Skip to content


शीर्ष दलका शीर्ष नेताहरूको जमघट । बैठक, सहमति र निर्णयको गोलचक्कर । जति दाम्लो बाटे पनि आखिर पसेउटो एउटै ! अर्थात् सरकार गिराउने र सरकार बनाउने उही चलखेल । भागबण्डाको दन्तबझानमै समय बरबाद । बैठक,बैठक र फेरि बैठक । बैठकभित्र असहमति र अनिर्णयको बिस्कुन । यत्रा बाङ्गाटिङ्गा र घुमाउरा रेखाहरू लेख्न सक्ने यति तीखो पेन्सिल -लेख्न सक्दैन किन एउटा सहमतिको बिन्दु ?

विमति कसैले राखेन अस्ति । सभासद र मन्त्रीको सेवा, सुविधा एवम् भत्ता बृद्धि गर्ने अस्तिको निर्णय । हर्षोल्लासपूर्वक सर्वसम्मत निर्णय भो हिजो पनि । संविधान सभाको म्याद थपेर आफ्नै आयु लम्ब्याउने हिजोको अब्बल निर्णय ।

रसाकस्सी भो आज । आफ्नो गोरुको बाह्रैटक्का ! कोही एकटक्का तल झर्न नमान्ने । सबै खोज्ने-आफ्नै तराजुको पल्ला भारी पार्न । अविराम मुख मात्र भएका कानविहीन नेताहरू । संविधानका विवादित विषयमाथिको आजको प्रस्तावमा छलफल । आखिर सहमति त भएरै छाड्यो आज पनि- “भोलि बैठक बसेर निर्णय गर्ने सहमति ।”

इन्द्रपुर-१, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *