Skip to content

५५ वर्ष पहिले, २९ मे १९५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि। मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो।

हामी सगरमाथामा सबभन्दा पहिले नेपाली पुग्यो भन्ने गौरवले ज्यादै उत्तेजित थियौं। जुद्दोदय स्कूलबाट स्वागतगानका साथ स्वागत महोत्सवका लागि छानिएको हुनाले पनि मेरो खुशी कम थिएन। त्रिचन्द्र क्याम्पसस्थित सरस्वती सदनको वरण्डाबाट तेन्जिङ शेर्पालाई सुनाउने स्वागतगान टोलीका अरू सदस्यमा चन्द्र शोभा, चन्दा देवी र हिक्मान बहादुरलाई अझै सम्झ्न्छु। ‘ जय नेपाल, जय नेपाल ‘ भन्ने उक्त स्वागतगानका केही गेडाहरू मेरो सम्झ्नामा ताजै छन्:
धवल तुहिन शिखरमाल हीरकाभ अचल जाल,
स्वर्ग तुल्य शुचि विशाल धर्मपाल जय नेपाल!
जय नेपाल!! जय नेपाल!!!
त्यस दिनदेखि नै म राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय गीत गाउँदा ‘ सगरमाथा शिखरमा पुग्दछ पहिलो नेपाली ‘ हरफमा पुगेपछि हर्षविभोर हुन्छु।

तेन्जिङको स्वागत गर्न हामी पहिले बनेपा पुग्यौं। त्रि”चन्द्र कलेजबाट भक्तपुर हुँदै साँगा भञ्ज्याङको उकालोबाट जीप गुड्दा छिनछिनमा जीउ सिरिङ्ग भएको थियो, तर सगरमाथा विजेताको स्वागतमा हिँडेकालाई त्यस्तो डरले छेक्ने कुरा भएन।
त्यस बखतको बनेपामा अहिलेको जस्तो सिमेन्ट ढलान गरिएका होइन, ईंट्टा र झगटीका घर मात्र थिए। मूल बाटोको दायाँबायाँ हालको जस्तो बजार नभएर दुई”चार स”साना घर र खेतबारी थिए। चारैतिरबाट मानिस “इरिएर बनेपामा ‘ बिस्केट जात्रा ‘ मा जस्तै भीड जम्मा भएको थियो। बाटोका दुवैपट्टि आम जनता र विद्यार्थी टनाटन थिए। फूलमाला र अविरले ढाकिएका तेन्जिङलाई बनेपाबाट काठमाडौंतर्फ ल्याइयो। काठमाडौंको शोभा यात्रा जीपमा हैन, बग्गीमा थियो। बग्गीको अगाडि पछाडि अनेकौं बाजागाजा थिए।

त्यस घडीको एउटा अविस्मरणीय सम्झ्ना बग्गीका अघि”अघि चार वटा घोडामा सवार भएका काठमाडौंका चार युवती थिए― इन्दिरा श्रेष्ठ, शान्ता श्रेष्ठ, कोकिला देवी र प्रभा श्रेष्ठ। बग्गीको अगुवाई गर्ने यी चार घोडसवार युवतीको चर्चा काठमाडौंमा धेरै समयसम्म छाएको थियो।

सगरमाथाको त्यो विजय नेपालीहरूका लागि संसारै जितेको भन्दा ठूलो थियो। उता बेलायतमा २९ मे कै दिन महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक पनि परेकोले हर्षोल्लासको अर्को सगरमाथा खडा भइरहेको हामीले सुन्यौं। सगरमाथा आरोहणमा तेञ्जिङका सहयात्री एडमण्ड हिलारी त्यसका प्रमुख आकर्षण थिए। तेन्जिङ र हिलारीको त्यो सफल आरोहणलाई विश्वले निकै उच्च स्थानमा राख्यो। नेपाल र सगरमाथा पर्यायवाची शब्द बन्न पुगे। विश्वमा नेपालको चिनारीलाई सगरमाथाले दिन पर दिन चुल्याउन थालेको अनुभूति संसारको कुनै कुनामा गए पनि हुन थाल्यो। तेञ्जिङको आरोहणको १३ वर्षपछि पढाइ र तालिमको सिलसिलामा म इजरायल गएको थिएँ। इजरायलमा पर्ने मृतसागर (डेड सी) संसारकै सबभन्दा होचो भू”भाग रहेछ। त्यसैले इजरायलीहरू नेपालीलाई देख्यो भने ‘ संसारको छानाबाट सबभन्दा होचो भूमिमा आएका पाहुना ‘ भन्दा रहेछन्।

तेन्जिङले सगरमाथा चढ्दा शायद नेपाल”चीनको सिमाङ्कन भइसकेको थिएन। तर सगरमाथा नेपालकै भन्ने हाम्रो मन र मस्तिष्कमा गडेको थियो। पछि सन् १९६३ मा सिमाङ्कन हुँदा उत्तरी मोहडा चीन र दक्षिणी मोहडा नेपालमा पर्छ भन्ने बुझ्ियो। त्यो कुराले हाम्रो मुटु नै चिरिएको जस्तो भएको थियो। त्यस्तै अर्को चोट पर्न गएको थियो तेन्जिङ भारतको नागरिक बनेपछि। सगरमाथा चढ्दा नेपाली रहेका र त्यसपछि विश्व नागरिक बन्नुपर्ने व्यक्ति भारतीय नागरिकमा खुम्चिन जाँदा मेरो मुटु पनि खुम्चियो।

यस्ता तीता”मीठा अनुभव जे भए पनि सगरमाथा अझै नेपालको परिचय र नेपाली राष्ट्रियताको प्रतीक बनिरहेको छ। सगरमाथाले नेपालका लागि अनेकौँ कीर्ति थपेको छ। यसैपालि पनि ७६ वर्षीय नेपाली मीनबहादुर शेरचन सगरमाथाको सफल आरोहण गरेर विश्वकै जेष्ठ आरोही बने, समावेशी महिला आरोहण दलले सफलता प्राप्त गर्‍यो, आप्पा शेर्पा अठारौं पल्ट सगरमाथा पुगे, एकैदिन ७७ जनाले चुचुरो चुमे…!

अब सगरमाथाको आरोहण सँगसँगै सुरक्षा पनि नेपालीहरूका सामु चुनौती बनेको छ। सगरमाथाको सन् १९५३ कै जस्तो प्रतिष्ठा कायम राख्न सक्नु परेको छ। हामी सक्छौं पनि। किनभने घोडामा सवार भएर तेन्जिङको स्वागतमा लाग्ने तिनै नेपाली छोरीहरूका प्रतिनिधि अब सगरमाथा विजेता बन्दैछन्।

हिमाल खबरपत्रिका
पूर्णाङ्क २१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *