तिमी जब छिर्यौ सरकारमा
तिमीलाई ‘रैतीहरू’ले नचाहे पनि
नमस्कार गरे ‘मन्त्री’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, कवितामा तिमी मिथक निरंकुशताको अब ।
के के गरेर धन दौलत कमायौ
र यो बस्तीका ‘गरीबहरू’ले तिमीलाई
नचाहे पनि सलाम गरे ‘साहू’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, नाटकमा कूपात्र तिमी अब ।
उद्योग खोलेपछि तिमीलाई ‘मजदुर’ले
नचाहे पनि ढोगे ‘मालिक’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी भिलेन सिनेमाको अब ।
जब तिमीले दियौ सहयोग
‘अशक्तहरू’ले नचाहे पनि तिमीलाई
दण्डवत् गरे ‘दाता’का रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी पीडादायी गेडा गीतको अब ।
अनेक तिकडमले तिमी ‘न्यायाधीश’ भयौ
र ‘अन्याय’मा परेकाले
तिमीलाई धूप बाले न्यायमूर्तिका रूपमा
ठीकै हो, अब तिमी ‘मानिस’ जो रहेनौ …
हो, तिमी ठग देवता सत्यकथाको अब ।
नेपाल साप्ताहिक ३६६
