Skip to content

खुसीले पागल भइरहेछु म
त्यसै त्यसै आह्लादित भइरहेछु म
आजको यो अनमोल दिनलाई
यो बहुमूल्य, दुर्लभ दिनलाई
कसरी मनाउने ? कसरी मनाउने ??

चमत्कार भयो, चमत्कार !
अखबार पढेर भनिरहेछु
टीभी हेरेर विश्वासका साथ भनिरहेछु
अज्ञात समूहले आज कसैलाई
गोली हानेर मारेन
सशस्त्र गिरोहले
कसैको अपहरण गरेन
कसैको लाखौँ लुटेन
स्कुल गएका बालबालिकाहरू
सबै सकुशल फर्किए आज
कैयौँ दिनदेखि थुप्रिएको
फोहर पनि उठ्यो आज
आहा ! कस्तो रमाइलो
जताततै खुसी नै खुसी
अखबारलाई छातीमा लगाऊँजस्तो भइरहेछ
रेडियोलाई म्वाइँ खाऊँजस्तो लागिरहेछ
सबै पसलहरू खुलेका छन् आजको दिन
सडकमा बसहरू गुडेका छन् आजको दिन
सबभन्दा महत्त्वपूर्ण कुरो
आज धारोमा एकछिन भए पनि
पानी आयो
आज लोडसेडिङ् छैन
अरब भासिएको छोरोसित कुरा हुने भयो ।

नेताहरू कहाँ कुन बैठकमा व्यस्त छन्
मलाई थाहा छैन
कति बुँदे कस्तो सहमति खोजिरहेका छन्
मलाई थाहा छैन
तर, आज म अत्यन्त हषिर्त छु
आनन्दले उद्वेलित छु
उत्सवजस्तो लागिरहेछ आजको दिन !
यो रगतैरगतले नलत्पतिएको
पावन दिनलाई
शक्तिशाली बम पनि नपड्किएको
यो भयमुक्त दिनलाई
कसरी सेल्रि्रेट गर्ने ?
आँसुले नभिजेको
यो ऐतिहासिक दिनलाई
विदेशीले ठाडै हस्तक्षेप नगरेको
आजको महान् दिनलाई ।

कसरी मनाउने ?
लौ न, के गरेर सेल्रि्रेट गर्ने ?
खुसीले पागल भइरहेछु म !
खुसीले पागल भइरहेछु म !!

नेपाल साप्ताहिक
अंक ३०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *