Skip to content

तिमी जब छिर्यौ सरकारमा
तिमीलाई ‘रैतीहरू’ले नचाहे पनि
नमस्कार गरे ‘मन्त्री’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, कवितामा तिमी मिथक निरंकुशताको अब ।

के के गरेर धन दौलत कमायौ
र यो बस्तीका ‘गरीबहरू’ले तिमीलाई
नचाहे पनि सलाम गरे ‘साहू’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, नाटकमा कूपात्र तिमी अब ।

उद्योग खोलेपछि तिमीलाई ‘मजदुर’ले
नचाहे पनि ढोगे ‘मालिक’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी भिलेन सिनेमाको अब ।

जब तिमीले दियौ सहयोग
‘अशक्तहरू’ले नचाहे पनि तिमीलाई
दण्डवत् गरे ‘दाता’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी पीडादायी गेडा गीतको अब ।

अनेक तिकडमले तिमी ‘न्यायाधीश’ भयौ
र ‘अन्याय’मा परेकाले
तिमीलाई धूप बाले न्यायमूर्तिका रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी ठग देवता सत्यकथाको अब ।

नेपाल साप्ताहिक ३६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *