Skip to content

लेखकलाई अत्यन्त जरुरी सूचना

  • by


-प्रिय लेखकज्यू !

-पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ ! धन्दा नमान्नुस् !

कुरा सोझो गर्नुपर्छ । सपना ठीक्कको साँच्नुपर्छ । धर्ती नछाडी सगरमाथा टेक्नुपर्छ । मूल्य दिन मन छ, सित्तैमा लिने मन छैन । मूल्य तिर्न थालेँ भने पत्रिकाको प्रकाशक/सम्पादक हैन, झोली-तुम्माको मालिक हुनुपर्छ । साहित्यको उचाइ वृद्धि गर्न, परम्परा जिउँदो राख्न र तीतो पाटोलाई मीठोमा बदल्न भएको कुरा लेख्नै पर्यो । त्यसका लागि एउटा चौतारी बनाउनै पर्यो । त्यसैका लागि मन काटेर होस् कि तन काटेरै होस्, प्रेस मालिकलाई उकास्नै पर्यो । हो, त्यही चौतारीको निर्माणमा तपाईंको मसी चाहियो, विवेक चाहियो, कलमी पौरख चाहियो र त्यसले शङ्ख फुक्नुपर्यो । शङ्खको आवाजमा सुनिन्छ अचेल । त्यो पनि एक दुई जनाको हैन । दर्जनका दर्जन हुनुपर्यो । हो, म त्यही फुक्ने मान्छे खोज्दै छु । म एक्लैले फुक्न मिलेन, स्वास्नी, छोराछोरीको साथ लिँन मिलेन । गाँस नमिल्ने, बास नरहने र आश राख्न नमिल्ने काममा अरू परिवारजनलाई समाविष्ट गर्ने हो भने- स्वास्नी पोइल जाली भन्ने त्रास हुन्छ, छोराले दुई पैसा देलाकी भन्ने आश पनि मर्छ, प्रलयको पासोमा सबै फँस्न पुगिन्छ । त्यसैले त भन्दै छु- लेख्नुस्, देखेको चाहियो, भोगेको चाहियो, अनुभवले खारिएको चाहियो । लेख्दा र दिँदा- लेखककी स्वास्नी नगुमोस्, छोरो नभाँडियोस्, परिवारकै पर्खाल नतोडियोस् । थोरै समय दिनुस्, धेरै समय आफैँलाई जोख्नमै विताउनुस् । थोरै समय लेखक बन्न लगाउनुस् । धेरै समय आफैँलाई खार्न लाउनुस् ।

हेर्नुस् लेखकज्यू !

-वस्तुको मूल्य बढ्यो, गुणस्तर घट्यो ! तर, तपाईंको भने मूल्य घट्नु पर्छ, गुणस्तर बढ्नुपर्छ !

जसले जति भुके पनि महल, महल मात्रै हो, महल मात्रै देख्छ, झुपडी देख्दैन । कतै हेर्नैपर्छ कि क्या हो भनेर कोल्टो फर्कन्छ । यसो इशारा दिएमा झस्कन्छ । बरू उसलाई जेलको चिसो छिँडी प्रिय छ तर इमान्दारिता अप्रियको अप्रिय छ । हामीलाई जे चाहिएको थियो, त्यो बढ्यो, हामीलाई नचाहिएको घट्यो । महललाई त बढेकैमा सुख छ । पाँच प्रतिशत बढ्दा दश प्रतिशत थप्न पाइन्छ । झुपडीलाई घट्छ भन्ने आश छ । त्यो सास गए पछि मात्र पूरा हुन सम्भव छ । बोलेको ध्वनि फिर्ता हुन्न, नालबाट निस्केको गोली फर्कन्न । बढेको भाउ पनि घट्दैन । घटाउने कुरा महललाई रुच्दैन । उसले नरुचाएको कुराको विपक्षमा उभिएर फुक्नुपर्यो । त्यस फुकाइले सिलोटहरू उठ्नुपर्यो, छुराहरू कुलेलम ठोक्नुपर्यो ।

लेखक महाशय !

-तीतो कुरा पकाउनुस् ! मीठो परिकार तुल्याउनुस् ! खट्टीमिठ्ठी बनाउनुस् ! भोजन ग्रहण गर्ने इच्छा पालून् । नौलो स्वाद भेटून् ।

धेरै किन अल्मलाउनू । पाउने आश नपाल्नुस्, बन्ने आश गर्नुस्, हुने सम्भावना रोज्नुस् । हैन, मूल्य पनि पाउने, लेखक पनि बन्ने आश छ भने अन्तै प्रयास गर्नुस् । थाक्नुस् । घर बसे पिँडालु, वन पसे पिँडालु, ससुराल धाए पनि पिँडालु ! जता गए पनि पिँडालु नै रहेछ भन्दै पुनः फरक्क फर्कनुस् । हेर्नुस्, मैले भनेको मान्नुहुन्छ भने- तीतो कुरा बटुल्नुस्, मीठो शैलीमा उतार्नुस् । छोटो पार्नुस् । पीरो पार्नुस् । तात्तातै पार्नुस् । रिसले पारो तातेकालाई सेलाउने बनाउनुस् । पहिलेदेखि सेलाएकालाई तताउनुस् । आफू नहाँस्नुस्, अरूलाई मात्र हँसाउनुस् । कलमको तागत देखाउनुस्, वर्तमानलाई राम्ररी केलाउनुस् । लुकाएर नलिनुस्, देखाएर लिनुस् । जसबाट जे लिनुहुन्छ, त्यसलाई नै त्यही रूपमा फर्काउन मकहाँ पठाउनुस् । त्यो लिपीबद्ध भएर फर्कन्छ र हाँसोलाई आँसुमा बदल्छ, आँसुलाई हाँसोमा रूपान्तरित गर्छ ।

यसो गर्दा कसैले औँलो ठड्याउन नसकून्, वेफ्वाँकको रहेछ नभनून् । त्यस्तो लेख लेख्नुस्- एउटैले वर्तमान बोलोस्, भूत तर्साओस्, भविष्य थर्काओस् । त्यसमा दम होस्, धम्की नरहोस् । भ्रष्टको तीन पुस्ते नालीबेली केलाओस्, निमुखालाई प्रष्ट वताओस् । मलाई त्यस्तो लेखको आवश्यकता छ जसमा जोस होस् तर बेहोस् नहोस् । व्यङ्ग्य होस्, खोक्रो आदर्श नरहोस् । हाँस्य रस होस् तर वीर रस नमरोस् । हाँस्दाहाँस्दै भुतुक्कै पारोस् । भुतुक्क भइसकेकालाई पनि बेलाबखतमा हँसाओस् । लेखकले सधैँ त्यस्तै लेख थम्याओस् । हुलाकमा विजुली नै रोजोस् ।

लेखकज्यू,

-हँसाउन जान्दछु ! ताक परे नचाउन पनि जान्दछु ! तर, सही मार्गमा डोहोर्याउन रुचाउँछु !

म लिन चाहन्छु, चाहेरै पनि दिन सकिन्न । बुद्धि किनेरै पनि सकिन्न । कीर्ति जोखेर पनि जोखिन्न । बेक्कारमा बुद्धि दुई पैसामा नबेच्नुस् । सके महङ्गोमा बेच्नुस् तर सदुपयोगमा मात्र । नबिके दुरुपयोग नगर्नुस् । तर, हामीलाई भने निःशुल्क उपलब्ध गराएर सहयोग पुर्याउनुस् । तपाईंका तात्ताता अक्षरले झुपडीले पनि महलको सपना सङ्गाल्न सक्छन् । लाटोले पनि बाठो बन्न पाउँछ । आँसुले चाहिँ हाँसो पाउँछ । भ्रष्टनाइके गहिरो नालामा पर्न पुग्छ । निर्दोष आनन्दले पाखामा उत्रन पाउँछ । तपाईं जुटे, संसार जुट्न वाध्य हुन्छ । तपाईं लुके संसार फुट्न सक्छ । तपाईंसँग विषय छ । तपाईंसँगै कलम छ । शब्द पनि तपाईंसँगै छ । संसार त व्यापारीकरणको राजधानी भइसक्यो । विना नलिई दिन्न भन्छ । किन त्यसो गर्छस् भन्दा- पेट मार्न सकिन्न, आङ नङ्ग्याउन पाइन्न, रुखमुनि बस्न मिल्दैन भन्छ । तपाईं भने व्यापारी नबन्नुस् । व्यापार गर्न नलेख्नुस् । लेखेर व्यापारी नबन्नुस् । विवसता बुझ्नुस् । कलमीकर्मले खबरदारीमा जुट्नुस् । एउटा चौतारी दिलाउने ठेक्का मेरो भयो ।

हेर्नुस् लेखक बन्धु !

-कुरो जान्छ ! कुलो पनि जान्छ तर व्यवहार जाँदैन ! गयो कि संसार चल्दैन ! नचलेको संसारमा अडिन गाह्रो छ !

धन्दा नमान्नुस् । म पनि दिन्छु । नदिई चौतारो बन्ने भए जसले पनि बनाउँथ्यो । म प्रकाशक/म सम्पादक भनी-भनी कुर्लन्थ्यो । आफूलाई लेखक जन्माउने जननी, बनाउने कलाकार र शिखरमा पुर्याउने सिँढी नै सम्झन्थ्यो । मुखले भन्नु र कामले फत्ते गर्नुमा आकाश-धर्तीको फरक छ । कागजका लागि, छपाइका लागि, वितरणका लागि, खै, के-केका लागि हो कुन्नि ! गोजी नरित्याई हुन्न । रित्तो गोजी देख्दा स्वास्नी नै झर्कोफर्को गर्छे । पत्रिका प्रकाशक/सम्पादकको गोजी रित्तो नरहन विकाऊ पत्रिका बन्न सक्नुपर्छ । नेपालमा साहित्य बिकिरहेको छैन । बिक्न खोजे पनि खास पुस्तक बिक्ने हो । अरू बाटोबाट आएको रकम यसमा लगाउनुपर्छ । यत्ति बासबाट जोगाउँछु, यत्ति गाँसबाट कटाउँछु, उत्ति कपासबाट घटाउँछु भन्नु पर्या छ । पत्रिका बजारमा जान्छ, पाठक भेट्दैन, कुनै फरक्क फर्कन्छ । कुनै भने पसल मालिककै सेवामा हाजिर भइरहन्छ । उता प्रेस मालिकलाई रकम बुझाउन दुई दिन ढिलो भयो कि रामायण सुन्नुपर्छ । सुनेन भने महाभारतमै जाकिनुपर्छ । कहिरन यस्तै छ । यस बारे कुरा सुन्नुस्, मनमा गुन्नुस् र होसको ओखती पिउनुस् । साहित्यको रथ हाँक्ने एउटा संस्था हो- साझा प्रकाशन । पत्रिका दिनुस् कि किताब थम्याउनुस् । लिन्न भन्दैन । लिएर एक कुनामा थन्क्याउँछ । त्यसको छानोबाटै आकाशका जूनघामको दर्शन गर्न पाइन्छ । वर्षायाममा आकाश रुँदा विचारा ‘नेपाली’ पत्रिकाहरू रुझ्दछन्, रहरका खेती ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ पुस्तकहरू काठमाडौंमा रुझेर सड्दछन् । तिनले कुनै शाखाको मुख देख्न पाउँदैनन् । कुनै पुस्तक प्रदर्शनीमा देखिन पाउँदैनन् । कम्तिमा मेची-महाकालीका शाखा-शाखा डुलेर फर्कन पाउने तिनको नैसर्गिक अधिकार हनन भएको टुलुटुलु हेर्न पर्या छ । लेखक/प्रकाशक मारमा परेको छ । किन यस्तो भन्न पनि सामलखाजा लिएर पुग्नुपर्छ त्यहाँ । पुगे पनि ‘सरकारी काम कहिले जाला घाम’को चक्रव्यूहमा फँस्नुपर्छ । व्यवस्थापकीय मर्यादा मरेको छ । साराका सारा लेखक/प्रकाशक धतुरे बनेका रामकहानी सुनेर फर्कनुपर्छ । अनर्गल सुन्न नसक्नेलाई जानुभन्दा, पुग्नुभन्दा नजानु र नपुग्नु वेस भएको छ । सोर्स बिक्छ, बरू फोर्स बिक्छ, भनसुन काम लाग्न सक्छ तर अनुरोध जस्ताको तस्तै फर्कन्छ । बौद्धिक वर्गको साझा थलोको त यस्तो हालत छ, अरूको झन् कस्तो हुन्छ ! कल्पनाले कल्पना गर्न पनि ठाउँ पाउन्न ।

अतः कामको कुरा गरौँ । फुइँफुट्टे हुलाकको बाटो नरोज्नुस् । चिठीपत्र बीच बाटोमा अपहरणमा पर्छन् । जिम्मेवारी लिने निकाय निदाएको अवस्था छ, खबरदारी गर्ने मन्त्री भ्रष्टचारीको केसमा थुनिएको अवस्था छ । त्यसैले त बन्धु ! हवाइ हुलाक अझ नरोज्नुस् । दुर्घटनामा पर्न सक्छ । अत्तो न पत्तो विहीन रहन सक्छ । त्यसैले त लेखकज्यू, लोडसेडिङ्गले जति सताए पनि रातको बाह्र बजे उठेर भए पनि बिजुली हुलाक नै रोज्नुस् । किनकि म एक्लै मर्न चाहन्न, साथै मर्न चाहन्छु । प्रकाशक/सम्पादक भएर त मरियो, मरियो अब भुइँफुट्टा र हवाई हुलाकको भर पर्न थाल्दा पुनः मर्नुपर्छ । पटक-पटक नमार्नुस् । मर्न साथ दिनुस् । तपाईं लाभमा हुनुहुन्छ । कम्तिमा तपाईं लेखक त बन्दै हुनुहुन्छ । मसी बिक्दै छ, कलम बिक्दै छ, शब्द बिक्दै छ, विचार त सार्वजनिक हुँदैछ । कम्तिमा समाजले एउटा राजमार्ग भेट्दै छ । पत्रिका पाउन सक्नु भएन, किन्न भेट्नुभएन भने विजुली हुलाकबाटै पीडिएफ फाइल पाउनुहुनेछ । आश गर्नुस्, एक लेखकको यत्ति भावना नबुझ्ने हैन । ढिलो-चाँडो सुचित रहनुहुन्छ । एक लेखक अर्को लेखकलाई धोकामा राख्न चाहँदैन । अति गर्न कसैले पनि पाउँदैन । रावणराज सधैँ टिक्दैन, रामराज नआई छाड्दैन । धन्यवाद !

०६८.११.१५

नन्दलाल आचार्य
पत्राचार – लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज-९, सप्तरी
मो. नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *