जब मुलुकमा अस्तव्यस्तताको आँधीवेहेरी चल्यो
असत्ति आतंकको बादलले गड्याङगुडुङ मच्चायो
निरीह मन मस्तिष्क र मुटुमा चट्याङ पर्यो
त्यही भयावह परिस्थितिको नमीठो साजसज्जाले
बग्न थाले यो निरीह मुलुकभर रगतका भेलहरू
त्यसैले होला
बैरागियो यो मनको अन्तरकुन्तर पनि नमज्जाले
फलतः हाम्रो भाग्यमा बाला झुलेनन् असिना वर्षियो
धैर्यको सीमा टुट्यो यो मन दिल पनि पूरै चर्कियो
धर्तीको तकदीरमा खुसीको वर्षात् भएन खडेरी पर्यो
यी आँखामा कतै आँसु अडेन गहको बाँध भत्कियो
यस्तैयस्तै वाहियात विवशताको भुमरीले देश गनायो
मलाई भने यो रुखो फाँटमा अक्षर रोप्न बाध्य बनायो
त्यसैले पनि मैले
मनको बह पोख्न शब्दहरूको ब्याड हालेँ
दबेको सिर्जना रोप्न कलमको कुलो लगाएँ र
झ्याउलै परिवेशमा भएपनि छरेँ बिचारका बीउहरू
अनि बाउसे बनेँ र रोपेँ भावनाका लिखुरे गाबाहरू
तर सरल र सरस शब्दको मलजल नपुगेर होला
बल्लतल्ल उमि्रए ख्याउटे गीत कविता र कथाहरू
लालित्यपूर्णा शैलीले गोडमेल गर्न नसकेर होला
अहँ कत्ति पनि घटेनन् यो मनका पीर व्यथाहरू
सम्भवतः
मुलुकमा शान्तिको पदार्पण हुन नसकेर नै होला
आफूमा खुराफातीपनको अभाव र अनिकालले होला
अर्काको खोरियामा खेती गर्नेहरूको सहकालसँग
भावनात्मक तालमेल नमिल्दा र साँठगाँठ नहुँदा
सभ्यता र संस्कृतिमा संस्कारको खडेरी परिरहँदा
अन्योलको भेलले मेरो मनको आली भत्कायो
मेरो कुटो कोदालोको अमुल्य पसिना लत्यायो
स्वार्थका पुजारीको बिचार र व्यबहारको सेपले
साहित्यको बारी बाँझियो टारी मज्जैले रुखियो
तर पनि
बिनास्वार्थ अर्जेको जेथा पो हो त सप्रिन्छ कि हेर्दैछु
दुःखमा दुःख खापेर पनि अझै आशाको सास फेर्दैछु ।
