Skip to content


रहस्यको प्राचीन उपत्यकामा कैद
भित्र-भित्र बाँसझैँ सुकेका
बाहिर-बाहिर बेसारझैँ पहेँलिएका
भएजति आँसु
कतै धितो राखेर
भएजति हाँसो
कतै ‘सेल’मा टाँगेर
आफैँदेखि हड्बडाइरहेका ।

सूर्योदय होस् या सूर्यास्त
तिखो छट्पटी बोकेर ब्यूँझिएका
कतै अनुहार खुइलिएका
कतै नाम उधृएका
मुटुको तला-तलामा
गोप्य कागजपत्र भरिएका ।

भीडहरूमा अचानक
सपनाको पाकेट मारिएका
धमिलो उच्छ्वास पालिरहेका
गुमनाम देशका
लाखौँ झन्डा उचालेर
हिउँद-बर्खा भ्यागुताझैँ
टर्टराइरहेका ।

न त गहिरो निदाएका
न त स्वच्छ ब्यूँझिएका
सुन्निएका राता आँखाले
एकअर्कालाई घुररिहेका
आफैँदेखि तर्सिरहेका ।

चिया दोकान या भट्टी पसलमा
सधैंँ-सधैंँ बर्बराइरहेका
नागरकिता या पासपोर्टमा
एउटा जीवन उँघिरहेका ।

देख्न नपाएर सूर्य
सुकेको सूर्यमुखी फूलझैँ
चिसो छिँडीमा गुडुल्किएर
एक सास बाँचिरहेका ।

नेपाल साप्ताहिक
अंक ३०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *