Skip to content

र त गजलकार भएँ

  • by


मरूभूमिमा परे र त गजलकार भएँ
बूँदको निम्ति मरेँ र त गजलकार भएँ

गजल पैला सुनौँ नत भन्ने स्रोतामा
सलाम पैले गरेँ र त गजलकार भएँ

दिनको भोक हरेँ शेर जबरजस्त थियो
रातको निँद हरेँ र त गजलकार भएँ

पीडाको अर्थ कहाँ हुन्थ्यो यहाँ पुस्तकमा
मैले आँखामा पढेँ र त गजलकार भएँ

यो खसाल्यो भने संसार डढाउँछ भनी
जाम आँसुले भरेँ र त गजलकार भएँ

फूलमा काँढाको छाँया नपरे हुन्थ्यो भनी
शुल मुटुमा जडेँ र त गजलकार भएँ

बूँदले आगो निभउँने कुरा के गर्छौ
म त सागरमा जलेँ र त गजलकार भएँ

स्वर्गमा बस्ने मेरो मन भए के के हुन्थेँ
म त धर्तीमा झरेँ र त गजलकार भएँ

सबैले शानको पक्वान डकारे मैले
प्रेमको घाँस चरेँ र त गजलकार भएँ

कसैले गंगाको पानि कसैले रक्सी छरे
मैले जीवन नै छरेँ र त गजलकार भएँ

कोही गमलामा कोही बागबगैँचामा सरे
म त बाँझोमा सरेँ र त गजलकार भएँ

खोलाको भेल त पानी हो त्यो पानी खाली
भेल आगाको तरेँ र त गजलकार भएँ

बरे दर्बार कसैले त परिवार बरे
मैले समसार बरेँ र त गजलकार भएँ

हेपेर कालले भन्थ्यो मलाई ‘हट् पाजी!’
उसैको बुइ छढेँ र त गजलकार भएँ

पहाड भैकन बाटोमा बर्तमान थियो
घचेडी आघि बढेँ र त गजलकार भएँ

रात रंगीन वा समगीन थियो हेर्नु थियो
मैनका साथ गलेँ र त गजलकार भएँ

खरानी परे पनि भित्र कतै तातो थियो
निभेर फेरि बलेँ र त गजलकार भएँ

मात्र बन्दुक लिइ लडे म हिटलर हुन्थेँ
म कलम लि लडेँ र त गजलकार भएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *