौँ उपत्यकाका आदिवासीका रूपमा मानिएका नेवारहरूकै विशेष अग्रसरता र तत्त्वावधानमा लिच्छवि वंशका राजाहरूको शासनकालदेखि नै इन्द्रजात्रा सञ्चालनमा ल्याइएको विश्वास गरिन्छ ।

इन्द्रजात्रालाई नेवारीमा ‘ययाँ पुन्ही’ भनिन्छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म सप्ताहव्यापी रूपमा यो पर्व हषर्ाेल्लासपूर्वक मनाइन्छ । किंवदन्तीअनुसार यो पर्व औपचारिक रूपमा मनाउने चलन लिच्छवि राजा गुणकामदेवले सुरु गरेका हुन् । पौराणिक कथनअनुसार इन्द्रले आफ्ना भक्तहरूलाई उपहारस्वरूप प्रदान गरेको लींगोलाई भुइँमा गाडेपछि यो पर्वको शुभारम्भ भएको मानिन्छ । यसरी गाडिएको लींगोमा भगवान् इन्द्रको शक्ति रहेको विश्वास गरिन्छ । इन्द्रले विभिन्न दैत्यहरूको वध गर्ने क्रममा प्रयोगमा ल्याएको लींगोबाट शक्ति प्राप्त हुन्छ भन्ने विश्वासका आधारमा भगवान् इन्द्रको सम्झना गर्दै उक्त लींगोको पूजा गरिन्छ ।

एक ऐतिहासिक मान्यताअनुसार लिच्छविकालीन समयमा नेपालमा आइपरेको ठूलो संकट भगवान् इन्द्रको पूजा गरीे टारिएको थियो । त्यसपछि देशमा वर्षभरि हुनसक्ने संकट निवारण गर्ने पवित्रोद्देश्यका साथ यो पर्व मनाउने परम्पराले निरन्तरता पाइरहेको छ । हिन्दु धर्मको धार्मिक मान्यताअनुसार भगवान् विष्णुका दस अवतारमध्ये वामन अवतार एक हो । भाद्र शुक्ल द्वादशीका दिन धर्तीभरि मौलाएको अन्याय, अत्याचारलगायतका अन्य दानवीकृत व्यवहारको समूल नष्ट गर्नका लागि भगवान् विष्णुले वामन अवतार धारण गरेका कारण यस दिनलाई वामनद्वादशी पनि भनिन्छ । इन्द्रजात्राको सुअवसर पारेर काठमाडौँ दरबार डबलीमा भगवान् विष्णुका दसै अवतारको नृत्य प्रस्तुत गर्ने चलन छ ।

भाद्र शुक्ल द्वादशीकै तिथि पारेर हनुमान ढोकाको कालभैरव मन्दिरअगाडि काठमाडौँ उपत्यकाका नेवार जातिमध्ये एक मानन्धरले विधिपूर्वक लिंगो ठड्याउने काम गर्छन् । परापूर्वकालमा भगवान् इन्द्र र दैत्यहरूका बीच घमासान युद्ध हुँदा इन्द्रले ती दैत्यहरूमाथि दिग्विजय हासिल गरेको खुसियालीमा त्यही विजयको प्रतीकका रूपमा लिंगो ठड्याउने गरिएको किंवदन्ती छ । त्यसै लिंगोलाई इन्द्रको झन्डाको प्रतीकका रूपमा पनि सम्मान गर्ने प्रचलन छ । लिंगो ठड्याउने संस्कार सम्पन्न गर्ने क्रममा बाजागाजा बजाउने चलनको पनि उत्तिकै महत्त्व छ । यसरी ठड्याइने लिंगो काभ्रेको सल्लाघारीबाट बोकेर ल्याइन्छ ।

यस दिन नेवारहरूले आफ्ना मृतकको सम्झना गर्दै स्वर्गीय आत्माका चिरशान्तिको कामना गर्दै पुण्यवृद्धिका लागि विभिन्न देवस्थलमा धुपदीप तथा नैवेद्य समर्पण गरी देवपूजन कार्य पनि सम्पन्न गर्छन् । इन्द्रजात्राका अवसरमा भैरव, गणेश र कुमारीको रथयात्रा गर्ने प्रचलन अद्यापि जीवित छ । चतुर्दशीका दिन पाञ्चांगिक मान्यताअनुसार हनुमानढोकाको घरबाट साइत जुराएर कुमारीको रथलाई सिँगारी टोल परिक्रमा गराइन्छ । यसरी भगवान्हरूका मूर्तिलाई सिँगार्ने क्रममा क्रमशः गणेश, कुमारी र भैरवलाई रथमा राखेर उपस्थित जात्रालुसमक्ष्ा प्रदर्शन गरिन्छ । इन्द्रजात्रामा नेवारको उपस्थिति अत्यधिक देखिन्छ । यसलाई नेवार जातिको पर्वका रूपमा लिइए पनि जात्रादर्शनका लागि अन्य जातिका मानिसको पनि ठूलै घुइँचो लाग्ने गर्छ । यस दिन हनुमान ढोकावरिपरिको परिसरमा ठेलमठेल घुइँचो हुन्छ । श्रद्धालु भक्तजनहरू समूहसमूहमा विभाजित भई गीत गाउने र नाच्न व्यस्त हुन्छन् ।

आधुनिक नेपालका रचनाकार पृथ्वीनारायण शाहले इन्द्रजात्राकै अवसर पारेर काठमाडौँ उपत्यकालाई आफ्नो नियन्त्रणमा लिएका थिए । लगातार तीनपटकसम्मको तीतोे पराजय भोगेका पृथ्वीनारायण शाहले उपत्यकाबासी इन्द्रजात्राको रमाइलोमा चुर्लम्म डुबिरहेको मौका छोपेर काठमाडौँमाथि आक्रमण गरेका थिए । यस घटनाबाट पनि इन्द्रजात्राका दिन मानिसहरू जात्राप्रति कति मन्त्रमुग्ध हुँदा रहेछन् भन्ने कुरा प्रमाणित हुन्छ ।

2009-09-03

Leave a Reply

Your email address will not be published. Required fields are marked *