Skip to content


गोविन्द दाइ, तपाईँले नेपाली कथा साहित्यलाई मनोवैज्ञानिक रूप प्रदान गर्ने काम निकै सहज ढङ्गले सम्पन्न गर्नु भएको सन्दर्भ समालोचकहरूले राम्ररी अगि सारेका छन् । विश्वेश्वरप्रसाद कोइरालाको लेखनबाट आधुनिक कथा साहित्यमा मनोवैज्ञानिक परम्परा र मानवीय अन्तर्मनको सँरचनालाई विश्लेषण गरेर आख्यान सिर्जना गर्ने काम आरम्भ भएको कुरा पनि नेपाली समालोचनाको सन्दर्भमा प्रस्तुत गरेका छन् । तपाईँले किशोर अवस्थामा नै कथा लेख्ने काम आरम्भ गर्नु भएको छ । यसो हुनमा धेरै ओटा कारणहरू पहिल्याउने गरेको पाइन्छ । धेरै कारण प्रस्तुत गर्नमा पनि निकै दम रहेको छ ।

तपाईँको पहिलो कथासङ्ग्रह कथासङ्ग्रह शीर्षकमा २००४ सालमा प्रकाशित हुँदा निकै अचम्मको घटनाको रूपमा लिइएको थियो । एउटै लेखकको यो पहिलो सङ्ग्रह थियो । १९९५ सालमा सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा प्रकाशित कथा कुसुमले एकाधिकार जमाइरहेका समयमा कथासङ्ग्रह आउनु आफैंमा ऐतिहासिक महत्त्वको विषय बनेको थियो । विश्वेश्वरप्रसाद कोइरालाको कथा सिर्जनाको ५ र ७ वर्षका अन्तरालमा मात्र कथा लेखनको आरम्भ गरेका भिक्षुको लेखनभन्दा दुई वर्षपछि कथा सिर्जनामा प्रवृत्त भएका तपाईँको लेखनले आधुनिक नेपाली कथाको मनोवैज्ञानिक लेखनको इतिहासलाई नवीन मोड दिने किसिमको काम तपाईँबाट भएको कुरा नै समालोचकहरूले मान्दै आएका छन् । १९९७ सालदेखि कथाको प्रकाशन आरम्भ गरेका तपाईँको कथा लेखन कार्य २००७ पछिको समयमा नाटक र उपन्यासको सिर्जनातिर पनि मोडिएको तथ्य तपाईँको सिर्जनाले पुष्टि गर्दछ ।

तपाईँलाई निरन्तर साधनामा लीन स्रष्टाका रूपमा चिनिने लेखक हुन् भनेर चर्चा गरेको सुनिन्छ । त्यो त हो पनि नि दाइ, त्यसो त तपाईँले वातावरण पनि अनुकूल नै पाउनु भएको हो नि, तपाईँका बाबा ऋद्धिबहादुर मल्लले पारिवारिक वातावरणलाई पनि त साहित्यमय बनाउनु भएको थियो होइन र ? राणा शासनको कठोर वातावरणमा शारदा मासिक पत्रिकाको प्रकाशन आरम्भ गर्नु कम साहसिक कुरा थिएन । नेपाली साहित्यको समग्र विधाहरूका आधुनिक कालको सुरुआत गर्नमा तपाईँका बाबाको महत्त्वपूर्ण योगदान रहेको छ । तपाईँका बाबाको सम्पादनमा प्रकाशित उक्त पत्रिकाले गुरुप्रसाद मैनाली, पुष्कर समसेर राणा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, भीमनिधि तिवारीजस्ता कथाकारलाई आधुनिक नेपाली कथाका प्रवर्तक बनाई दियो । भवानी भिक्षु र तपाईँलाई आधुनिक नेपाली कथाको सन्दर्भमा दोस्रो मोड प्रवर्तन गर्ने र विश्वेश्वरप्रसाद कोइरालाको कथा सिर्जनाको मनोवैज्ञानिक परम्परालाई नयाँ गति दिने कथाकारका रूपमा तपाईँलाई लिने गरिन्छ । समालोचकहरू नै जानुन् यस्ता कुराहरू । मलाई त के मात्र थाहा छ भने तपाईँ मान्छेका मनका कुनाकानी केलाएर पाठक समक्ष राखिदिने कथाकार हुनुहुन्छ, होइन र दाइ ।

म पनि किन एकोहोरो फत्फत् गरिरहेको होला, आजै त हो दाइ, तपाईँ त बिती सक्नु भयो भनेर समाचार प्रसारण भएको । म पनि कस्तो हुस्सु मान्छे होला । कुरा गर्न पनि गाह्रो हो कि दाइ, तपाईँले मुलुकमा प्रजातन्त्रको स्थापनाका निम्ति बौद्धिक र भौतिक दुवै सङ्घर्ष गर्नु भयो । कुनै एउटा पार्टीको प्रजातन्त्र थिएन, त्यो सङ्घर्ष, तपाईँको ‘कथासङ्ग्रह’ सबैको कथा बनेजस्तै । हिजोआज त साहित्यकार मात्र भएर पुग्दैन त दाइ, अस्ति मात्र मेरा एक जना मित्रले मलाई भन्नु भयो- माओवादीले सम्पादन गरेका समालोचना सङ्ग्रहमा मेरो समालोचना समावेश भएको देेखेपछि अनौठो लागेछ । साहित्यकारहरू पनि अब सबै पार्टीका अलगअलग हुन्छन् भन्ने लागेछ, उहाँलाई । त्यसैले भन्नु भएको रहेछ-तपाईँ त माओवादी पार्टीको नजिक हुनुहुन्छ कि कसो ? मलाई अनौठो लागेन त्यो पनि, किन भने जति पसल खुल्छन्, ग्राहक पनि त त्यत्तिकै बढ्छन् नि । पार्टीको सानो काउन्टर खुल्न पाएकै छैन दुईचार जनाहरू लाइन लागी हाल्छन् । त्यो आस्थाको सँस्कृति बोकेका वर्तमानका राजनीति चिन्तकहरूले भनेको कुरा पत्याइहाल्ने बानी मसँग बसिहालेको छैन दाइ, मैले तपाईँलाई चिनेको हो पल्लो घरको झ्याल (२०१६)उपन्यासपछि । तपाईँलाई चिन्ने मेरो अवस्था पनि त त्यस्तो अनुकूल किसिमको खालको रहेन । तपाईँलाई दाइ भनेर सम्बोधन गरी रहँदा भित्र कताकता लाज पनि लागेर आइरहेको छ । तपाईँ त मेरी आमाको जन्म सालकै व्यक्ति पो त । साहित्यको परिचयमा प्राप्त एउटा घनिष्ठताको कारण बाहेक मसँग कुनै अर्को हैसियत नै छैन, दाजु शब्दबाट सम्बोधन गर्नलाई । हिजो-आजको राजनीतिक सँस्कृतिमा नाभि ओइलाई नसकेका छाउराहरू सुशील दाइ भनी दिन्छन्, झलनाथ दाइ भनी दिन्छन् । नेताहरू चाहिँ चाकमा छाउराले कन्याई दिएको ठानी आनन्द मानी दिन्छन् । तपाईँलाई दाइ भनी रहँदा म यी सबै सन्दर्भहरू सम्झि रहेको छु ।

तपाईँको कथैकथा(२०१८) पनि पढ्नै पर्यो । तपाईर्ँका कतिपय कथा निकै लामा पनि हुन्छन् भनेर टिप्पणी गरेको पाइन्छ । कथाको परिवृत्त अलिक लामो लिने बानी चाहिँ छ है दाइ तपाईँको । तपाईँ जेसुकै भन्नुहोस् मैले त कक्षामा पनि यसै भन्ने गरेको छु । वास्तवमा तपाईँसँग मेरो सामान्य र औपचारिक कुराकानी मात्र हुन्थ्यो । केही अन्तर्वार्ता लिएँ तपाईँसँग । तपाईँलाई कतिपय कार्यक्रममा प्रमुख अतिथि बनिदिनु पर्यो भनी पनि निकै दुःख दिएँ । तिनका सबै हिसाबकिताब अब समाप्त भइसके । हाम्रो साहित्यका महारथीहरू आज निकै प्रचारबाजीतिर लागेका छन् । घुमाउरो पाराले चाकरी गरेका कारण मात्रले पुरस्कार र सम्मान पाउने प्रचलन पनि विकास भएको छ । मैले यिनै वाक्य लेखेका मात्र भएको र कतै दर्ता भइसकेको छ भने पनि नाम काटिइसकेको हुन्छ । कम्तीमा पनि तपाईँले त्यस्तो स्थितिको त सामना गर्नु परेन ।

तपाईँको नाटक क्षेत्रका विशेषता निकै नयाँ र विशिष्ट किसिमका रहेका छन् । लघु आयतनभित्र मानसिक उहापोह र अभिनयगत वैशिष्ठ्य समायोजन गर्ने व्यक्तित्व पनि नेपाली नाटकमा तपाईँ र तपाईँकै भाइ विजय मल्लमा पाइने विशेषता बेजोडको देखिन्छ । च्यातिएको पर्दामा तपाईँले प्वालबाट सामन्तकालीन मूल्य च्यातिएका दृश्यहरू छर्लङ्गै देख्नु भयो । भोको घरमा भोकाउनु पर्ने कारण पनि सबै छर्लङ्गै प्रस्तुत गरी दिनुभयो । दोष कसैको छैनमा विसङ्गतिका कारक अनेकौँ तत्त्वहरूलाई दोषको कारक बनाएर व्यक्ति दोषको कारक नियति हो भन्ने कुरा प्रकट गर्नु भयो । समीक्षाका यिनै विषयमा कलमका टुँडाहरू खियाइरहेका छन् । एकाङ्की नााटकहरूमा पनि तपाईँको लेखन विस्तारित भएको छ । सम र रिमालको उत्तरवर्ती नाटककारहरूका पङ्क्तिमा प्रथम उच्चारण हुने नाम तपाईँ दुई दाजुभाइकै त हो । नाटकका माध्यमबाट समाज र मानव चेतनाका सँवेगहरू समेटेर रचना निर्माण गरेजस्तै नाटकको रचना पनि मानव मनोविज्ञानको प्रस्तुतिमा केन्द्रित भएर पाठकसमक्ष आउने विशेषता तपाईँमा निहित छ । कतिपय सन्दर्भमा तपाईँ नै अन्तर्मुखी भएर रहनु हुन्थ्यो । यसै विशेषताका कारण तपाईँ न त एकेडमीको प्राज्ञ बन्न सक्नु भयो न त त्यस्तै कुनै ठूलै पदमा आरोहित हुन सक्नु भयो । कवि भूपीले भनेजस्तै त हो यहाँ हल्लैहल्लाका भरमा धेरै काम भइदिन्छन् । तपाईँ हल्लाबाट अलगिने खालको स्रष्टा हो-यसो होइन र दाइ ! पछिसम्म पनि तपाईँले कथा सिर्जनामा कलमलाई थकाई मार्न दिनु भएन । परिणाम के भयो भने तपाईँको लेखन नेपाली साहित्यको १९९५ सालपछि २०४० को दशकसम्मका निम्ति नवीन नै रहृयो । प्रेम र मृत्यु शीर्षकको कथासङ्ग्रह प्रकाशनमा आउँदा नै तपाईँले युगलाई पछ्याउन सकेकोमा समीक्षकहरू अचम्म मान्दथे । अझ विशेष कुरा त के हो भने नेपाली साहित्यको आख्यान र नाटक विधामा तपाईँको कलम जीवनको अन्तिम घडीसम्म पनि थाकेन । दाइ, यसो भनिरहेको ममा २०६१ सालमा प्रकाशित कथासङ्ग्रह हिरण्यगर्भ कुमारी र जङ्गबहादुर कथासङ्ग्रह पनि दिमागमा खुली रहेछ । विषयवस्तुका दृष्टिले तपाईँ समाजका अर्थ, धर्म, राजनीति र सँस्कृतिसम्म विचरण गर्नुहुन्थ्यो ।

इतिहासदेखि वर्तमानसम्म पनि विचरण गर्नहुन्थ्यो । मुलुकमा विकसित बनेका विकृतिप्रति तपाईँ अत्यन्त तीव्र दृष्टि प्रक्षेपण गर्नहुन्थ्यो र तपाइर्ँ मानवीय सँवेदनालाई निकटबाट पहिचान्न प्रयत्न गर्नुहुन्थ्यो । २००७ सालको राजनीति र २०१७ सालको राजनीतिक परिवर्तका क्रममा तपाईँको दृष्टि शङ्कास्पद रहेन । तपाईँ मुलुकको स्वतन्त्रताका पक्षमा, सुधारात्मक क्रान्तिका पक्षमा र पुरातनन्ध सँस्कृतिका विरुद्धमा सधैँ समर्पित रहनु भयो । यसको कारण तपाईँमा निहित राजनीतिक स्वतन्त्रताका पक्षकै प्रमुख कारण होइन र दाइ ।

तपाईँको पहिलो उपन्यासले मानवीय मनोजगतको असन्तुलन र साँस्कृतिक यथास्थितिमा परिवर्तनको भूमिका खेल्न सक्ने सँस्कृतिको विकास नभएका कारणले मिसरीको मनोदुर्घटना निम्तिएको कुरा प्रस्तुत भएको छ । सामाजिक विसङ्गतिका कारण नेपाली समाजका महिलाको जीवन नारकीय बन्न पुगेको छ भन्ने कुरा पछिल्लो उपन्यास अर्पणाले पनि प्रस्तुत गरेको छ । महिला अस्मितामाथि खेलबाड गर्ने, महिला बेचबिखन गर्ने यस समाजको दूषित संस्कारमाथि गम्भीर प्रहार गर्ने साहित्यिक रचनाको सिर्जनामा समर्पित तपाईँको लेखनबाट नेपाली साहित्यले ठूलो भरथेग पाएको कुरा सबैजसो पाठकले निर्धक्कसँग स्वीकारेका छन् । दाइ, म त नेपाली साहित्यका विद्यार्थीहरूलाई पढाएर पेट पाल्ने मान्छे । कहिलेकहीँ त कस्तो अप्ठ्यारो परिदिन्छ भने जीवित बनेको पाठ पढ्दै गरेका बेला कक्षाभित्र समाचार आइदिन्छ । यसपल्ट मलाई त्यस्तै स्थिति त आई पर्यो । कक्षा अघि बढाउनु बेसहुन्थ्यो कि रोक्नु वेस हुन्थ्यो त दाइ, म स्तब्ध भएँ । किँकर्तव्यविमूढताको अवस्थामा मैले अबरुद्ध कण्ठको स्थितिमा श्रद्धाञ्जलीका केही शब्द उच्चारण गरेर कक्षाबाट बाहिरिएँ ।

जीवनलाई हेर्ने दृष्टि तपाईँको अनौठो रहेको पाइयो । समाजका आर्थिक र साँस्कृतिक वर्गका सीमाहरू पनि तपाईँले बडो गम्भीर ढङ्गले कोर्नु भएको थियो । ‘भाँडो’ र ‘लक्ष्मीपूजा’ कथामा तपाइर्ँले निर्धारण गरेको वर्गीय चिन्तन, ‘त्यो क्रान्तिको प्रतीक’, ‘चुनाव’ र ‘साठी रुपियाँ’ जस्ता कथामा निर्धारण भएको राजनीतिक धारणा, ‘कृष्णे र खुकुरी’, ‘त्यसको भाले’जस्ता कथामा प्रकट भएको भय, सँवेग अनियन्त्रित मनोवेगका चिन्तनबाट तपाईँलाई अनौठो पाराले मूल्याङ्कन गर्न पर्ने स्थिति प्रकट भएको कुरा सिद्ध भई दिन्छ । जीवन र जगत्का, ज्ञान र विज्ञानका, सँवेग र यथार्थताल्ााई प्रतिपादन गर्ने तपाईँको आख्यान कला आफैंमा विशिष्ट हिसाबले प्रस्तुत भएको छ । क्षणका दृष्टिले मात्र हेर्दा पनि तपाईँ नेपालको राजनीतिक स्वतन्त्रताको आन्दोलनको आरम्भका समयमा तपाईँको कलम भर्खर मात्र लेखनमा क्रियाशील बनिरहेको थियो । वर्गीय दृष्टिले पूरै पक्षधरतालाई नै आधार नमाने पनि तपाईँका रचनामा निम्नवर्गीय जीवनका मूल्य र ती मूल्यप्रतिको सकारात्मक दृष्टि तपाईँका रचनामा पाउन सकिन्छ ।

साहित्यकारलाई यहाँका प्रहरी र प्रशासनले चिन्दैनन् । अरू मुलुकमा भए प्रशिक्षणका क्रममा साहित्य, कला, ज्ञान र विज्ञानका सर्जक र आविष्कारकहरूको पनि सामान्य परिचय पाउनु पर्छ । देशका साँसद वा त्यस्ता विशिष्ट व्यक्तित्वको परिचय पनि पाउनु पर्छ । यहाँका प्रहरी प्रशासनका मान्छेलाई उहाँ त साँसद हुनुहुन्छ भन्यो भने यहाँ कुन कार्यालयको साँसद हुनुहुन्छ भनेर उल्टै प्रतिप्रश्न गरिदिन्छन् । लोगो भिरेर बाहिरै देखाउँदै हिँडे मात्र पनि यो के भिरेको भन्न बेर लगाउँदैनन् । यस समाजमा तपाईँलाई कति मात्र पो चिनेको होला र मैले पनि ।

साहित्यको इतिहासको सन्दर्भमा चर्चा गर्दा म के मात्र भन्न सक्छु भने तपाईँको योगदानबाट नेपाली साहित्य निकै ऋणी बनेको छ । त्यो ऋण हामीले तिर्नु पर्दैन भन्ने थाहा हुँदाहुँदै पनि एउटा विशिष्ट स्रष्टाको अवसान हुँदा मन धेरै दुःखित हुँदोरहेछ । दाइ, अहिले म तपाईँप्रति श्रद्धाञ्जली भन्न पनि सकिरहेको छैन गला अवरुद्ध भएका कारण । भोलिदेखि पनि मैले आजैजस्तो व्याख्या गरी रहनु पर्छ । यो प्रतिबद्धता मैले आफ्नै ढङ्गले कायम गरेको छु । यत्रो गन्थनमा अल्मल्याएँ, मैले तपाईँलाई । लौ त क्षमा रहोस् दाइ, गुड बाइ !

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *