अग्निशिखा एकजना समर्पित लेखक एवम् पार्टीप्रति प्रतिबद्ध पत्रकार हुनुहुन्थ्यो । उहाँका बारेमा मैले भूमिगत काल खासगरी २०४० सालतिरै सुनेको थिएँ । मुख्यतः शार्दूल भट्टराई र उहाँ निरङ्कुश पञ्चायती कालको कष्टकर समयमा पार्टीका प्रकाशनहरूको तयारी र सम्पादन कार्यमा संलग्न हुनुभएको थियो । ‘पिस्कर ः दमन र प्रतिरोधको कथा’ र ‘वर्गसङ्घर्ष’ को प्रकाशन त्यतिबेला काठमाडौँबाटै गर्नु निकै जोखिमपूर्ण र असम्भवजस्तै थियो । तर, उहाँहरूसमेतका कारण जतिसुकै कठिन भए पनि ती काम पार्टीले सफलतापूर्वक सम्पादन गर्न सकेको थियो ।
०४६ को ऐतिहासिक संयुक्त जनआन्दोलनपछि हामी खुला भयौँ । नयाँ परिवेशमा एक-अर्कालाई चिन्न र प्रत्यक्ष भेट्न सहज भयो । मैले यकिन रूपमा त भन्न सक्दिनँ तर उहाँसँग खुला भइसकेपछि नै मेरो प्रत्यक्ष भेट र कुराकानी भयो । त्यो भेट पार्टी प्रकाशनकै कामको सन्दर्भमा भएको थियो । म पार्टीको प्रचार विभाग प्रमुख रहेको स्थितिमा सम्भवतः ‘दृष्टि’ साप्ताहिकको कामका सिलसिलामा भेट भएको हुनुपर्छ । मितिचाहिँ बिर्सें ।
पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा सरिसकेपछि, पछिल्लो अवधिमा मूलतः उहाँ पार्टीको प्रचार विभागमा पूर्णकालीन रहनुभएका बेला जब म उहाँलाई भेट्थेँ, उहाँ सधैँ सौम्य मुद्रामा रहेको पाउँथें । अभिवादन आदान-प्रदान गरे पनि धेरै कुराकानी गर्ने उहाँको स्वभाव थिएन । तर, उहाँले कैयौँ भेटमा पार्टी र क्रान्तिका बारेमा निकै गहन जिज्ञासा राख्नुहुन्थ्यो । ती सन्दर्भहरूले मलाई विशेष रूपमा उहाँको स्मृति गराइरहन्छन् । त्यसैले, एकजना भद्र र शालीन अग्निशिखा, हामी कसैका निम्ति आँखामा राखेर नबिझाउने व्यक्तित्वका रूपमा स्मरणीय हुनुहुन्छ ।
अनेरास्ववियुको १९ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनका सिलसिलामा म पोखरा पुगेको थिएँ । ०६५ असोज ६ गते बिहान उज्यालो हुँदा-नहुँदै एउटा असाध्यै दुःखद खबरका रूपमा हामीले उहाँको निधन भएको जानकारी पायौँ । उहाँजस्तो असल र क्रान्तिकारीको अनायासै निधन भएको समाचार पत्याउनै गाह्रो भयो । तर, सत्य त्यही थियो । भौतिक रूपमा उहाँ सबैबाट बिदा हुनुभएको थियो । ‘उहाँको असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध भएको तथा पार्टीले एकजना असल, इमानदार र निष्ठावान् सदस्य तथा देशले एक न्यायप्रेमी कलमयोद्धा गुमाएको’ शोक वक्तव्य पार्टीका तर्फबाट महासचिवका हैसियतले मेरो नाममा जारी भयो ।
म पोखराबाट काठमाडौँ फर्कें र उहाँको श्रद्धाञ्जलिका निम्ति केन्द्रीय कार्यालयको प्राङ्गणमा राखिएको शवमा पुष्पार्पण गरेँ । उहाँलाई अन्तिम रूपमा त्यहीँ देखेँ, अभिवादन गरेँ र हार्दिक श्रद्धाञ्जलि एवम् सम्मान पनि व्यक्त गरेँ । सम्भवतः दसौं दिन हुनुपर्छ, म उहाँका परिवारजनमा समवेदना प्रकट गर्न कपन-३ स्थित उहाँको घरमा पुगेँ ।
हामीले उहाँका योगदानहरूको बारेमा पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा चर्चा र समीक्षा पनि गर्यौँ । यसरी सबैका प्रिय अग्निशिखा अब स्मरणीय व्यक्तित्व हुनुभयो । मृत्युले उहाँलाई जित्यो, उहाँको त्यो असामयिक देहावसान वास्तवमा एउटा ज्यादै दुःखद र पीडादायी घटना थियो । निश्चय नै, उहाँको निधन मुलुकको कम्युनिस्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति हो । यो कुरा उहाँलाई भौतिक रूपमा पाउन नसक्दा हामीले असाध्यै गहिरोसँग अनुभव गरिरहेका छौँ ।
समय बितेको पत्तै हुँदैन । उहाँको निधन भएको एक वर्ष पुगिसकेछ । प्रचार विभागले उहाँको स्मृतिमा केही लेख्न घच्घच्याउँदा पो थाहा भयो । मलाई लाग्छ- अग्निशिखाजस्ता योद्धाहरूको स्मृतिलाई ताजा र चिरस्थायी बनाउने रचनात्मक प्रयत्नहरू निरन्तर अघि बढाउनुपर्छ । त्यसका निम्ति उहाँको व्यक्तित्वका बहुआयामिक पक्ष र उहाँका योगदानहरूलाई उचित रूपमा संयोजन गरेर सिङ्गो पार्टी पङ्क्तिलाई दीक्षित गर्नुपर्छ । त्यसनिम्ति उहाँको व्यक्तित्वका निम्न पक्षहरूलाई विशेष रूपमा अध्ययन र मनन गरिनुपर्छ ः पहिलो, लगनशीलता । आफ्नो काम र जिम्मेवारी पूरा गर्न लगातार लागिपर्ने, निरन्तर अध्ययन, चिन्तन र मनन गर्ने उहाँको विशेष स्वभाव थियो । त्यही लगनशील स्वभाव र शैलीका कारण नै सुकदेव नेपाल अग्निशिखाका रूपमा स्थापित र प्रिय हुनुभएको हो भन्दा फरक पर्दैन ।
दोस्रो, अध्ययनशील व्यक्तित्व । यो उहाँको मुख्य गुण थियो । देश-विदेशका घटनाक्रमहरूको स-सन्दर्भ गहिरो गरी अध्ययन र विश्लेषणमा निरन्तर लागिपर्न, नेपाली साहित्यका विविध विधामा कलम चलाउन र नेपाली पत्रकारितामा जीवनपर्यन्त क्रियाशील रहन उहाँलाई त्यही अध्ययनशील स्वभावले प्रेरित गरेको थियो । फलतः उहाँ एकजना अन्वेषक र विश्लेषकका रूपमा चर्चित हुनुभयो । साथै, उहाँले विश्व-मामिलासँग सम्बन्धित झन्डै आधा दर्जन कृतिहरूको लेखन र विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको जीवनी आदिको अन्वेषण गर्न सक्नुभयो ।
तेस्रो, अनुशासित र सौम्य क्रान्तिधर्मी । एकजना लेखकका निम्ति स्वतन्त्र परिवेश र वातावरण अनिवार्य हुन्छ । तर, स्वतन्त्रता सीमाहीन हुँदैन । अनुशासन र स्वतन्त्रता परस्परमा अन्योन्याश्रति रहेका हुन्छन् । अग्निशिखाको व्यक्तित्वमा यी दुवै चिजको बडो गजबसँग संयोजन मिलेको थियो । उहाँलाई अनुशासनको उल्लङ्घन कहिल्यै सैह्य भएन । आफूलाई चित्त नबुझेका कैयौँ विषयमा उहाँले कहिल्यै सार्वजनिक वादविवाद गर्नुभएन । उहाँले सदैव पद्धतिसम्मत ढङ्गले बहस-छलफल चलाउनुपर्नेमा जोड दिनुभयो । तर आफू स्वयम् भने कुनै विवाद- बहसमा भाग लिन रुचि नराख्ने उहाँको विशेष स्वभाव थियो । पद्धति मिच्ने, अनुशासनहीन बन्ने र अराजकता मच्चाउन खोज्नेहरूलाई उहाँ कहिल्यै पनि मन पराउनुहुन्नथ्यो । यसरी उहाँ एकजना अत्यन्तै अनुशासित र सौम्य क्रान्तिधर्मी हुनुहुन्थ्यो ।
चौथो, क्रान्तिप्रति प्रतिबद्ध । अग्निशिखाका निम्ति क्रान्ति असाध्यै प्रिय स्वप्न थियो । उहाँ विश्वभरिका क्रान्ति र तिनमा भूमिका खेल्ने क्रान्तिकारी योद्धाहरूका सम्बन्धमा गहिरो अध्ययन र जानकारी राख्ने, क्रान्तिको पक्षमा तिनलाई दृष्टान्तका रूपमा प्रस्तुत गरिरहने/लेखिरहने र क्रान्तिप्रतिको प्रतिबद्धता अटुट रूपमा व्यक्त गरिरहने क्रान्तिधर्मी लेखक हुनुहुन्थ्यो । त्यसैले त उहाँलाई पढ्दा लाग्छ- उहाँ सबथोक त्याग गर्न सक्नुहुन्थ्यो । तर, क्रान्तिकारी स्वप्न, आदर्श र निष्ठायुक्त प्रतिबद्धतामा कुनै प्रकारको कमी आउन नदिन सचेत हुनुहुन्थ्यो । त्यस्ता सचेत र प्रतिबद्ध क्रान्तिधर्मीहरू बिरलै पाइन्छन् ।
पाँचौँ, सिद्धान्तनिष्ठता । एकजना माक्र्सवादी लेखक, साहित्यकार र पत्रकारका रूपमा अग्निशिखा असाध्यै निष्ठावान् हुनुहुन्थ्यो । पार्टीप्रतिको उहाँको निष्ठा वास्तवमा सिद्धान्तप्रतिको त्यही निःसर्त निष्ठाको अभिव्यक्ति थियो । मुख्यतः पार्टीको नीति, कार्यक्रम र कार्यदिशाअनुरूप नै उहाँ बाँचुञ्जेल क्रियाशील हुनुभयो । र, अग्निशिखाका रूपमा आफ्नो पहिचान र अलग परिचय बनाएर बिदा हुनुभयो । यो कुरा उहाँको सिद्धान्तनिष्ठता र तनदुरूपको व्यवहारकै प्रतिफल थियो । सिद्धान्तको प्रश्नमा सधैँ अविचल रहेर उहाँले आफूलाई समर्पित गर्नुभयो, चाहे जतिसुकै कठिनाइ, अभाव र समस्या भोग्नु नपरोस् । आफ्नो आस्था, निष्ठा र सिद्धान्तबाट उहाँ कहिल्यै डगमगाउनुभएन । बरु, आमनागरिकहरूलाई त्यसका निम्ति अविचल बन्न प्रेरित गर्नुभयो । उहाँका साहित्यिक, व्यक्तित्वप्रधान र विश्व मामलासम्बन्धी प्रकाशित कृतिहरू यसका खास दृष्टान्त रहेका छन् ।
उहाँजस्तै हजारौँ-हजार नेता-कार्यकर्ताको त्याग, तपस्या र बलिदानको जगमा नै हाम्रो गौरवमयी पार्टी स्थापित र विकसित हुँदै यहाँसम्म आइपुग्न सकेको हो । र, उहाँजस्ता क्रान्तिकारी लेखकका सद्गुणहरूबाट सिक्दै, प्रेरित हुँदै र अघि बढ्दै यो पार्टीलाई अझ बलियो, सुदृढ र गतिशील बनाउन सम्भव हुनेछ । क्रान्तिधर्मी लेखक अग्निशिखाप्रति भावपूर्ण श्रद्धाञ्जलि !
लेखक नेकपा एमालेका अध्यक्ष हुन् ।
भाद्र २७ २०६६
