ध्रुब थापा
सदाझै आजपनि विहानै आफूलाई
ऐना सामु उभ्याउछु र नियाल्छु
आफनै अनुहार जो ठाउं ठाउंमा
फाटेको छ र ठाउं ठाउंमा काटेको छ ।
धुलोले छोपेको झयालवाट वाहिरको
सारा संसारनै मैला देखिए जस्तै
यो फुटेको ऐनामा आफूलाई हरपल
टुटेको र फुटेको देख्छु र देख्छु
रद्धीको टोकरीमा फालेको कुहिएको
शुन्तला जस्तो जस्को रस त छ तर
मात लाग्नेगरि सढेको छ ।
जतिनै चाहेरपनि फेर्नसकिएको छैन
टुटेको र फुटेको अनुहार देख्ने त्यो ऐना
सायद दाइजोमा परेको अंश भएरपो होिक
न फाल्ननै सकिन्छ न सम्हाल्ननै
नचाहदा नचाहदैपनि कोठाको बीचभागमा
सवैलाई नियालेर हेरे जस्तै उभिएको छ
र,
हरपल उस्को प्रतिविम्व आफूमा परेको छ
र,
बनेको छ एउटा एस्तो प्रतिविम्व
जो आफनै छाया जस्तै टासिएको छ
जो जुम्ल्याहा जस्तै गासिएको छ
र,
हरेक विहान आफनै अनुहारले
आफैलाई गिज्ज्याईरहेको छ ।
क्यालिफोर्निया
