Skip to content

नया नेपाललाई शुभ-कामना

  • by


फैलोस्‌ लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् ‌ धरा अब सदा सद्‍मार्गमा पल्‌ – पल,
नांगा प्रस्‍तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फुलोस्‌ अब सदा पाखा पखेरा महाँ ॥
॥१॥
स्वामी, मालिक, दास, रैति अथवा ठूला र साना अनि-
मान्छे बीच नहोस् ‌ विभेद ननिका जाती र पाती भनी,
मानव्‌ता अब एक धर्म सबको पूजा बनोस् ‌कर्म ता,
मैत्री भाव सदा रहोस्, सकल ती आत्मा बनुन् ‌देवता ॥
॥२॥
अत्याचार, अनीतिका सब सुकुन्‌ सोताहरू नाश भै –
कालो त्यो मनको अचेतपनको उघ्रेर आकास नै,
हाँसो फक्रिरहोस्‌, हटोस्‌ ‌विषमताको शून्यता, ज्ञानको –
उज्यालो झलमल्‍ल भै अब सबै ढाकोस् ‌कुना व्योमको ॥
॥३॥
मान्छेको अधिकार सूचित हुने बोल्ने र लेख्‍ने अनि
स्वेच्छाले जनको चुनी सदन नै गर्ने स्‍वशासन् ‌ पनि-
पाउन् ‌भोग्‍न सवै, सवै जन यहाँ स्वामी बनुन्‌ देशको,
भत्कोस्‌ व्याल परम्‍परा मुलुकमा सामन्‍तको राजको ॥
॥४॥
रोटी, वास – थलो, लुगा मनुषका नैसर्गिकी यी‌ हक
यिन्‌का निम्ति कतै नहोस् ‌अब यहाँ व्यर्थै कुनै झञ्झट,
उर्लोस्‌ भेल बनी समान हकको सद्‍भाव, सद्‌मङ्गल
अस्ताई कुरिती नया किरणको झुल्कोस् ‌बिहानी अब ॥
॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *