भर्चुअल दुनियाँमा भेटिएका मेरा एक अति प्रिय कवि मित्रका अर्थपूर्ण कविताहरू यदाकदा पढ्ने गर्थेँ बिभिन्न वेब-पत्रिकाहरूमा । कसो-कसो एकदिन पत्तो लाग्यो तिनै कवि मित्र त भूगोलको उही टुक्रोमा पसिना पोख्दैरहेछन् जहाँ म छु, याने कि इजरायलमा ! खुशीको सीमा रहेन । फेरि एक दिन संयोगले जुरायो प्रत्यक्ष भेटिन । जति मिठा कविता लेख्छन् त्यतिनै रसदार बोली व्यबहार अनि अझै मिठो हाँसोको प्रत्यक फोहोरा यस्तो लाग्थ्यो मानौँ उनका कविता यसै गरी ओइरिँदा हुन्। यिनै निश्चल प्रकृतिका सौम्य ब्यक्तित्व हुन् नेपाली डायस्पोरिक साहित्यको ईतिहासमा भूमध्य सागरको छेउमा अवस्थित सानो सुन्दर देश इजरायलबाट आफ्नो साहित्यिक कोसेली नेपाली वाङमयलाई सुम्पिने प्रथम युवाकवि अशोक ‘पार्थिव’ तमाङ र उनको त्यो ऐतिहासिक काव्यकृति हो “फ्युजन प्रतिविम्व” जुन कवि पार्थिवको प्रथम प्रकाशित कृति पनि हो।
पूर्वी पहाडको सुन्दर छटायुक्त जिल्ला खोटाङ्गमा बिक्रम सम्वत २०३५ सालमा आमा डोलमाया तमाङ तथा बुवा हस्तबहादुर तमाङको कोखबाट धर्तीमा पदार्पण गरेका जोसिला युवाकवि ‘पार्थिव’ ले अङ्रेजिमा स्नातकोत्तर गर्नुभएको छ । तर नेपालीमा कविता सिर्जना गर्नुहुन्छ अत्यन्तै सरल र प्रखर। जिन्दगी जिउने क्रममा हाल इजरायलमा रहनुभएका कवि पार्थिव भर्खरै केही समय अघि छ्योइसाङ्ग लामा थिङ्गसँग विवाह बन्धनमा बाँधिनुभएको छ।
इजरायली भूमिबाट प्रथम नेपाली साहित्यिक कृति बाहिर ल्याउनुहुने कवि पार्थिवको काव्यसङ्गालो “फ्युजन प्रतिविम्व” नाम जस्तै एक नविन कृति बनेको छ। प्रत्यक्षता भन्दा परोक्षता हावी भैरहेको आजको बिध्युतीय विश्वपरिवेशको प्रतिनिधि नाम हो “फ्युजन प्रतिविम्व” र यसभित्र संगालिएका ४२ थान् सुन्दर कविताहरू। जब मेरो हातमा यो सुन्दर काव्यकृति पर्यो मैले मायाले सुम्सुम्याएँ, सम्मानले चुमेँ र हार्दिक सलाम गरेँ। सत्य हो अलिकति मिठो डाह पनि गरेँ। पेटको जोहोगर्नका खातिर परदेशमा एक मृत्यु कुरेर बसेका ब्रिद्द बाजेको स्याहारसुसारमा चौबिसै घण्टा खटिरहेका यी शितल युवाले कतिबेला समय निकाल्दाहुन् साहित्य साधना सिर्जना गर्न? हो यस्तै ब्यस्तता, अप्ठेरा र मानसिक तनावका बिचबाट देश कल्पेर, माटो सम्झेर अनि पसिना साटेको आम्दानी रोपेर नेपाली साहित्यमा इँटा थप्ने प्रथा इजरायलमा रहेका नेपाली माझ सुरु गर्ने देशप्रेमी युवा हुन् कवि ‘पार्थिव’। त्यसपछिको छोटो समयमै इजरायली भूमिबाट नेपाली साहित्य भण्डारले फटाफट ६ कृति पाइसकेको छ र यो क्रम बढ्दो छ। यो सबैको श्रेय कवि पार्थिवलाई जान्छ। यो सुकार्य नेपाली साहित्यको ईतिहासले सम्झनेछ। कवि पार्थिवलाई डायस्पोरिक साहित्यको ढुक्ढुकीले सम्मान गर्नेछ।
मुलत: “फ्युजन प्रतिविम्व” मा कवि पर्थिवले आम कविले झैँ गुनासा र उच्छ्वास पोखेका छन्। सम्भावना र चुनौती दर्शाएका छन्। तर सार सन्देशमा उनले मानवताको गीत गाएका छन्, माटोको महिमा गुन्गुनाएका छन् र बिकासका चुली चुमेका उज्याला झिल्कालाई सम्बोधन गर्दै नेपालआमाको छाती खोल्सा र पाखादेखी पिँढिको मान्द्रो सम्झिएका छन् । स्वाभावत: परदेशमा रहेको आत्मा न हो बिरानिइनुको पीडा र उच्छ्वासमा घरदेशको माया र सम्झनामा नोस्ट्याल्जिएकाछन्। समग्रमा कवि पार्थिवले ‘फ्युजन प्रतिविम्व’ भरी मातृभूमीको अनुहार प्रतिविम्वित गरेकाछन्।
नित्तान्त नौलो नै त नभनुँ तर पूर्ण मौलिकताको बलमा कवितालाई अन्यबाट अलग्याउने प्रयास कविले गरेको उनका कवितामा आभास हुन्छ। कलात्मकताको तुलनामा वैचारिकता अत्यन्त सबल रहेको उनको यो कृति सच्चा र इमान्दार प्रस्तुतिको एक उदाहरण पनि हो भन्न सकिने प्रसस्त ठाउँ छन्। समयलाई पहिचान गर्न र सदुपयोग गर्न सिकाउने अराउने कवि पार्थिव ‘मान्द्रो बुन्ने सपना’ देख्दा बर्बराउन पुग्छन्:
“घाम अस्ताचलमा खुइलिएर
जदौ सम्बोधन गरेपछि
अनि खै के बुनिएलार
योजनाको मान्द्रो!”
समय टिप्न आग्रह गर्ने कवि पार्थिवको यो खास कवितासंग्रह पृथक स्वाद चाहने कविताप्रेमीहरूले एकपटक पढ्नै पर्ने भन्ने मेरो ठहर छ। उसो र भूमिकाको क्रममा वरिष्ठ साहित्यकार समालोचक दाई डा गोविन्द भट्टराई भन्नुहुन्छ, “समयले खोजेको मानिस तिमीनै हुन सक्छौ पार्थिव!”
समग्र नेपाली कविताकाशमा एक नविनतम थपिएको यो कृतिले एक पृथक पहिचान राख्ने कुरामा मेरो पाठक मन विश्वस्त छ। अगाडि धेरै अगाडि लामो काव्यिक यात्राको सफलतम कामना गरेको छु कवि पार्थिव!! लाख लाख शुभकामना !!
नोट: यो कुनै समिक्षा नभएर “फ्युजन प्रतिविम्व” बाट ममा प्रतिविम्वित भाव-चित्र मात्रै हुन्।
(“फ्युजन प्रतिविम्व” पढ्न चाहने काव्यिक मनहरूले निम्न ठेगानामा संपर्क गर्न सक्नुहुनेछ :
सम्पर्क स्थानः Bibek Sirjanshil Publication (p) Ltd. Adwaitmarg,Kathmandu,Nepal. Tel: 4218063( O), 4334501 ( R )
Mobile: 9851097716
अफिस पुग्ने तरीकाः पुतलीसडक बाट शंकरदेव क्याम्पस हुँदै पुरानो बसपार्क जाने बाटोमा खसी बजारको बिपरित दिशामा शंकरदेव क्याम्पसकै लहरमा विबेक सिर्जनशील प्रकाशनको अफिस रहेको छ)
दीप्स शाह
इजरायल

