Skip to content

ब्रह्मनालमा लमतन्न सिकिस्त बिरामी कुरेर
बारम्बार वैद्यबाको मुखमुद्रातिर आशे नजरले हेरेर
आश अर्थात् सास छ कि छैन भन्ने प्रश्नको उत्तर पर्खेर
बिरामीको मुखमा केही थोपा गङ्गाजल छर्केर
प्रतीक्षारत एक हूल निरास कुरुवाहरूतिर फर्केर
अँध्यारोमा कालीगण्डकीमा शालिग्राम खोजेझैँ

बिरामीको नाडी छाम्दै
भित्तेघडीको लामो लङ्गुर हल्लिएझँै
देब्रे-दाहिने दुवैतिर एकनासले
जता पनि अर्थ मिल्ने गरी
हल्लाइरहेछ आफ्नो रहस्यमय टाउको
आर्यघाटको वैद्यबा अर्थात् घाटेवैद्य
जो
बिरामी मरिहाल्यो भने
स्वर दबाएर झोक्रिन्छ-
“मैले अघि भनेकै थिएँ नि बिरामी बाँच्दै बाँच्दैन ।”
र, कथम्कदाचित बिरामी बाँचिहाल्यो भने
घोक्रो फुलाएर डुक्रिन्छ-
“मैले अघि भनेकै थिएँ नि बिरामी मर्दै मर्दैन !”

जुनेली साँझ बगैँचाको माझ
मेरी सानी छोरी चिसो चाँदनी नियाल्दै
फक्रिएको मलीन पारिजातको थुँगा टिप्छे
र, एउटा यक्ष प्रश्नको छिटा मतिर छेप्छे-
“बाबा ! अचेल साँच्चि
पूर्णेको जूनबाट मुस्कान
र फक्रेको फूलबाट सुवास
हराएको हो ?
कि हरिएको हो ??”

सानी छोरीको निर्दोष सवालको जवाफमा
म पनि
त्यसरी नै टाउको हल्लाइरहेछु
जसरी आर्यघाटको घाटेवैद्य हल्लाउने गर्छ ।

नेपाल साप्ताहिक
अंक १४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *