Skip to content

मानवअधिकार

  • by


केही व्यक्तिहरूले रातो कपडामा सेता अक्षर लेखिएको एउटा तूल टाँगेर नारा लगाउँदै गन्तव्यतिर हिँडे । उनीहरूले त्यो तूल टाँगेको एकजनाले नजिकैबाट हेरिरहेको थियो । टाँग्नेहरू ओझेल परिसकेपछि पनि उसले निकैबेर त्यो तूललाई हेरिरह्यो र मुसुक्क मुस्कुराउँदै आफ्नो शरीरतर्फहेर्‍यो ।

उसले तूलमा लेखिएका वाक्यहरू पढेझैँ गर्‍यो र प्रतिक्रियास्वरूप फिस्स हाँस्यो । पल्याकपुलुक हेर्दै तूललाई टाँगिएको ठाउँबाट निकाल्यो र आफ्नो शरीरमा मिलाएर बेर्‍यो । तूलले राम्ररी बेरिएपछि ढुक्क भएझैँ गरी पुनः एकपटक हाँस्यो त्यो व्यक्ति ।

तूल टाँग्नेहरू भोलिपल्ट पुनः त्यही ठाउँमा आए । हिजो टाँगिएको तूल नदेखेपछि ‘पक्कै पनि कसैको षड्यन्त्र हुनुपर्छ’ भन्दै अडकल काटे । केहीछिनमै उनीहरूले आफूहरूको तूलले बेरिएर हिडिरहेको मान्छेलाई देखे । उनीहरूले त्यसलाई हुचीलले बिरालोलाई झम्टिएझैँ झम्टिएर र कुटपीट गर्दै उसको शरीरबाट तूल निकाले ।

उक्त तूल पुनः त्यहीँ ठाउँमा टाँगियो र त्यहाँ विजयको नारा लाग्यो- मानवअधिकार जिन्दावाद ! हाम्रो पार्टीजन्दावाद !!

बेरिएको तूल निकालिएपछि र्सवाङ्ग नाङ्गो भएको त्यो व्यक्तिले उनीहरूको शरीर हेर्‍यो र आफ्नो शरीरलाई नियाल्दै एकपटक पुनः हाँस्यो ।

नारा लगाउनेहरूसँगसँगै त्यो नाङ्गो व्यक्ति पनि आवाज थप्दै पछिपछि लाग्यो- मानवअधिकार जिन्दावाद !! हाम्रो पार्टीजन्दावाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *