Skip to content

निबन्धकार करुणाका करुण भाव –‘शङ्खघोष’ भित्र


२०६२ सालदेखि अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करुणा झाको सद्य कृति ‘शङखघोष’ विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । ‘भगजोगिनी’ नामक कविता सङ्ग्रह प्रकाशित गरेर मैथिली भाषाको साहित्य संसारमा उदाएकी कवियित्री झा ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रह मार्पत नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मिको रुपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ । यिनै आधारमा प्रस्तुत छ –‘शङ्खघोष’वारे एक टिप्पणी ।

१. महिला मुक्तिका आवाजहरू :

प्रस्तुत सङ्ग्रहमा महिलाका हकअधिकार र विचार–भावना बारेमा जम्मा ३ वटा निबनध परेका छन् – ‘आशीर्वाद’, ‘सुहागरात’, र ‘सामाजिक शिकार’ । यी निबन्धहरूमा क्रमश: पितामाता, सखी र समाज सुधारक अभियन्तालाई सम्बोधन गरेर मैथिल नारीमनका उहापोहलाई समेटिएको छ ।

(क) ‘आशीर्वाद’ – निबन्धमा सम्पन्न परिवारमा छोरीको वैवाहिक सम्बन्ध जोडिदिएर मात्र हुँदैन, त्यहाँ छोरीको मनोकाङ्क्षाको कदर हुन्छ वा हुन्न भनेर वुवाआमाले हेक्का राख्न आवश्यक छ भन्ने चेतना छर्न खोजिएको छ । यज्जत ढाक्ने नाममा छोरीको मनोभावनाको व्यापार गर्दिनँ र आफ्नो अतृप्त अहङ्कार छोरीमार्फत पूरा गर्ने कलुषित विचार राख्दिनँ भन्ने सोचको विकास होस् भन्ने आशीर्वाद पाउने इच्छा छोरीले बाबुआमासँग राखेको देखिन्छ । यसरी आजका बाबुआमालाई सन्तानको इच्छा र आकाङक्षाको कदर गर्न खबरदारी गर्ने ‘आशीर्वाद’ निबन्ध उम्दा निबन्ध बनेको छ ।

(ख) ‘सुहागरात’ – मैथिल नव वरवधुको सुहागरातको पर्व मधुश्रावणीका बारेमा मधेसी महिलाले पहाडी समूदायकी महिलालाई सुनाउने र सांस्कृतिक विचार आदान प्रदान गर्ने ध्येयले ‘सुहागरात’ निबन्ध सिर्जना गरिएको देखिन्छ । यसमा पहाडी र मधेसी संस्कृति र परम्पारका राम्रा पक्षहरूको आत्मसात गर्नु समयको माग भएको बोध गराइएको छ । विशेषत: मधुश्रावणी पर्वको समाप्तिताका नववधुलाई शरीर डामेर शारीरिक र मानसिक यातना दिने कुरालाई भने परिमार्जन गर्नुपर्ने आवाज घन्काइएको छ । धार्मिक हिंसा गर्ने छुट धर्मका ठेकेदारसँग नरहेको जिकिरसमेत निबनधमा गरिएको छ ।

(ग) ‘सामाजिक सिकार’ – नारीको सफलतालाई पनि उच्च स्थान दिन नचाहने कलुषित सामाजिक मनोविज्ञान प्रति औंलो ठड्याउँदै ‘सामाजिक शिकार’ निबन्धमा सृष्टिको स्थायी सिर्जिना नारी भएको जिकिर गरिएको छ । पुरुषलाई नारीको आवश्यकता परेझैं सृष्टिचक्रलाई चलाउन नारीलाई पनि पुरुषको आवश्यकता पर्ने कुरालाई भने हृदयदेखि नै स्वीकारिएको छ । तर, पुरुष अहङ्कारले नारीलई भोग्या वस्तु, सन्तानोत्पादनको मेसिन र अघोषित नि:शुल्क नोकर्नी ठान्दा भने महाकाली रुप धारण गर्न नारी पछि नपर्ने भनी आक्रोश पोखिएको छ । सिर्जना गर्नेसँग नै विध्वंश मच्चाउने तागत रहने कुराको बोध समेत गराइएको छ ।

२. युगसुहाउँदो शैक्षिक संस्कारका आवाजहरू :

यस प्रवृतिका दुई निबन्धहरू देखा परेका छन् – ‘खबरदारी पत्र’ र ‘शिक्षाविद्लाई सल्लाह’ । यी दुवै निबनध क्रमश: गुरु र शिक्षाविद्लाई सम्बोधन गरेर लेखिएका हुन् । समयको माग, समाजको आवश्यकता र विद्यार्थीको क्षमता, रुची र आकाङ्क्षा अनुसार शिक्षकले शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने र पाठ्यक्रममा आमूल परिवर्तन ल्याउनु पर्ने कुरालाई जोड दिने काम ‘खबरदारी पत्र’ निवन्धमा गरिएको छ । त्यस्तै ‘शिक्षाविद्लाई सल्लाह’ शीर्षकको निबन्धमा भने शैक्षिक संस्कारमा आमूल क्रान्तिकारी परिवर्तनको खाँचो औल्याउँदै सामाजलाई अग्रगामी पथमा हिडाउन पहिले शैक्षिक परिपार्टी सुधार्नुपर्ने कुरा बताइएको छ । आजको शिक्षाले कारखानाबाट एकै गुणस्तरका बस्तु उत्पादन गरे जस्तै एकै खालका जनशक्ति उत्पादन गर्ने गरेको तथ्य प्रति सचेत गराइएको छ । सिकारुलाई जबरजस्त सिकाइएको खेलाडी बनाउनुभन्दा उसको रुची क्षेत्र निर्धारण गरी सोही क्षेत्रमा लगाइदिनु सयौं गुणा उत्तम हुने वास्तविकतालाई निबन्धले समेटेको छ ।

३. मातृभूमिप्रति श्रद्धा प्रकट :

जन भूमिले वास दियो, गाँस दियो र प्राण सुरक्षित राखिदियो, त्यसकै सर्वाङ्गीण हितमा तन, मन र वचनले समर्पित भई लाग्नु सम्पूर्ण नागरिकको नागरिक कर्तव्य हो । विशेष गरी मधेसका राजनैताहरूमा मातृभूमिप्रतिको अनाकर्षण भाव र आफ्नोपनभन्दा विदेशी प्रभुको दास बन्ने मनोवृत्ति मौलाउँदै गएकोमा निबन्धमा आपत्ति प्रकट गरिएको छ । हामीले आफ्नोपनको संरक्षण गर्नु पहिलो आवश्यकता भएको बोध गराउँदै मैथिल, समाज, मैथिली भाषा, रीतिथिति, संस्कार र विचार प्रति गहकिलो श्रद्धा खन्याइएको छ । यस प्रकारको प्रवृत्तिले ओतप्रोत भएको एक मात्र निबन्ध प्रस्तुत सङ्ग्रहमा परेको छ, त्यो हो – ‘मधेसको मन मसिहालाई’ लघु आकारमा मार्मिक र संवेदनशील आवाज घन्काइएको उक्त निबन्ध निश्चय नै पठनीय र सोचनीय छ ।

४. सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त :

सहकारीले विश्वसमाजको सामाजिक र आर्थिक रुपान्तरणमा अनुकरणीय भूमिका खेलेको ऐतिहासिक पाटोलाई देखाउँदै नेपाली सामाजको कायापलट गर्ने तागत सहकारीमा रहेको वास्तविकतालाई उद्घाटन गर्ने एक मात्र निबन्ध ‘सहकारीलाई चिठी’ प्रस्तुत निबन्ध सङ्ग्रहमा परेको छ । जनश्रमदानलाई प्रश्रय नदिई नेपाली सामाजको विकासमा ठोस परिणाम नभित्रिने देखिनु स्व्भाविक भएको छ । सरकारी मुख नताकी स–साना उद्यमी र उपभोक्ताहरू स्वय म नताकी स–साना उद्यमी र उपभोक्ताहरू स्वय म मालिक भई वस्तु र सेवा उत्पादन गरी एक–अर्काले उपयोग र उपभोग गर्ने काम सहकारीमा हुन्छ । सोही अवधारणा अनुसारको विचार राख्दै सहकार्य हितैषी मित्रलाई संवोधन गरेर लेखिएको निबन्ध हो –‘सहकारीलाई चिठी’ । यस निबन्धमा स्वय म सहकारीलाई उसका कुरा उसैलाई सुनाइएको छ । मानवेत्तर पक्षलाई सम्बोधन गरी लेखिएको यस प्रकृतिको निबन्ध यो मात्र हो । अन्य निबन्धमा भने मानवीय पक्षलाई नै पत्रमा सम्बोधित पक्ष मानिएको छ । विशेष तथ्य र तथ्याङ्कलाई समेटेर वस्तुपरक बनाउन खोजिएको तर आत्मपरक नै भएको यस निबन्धले सामाजिक र आर्थिक रुपान्तरण मार्फत् सहकारीले राष्ट्र निर्माणमा कोशेढुङ्गाको काम गर्न सक्ने कुरालाई देखाइएको छ ।

५. राष्ट्रिय स्तरमा सद्भावनाको खाँचो वारे :

सामाजिक सदभावको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । चोर–डकैतसँग भएको सीप, क्षमता र साहसालाई समेत रुपान्तरण गर्ने हो भने मुलुकलाई अग्रगामी बाटोमा लैजान सहयोग पुग्न सक्छ । यो देश क्रान्तिको रथ हाँक्ने नायकहरूको मात्र हैन, नेतानेतृहरूको पुर्खेउली विर्ता पनि विल्कुलै होइन । चाहे जनआन्दोलन, जनयुद्ध मधेश आन्दोलन वा आदिवासी जनजाती तथा पिछडा वर्गको आन्दोलन नै किन नहून्, सबैको योगदान र बलिदानले गणतन्त्र प्राप्त भएको छ । यसलाई संस्थागत विकास गर्न राजावादीहरूको समेत उत्तिकै योगदान छ । यस मुलुकमा सबै थरीका नेपाली अट्नुपर्छ । सबैको विचार र भावनालाई कानूनले सम्बोधन गर्न सक्नु पर्छ । हामी नेपाली एक भएर एकताको शङ्खघोष गरे विदेशी दलालहरू कुलेलम ठोक्न बाध्य हुन्छन् । हामी एकअर्कामा झगडा गरेर बसिरहे विदेशीको इसारामा नृत्य गरिरहनु पर्छ भन्ने आवाजले मूर्त पाएको निबन्ध हो –एकताको शङ्खघोष । मूलत: यस निबन्धमा राजनीतिलाई व्यवसाय नबनाई जनसमुदायको मनोभावना र समाजको खाँचो टार्ने निकायको रुपमा विकसित गर्नुपर्ने विचार मुखरित हुनपुगेको छ ।

६. अग्रजलाई दर्बिलो शिक्षा :

अभिभावकलाई सम्बोधन गरेर लेखिएको ‘युवाका अभिभावकलाई निवेदन’ शीर्षकको निबन्धमा युवावर्गको चाहाना र अभिभावकको कर्तव्य वारे गहन चिन्तन अघि सारिएको छ । सोच र कर्मले मानिस यूवा भइरहने विचार प्रेषण गर्दै युवा सत्यको शक्तिशाली स्तम्भ भएको कुरा दर्शाइएको छ । युवा वर्तमान पढेर भविष्य सपार्न चाहन्छ । जीवनयुद्ध मैदानको सर्वोत्कृष्ट खेलाडी भइरहन चाहन्छ । भूललाई ठिक गर्न चुक्दैन असत्यका विरुद्ध कुर्लन कदापि छाड्दैन । अज्ञात रहस्य जान्ने इच्छा युवामा हुन्छ । युवा आफ्नो असीमित ऊर्जालाई सही ठाउँमा उपयोग गर्न चाहान्छ । तर, युवा सोच र हिम्मतले मुलुक चलेको छैन । पुरानै पुस्ताको नेतृत्व र हैकमले युवा विचारलाई दलीय स्वार्थतर्फ एकोहोर्याएको छ । यसरी यूवाको जोस उत्पादनात्मक काममा खर्च भई नरहेको र त्यसै खेर गइरहेको तर्फ निबनधमा दुखेसो पोखिएको छ ।

त्यसले आजका अभिभावकले यथास्थितिमा रमाउने बानी हटाउनु आवश्यक देखिएको छ । युवालाई खतरा मोल्न पनिदिनुपर्छ । ज्ञातकुराको पृष्ठभूमिमा अज्ञात रहस्य खोज्न जोसमा होस थपिदिनुपर्छ । यथभ्रष्ट हुनबाट जोगाएर राष्ट्रोन्नतीको एक हिस्सा तुल्याउनु पर्छ । विवेकलाई अङ्कमा तौलिएर असल र कमसल छुट्याउने शिक्षा हैन मौलिक व्यक्तित्व उच्च पार्ने सीपयुक्त शिक्षा दिनुपर्छ । यसका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो युगमा फर्काउने हैन, नयाँ युगको पुजारी बन्न स्वय म परिवर्तन हुनुपर्छ भन्ने आवाज बुलन्द गरिएको छ ।

यस प्रकार ‘शङ्खघोष’ निबन्ध सङ्ग्रहका निबन्धहरूले समाजलाई आवश्यक पर्ने विविध खाले आवाजहरू समेटेर आफ्नो आकार ग्रहण गरेको पाइन्छ । विशेष गरी गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ स्तम्भ अन्तर्गत पर्ने मैथिली भाषाका विविध अङ्क, हिमालिनी हिनदी मासिक पत्रिका, मिथिला मासिक पत्रिका र मैथिली भाषाका विविध विशेषाङ्कमा पूर्व प्रकाशित विविध खाले विचारहरूलाई छाँटकाँट गर्दै नेपाली भाषामा निबन्धको खाका तयार परोको देखिन्छ । निबन्धमा भाषिक त्रुटिहरू एकाध ठाउँमा भेटिन्छन् । विचारमा कफलोपन कतैकतै भेटिन्छ । तर, सम्पूर्ण निबन्धहरू अग्रगामी सोचद्वारा पृष्ठपोषित छन् । समाज निर्माणको आधारस्तम्भका रुपमा ती विचारहरूले अनुकरणीय काम गर्न सक्छन् भन्ने आभास पाइन्छ ।

मूलत: मैथिल समाजकी एक चेलीले हिन्दी भाषामा उच्च शिक्षा प्राप्त गरी र मैथिली भाषाकी संचारकर्मिरहँदै नेपाली भाषामा साहित्य लेख्नु र सङ्गंह प्रकाशन गर्न सक्नु महत्वपूर्ण सफलता हो । निबन्धकार करुणा झाले नेपाली निबन्ध फाँटमा भाषा सम्पादन गरिदिएर र आवश्यक सुझाव दिएर सहयोग पुर्याउनु हुने व्यासशंकर उपाध्याय र नन्दलाल आचार्यको सहयोगको सह्राहना गरेकी छिन् । लेखक एक्लैले सम्पूर्ण स्थानमा कार्य सम्पादन गर्न नसक्नु स्व्भाविक हो । जहाँ जस–जसको प्रत्यक्ष परोक्ष सहयोग प्राप्त भएको भए पनि विषयगत विविधता, प्रस्तुतिकरणको नवीन ढाँचा र पत्रात्मक शैलीको कराण ‘शङ्खघोष’ निबन्ध सङ्ग्रह सावित भएको छभन्दा अतिशयोक्ति गरेको नठहर्ला । धन्यवाद ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *