“क” पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित हुन संघर्षरत पात्र । दुई-चार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन ।
“ख”पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा शब्दहरूको उछालपछार हुने । जसो तसो खर्चले भ्याएसम्म भाषामा स्नातक सकाएको हुन्छ । शहर छिरेर केही गरिहालौं भन्ने सोचले आक्रमित हुन्छ । रचनात्मक हिसाबले सशक्त हुन्छ । सृजनाको बाढी ल्याउन सक्ने क्षमता तर सबै रचना, सृजना नोटबुकमै सीमित हुन्छ । रहर हुन्छ केही कृति जन्माउने प्रकाशित गर्ने तर कुरो उही अर्थको । घुम्दै फिर्दै रुम्जाटार भने झै हुन्छ । अनि आफ्ना सारा रहरहरूलाई लात हानेर भौतारिँदै हुन्छ जागिरको खोजीमा ।
यसै क्रममा “क” र “ख ” को भेट एउटा मध्यकले गराईदिन्छ । “क”लाई नाम चाहिने “ख”लाई दाम । कुरा मिल्छ नाम र दामको ।
एक महिना पछि “क” को संग्रह प्रकाशित हुन्छ । चारैतिरबाट बधाई तथा शुभकामनाको ओईरो हुन थाल्छ । वाह! वाह! हुन्छ । जताततै “क”को नाम चल्छ । उता “ख”को हातमा हजार हजारको नोट नाच्दैछ । ऊ सुम्सुम्याउँछ ।
नाम चल्नेको नाम चल्दैछ । दाम विस्तारै सिधिँदै जान्छ ।
बिना तामाङ “सुनगाभा”
काठमाण्डौं
