Skip to content

कक्षा-९ र १० का दुई शैक्षणिक व्याकरणको शल्यक्रिया

  • by


हाम्रो शरीरका नशाले शिरदेखि पैतालासम्म रक्तसञ्चार गरी मानव शरीरलाई जीवित तुल्याएझैँ भाषालाई जीवित तुल्याउने काम व्याकरणले गर्दछ । विना व्याकरण भाषा सिक्न खोज्दा भाषा शिक्षणमा कृत्रिमता आउँछ । त्यो भाषाशिक्षण अवैज्ञानिक र अव्यवहारिक हुन्छ । भाषा सिकाइसँगै व्याकरण सिकाइ पनि भइरहेको हुन्छ । भाषाले व्याकरण होइन, व्याकरणले भाषा पछ्याउँछ । कारण भाषाको आन्तरिक संरचनाअन्तरगत आएर व्याकरणले आन्तरिक संरचना र नियमको व्याख्या गर्छ । भाषिक सीप विकास गर्न, भाषिक अनुशासन कायम गर्न, भाषिक ज्ञानको उपयुक्त स्तरण र परिष्कार गर्न, भाषा वैज्ञानिक दृष्टिबाट रूपगत एवम् वाक्यगत संरचना पहिल्याउने ज्ञानको विकास गर्न, व्याकरणात्मक नियमबाट भाषिक नियन्त्रण गर्न खोज्दा विविध शैलीगत विचलनबाट मुक्त पार्न, विविध भाषा र भाषिकाको प्रभावबाट मुक्त पार्न, औपचारिक/अनौपचारिक भाषिक प्रयोग व्यवहार गर्न सक्षम तुल्याउन, मानक, स्तरीय र शिष्ट भाषा सिक्न सक्षम पार्न, उपयुक्त भाषिक संरचनामा तार्किक एवं सिर्जनात्मक भाषिक प्रयोग व्यवहार गर्न दक्ष पार्ने प्रयोजन स्वरूप व्याकरण निर्माण गरिन्छ । भाषिक मितव्ययी शैली अपनाउन, व्याकरणिक दृष्टिबाट अभिव्यक्त भाषा ठीक छ कि छैन भनी छुट्याउनजस्ता कार्य सम्पन्न गर्न समेत परम्परागत ढाँचाको जस्तो व्याकरणलाई साध्य नबनाई समयको मागबमोजिम साधनमा मात्र सीमित गर्नुपर्छ । व्याकरणको औपचारिक अध्ययनले नै भाषिक अनुशासन स्पष्टताका साथ बुझ्न सकिन्छ । भाषालाई वक्ता, बोद्धा र विषय अनुकूल बनाउन व्याकरणको खाँचो परिरहन्छ ।

एकभन्दा बढी भाषिक अनुशासनमा बाँधिएका सिकारुहरूलाई एकै प्रकारको शिक्षणसिकाइ सामग्रीको उपयोग गरी पढ्नुपर्ने वाध्यता, अरूको देखासिकीमा व्याकरण लेख्ने परम्परा, पुरानो मानकमा पारङ्गत भएका शिक्षकवर्गबाट नयाँ मान्यता अनुरूप शिक्षण गर्नुपर्ने अवस्था, मानक व्याकरण र शैक्षणिक व्याकरणको अभाव खट्किरहनु, शिक्षकवर्गमा प्रयोगात्मक ढङ्गले अध्यापन गर्ने सुझबुझको अभाव रहनु, सिद्धान्त रटाएमा मात्र शुद्ध भाषा सिक्न र सिकाउन सकिने गलत धारणा विद्यमान हुनुजस्ता कुराहरूले नेपाली व्याकरण शिक्षणमा जटिलता थपिएको छ । अझ भाषाशिक्षणबाट अलग्याएर अध्यापन गराउने मानसिकताले व्याकरण शिक्षणलाई असान्दर्भिक र कृत्रिम बनाइदिएको छ ।

समस्या भएकै ठाउँमा समाधान पनि रहन्छ । भाषिक परिवर्तन सँगसँगै नयाँ र सर्वस्वीकार्य मानकका आधारमा व्याकरण लेखनतर्फ संस्थागत प्रयास हुनु जरुरी हुन्छ । तह र कक्षाबमोजिम भाषिक सीप अभिवृद्धिमा टेवा पुग्ने किसिमका शैक्षणिक व्याकरण लेखन, प्रकाशन र सर्वसुलभरूपमा वितरणको व्यवस्थापन हुनु जरुरी भएको छ । भाषाशिक्षणकै एकीकृतरूपमा व्याकरण शिक्षणलाई पनि लग्नु जरुरी छ । व्याकरण शिक्षणलाई प्रयोगात्मक बनाउन निगमन विधिद्वारा सिद्धान्त घोकाउने प्रथाको अन्त्य गरी उदाहरणबाट अभ्यासात्मक क्रियाकलाप अघि सारी सिद्धान्त स्वयम् निर्माण गर्ने आगमनात्मक पद्धति वा विधिको अवलम्बन हुनु आवश्यक हुन्छ । पुराना शिक्षकलाई व्याकरण शिक्षण सम्बन्धी आधुनिक एवम् शैक्षणिक कार्यकलापका बारेमा समुचित तालिमको व्यवस्था हुनुपर्छ ।

छोटो समयावधिमा प्रशस्त विषयवस्तुहरू सूत्रात्मक रूपमा सिकाउन सकिने, सीमित साधन, स्रोत र श्रमका भरमा पनि सिकाइ गर्न गराउन सकिने निगमन विधिको उपयोग तल्ला तह र कक्षामा भन्दा माथिल्लामा बढी उपयोग हुनसक्छ । तल्ला तह र कक्षामा भने यो विधि घातक हतियार सिद्ध हुन सक्छ । यसको कारण के हो भने विद्यार्थीको सहभागिता वेवास्थामा पर्छ । निर्देशानात्मक र आदेशनात्मक प्रकृतिको शिक्षकपरक शिक्षण हुन पुग्छ । अर्कातिर घोकाइमा आधारित रहने र वालमनोविज्ञान प्रतिकूल हुने खतरा रहिरहन्छ । सिकाइ वैज्ञानिक र व्यवहारिक नभई सैद्धान्तिक र कृत्रिम ठहरिन्छ ।

स्पष्टीकरण, परिभाषा, अभ्यास र आवृत्तिको क्रमानुरूप उदाहरणद्वारा व्याकरणिक कुराहरू सिकाउने आधुनिक विधि आगमन विधि हो । प्रयोग र व्यवहारबाटै भाषिक नियम र परिभाषा खोज्न सिकारुहरू उदाहरणबाट नै अनौपचारिक रूपमा सक्षम हुन्छन् । उनीहरूको प्रत्यक्ष संलग्नता र सहभागितामा सिकाइ फलदायीरूपमा अघि बढ्छ । भाषिक क्षमता बृद्धिसँगै व्याकरणात्मक तत्वहरू स्वतः सिक्दै जान सिकारुहरू सक्षम हुँदै जान्छन् भन्ने मान्यता यसमा छ । हुन त सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता भाषिक सीप विकासलाई गन्तव्यमा पुर्याउन प्रयोगात्मक र वैज्ञानिक विधि भनेकै आगमन विधि हो । यस विधिद्वारा सिक्न र सिकाउन शिक्षकले अत्यधिक सचेतताका साथ कार्य सम्पादन गर्नुपर्छ । समय प्रशस्त व्यय हुन्छ, उपलब्धी विस्तारै प्राप्त हुन्छ तर त्यो चीरस्थायी हुन्छ । भाषशिक्षणबाट व्याकरणलाई पृथक नराखी विद्यार्थीमा उत्सुकता, कौतुहलता र सक्रियता बढाउने काममा आगमन बिधि एकोहोरिन्छ । यसो गर्दा समय, श्रम र स्रोतको अत्यधिक उपयोग भएर खर्चिलो देखिने हुन्छ । सचेत र दक्ष शिक्षकको अभावमा शिक्षण सिकाइ असफल हुने खतरा पनि उत्तिकै रहन्छ । सिकारुको सक्रियता अनिवार्य सर्त रहने भएकाले कक्षा नियन्त्रण र विवादास्पद उदाहरणहरूका र गलत किसिमले नियमहरूको सामान्यीकरण हुन गई सिकारुहरूले गल्ती गरिरहने प्रवृति समेत देखा पर्न सक्छ । अतः अवगुण पक्षप्रति सचेत रहन सके यही विधि व्याकरण शिक्षण विधि सर्वोत्कृष्ट सावित हुन सक्छ ।

त्यही आगमनात्मक शिक्षण विधि लागू हुने प्रकृतिको ‘प्रयोगात्मक नेपाली व्याकरण र रचनाशिल्प’ कक्षा-९ र ‘प्रयोगात्मक नेपाली व्याकरण र रचनाशिल्प’ कक्षा-१० नाम दिएका शैक्षणिक व्याकरणका दुई पुस्तकहरू बुद्ध एकेडेमिक पब्लिसर्स एण्ड डिस्टिव्युटर्स प्रा.लि. काठमाडौँले २०६८ मा प्रकाशन गरेको छ । ती दुईवटै व्याकरणहरू नेपाली भाषा, साहित्यमा लामो समयदेखि क्रियाशील धीरकुमार श्रेष्ठले भाषा/साहित्यका विशिष्ट अध्येता विद्वान्द्वय रामप्रसाद ज्ञवाली र गणेशप्रसाद भट्टराईको कुसल निर्देशनमा रही र भेषराज पोखरेलसँग सहकार्य गरी कक्षा-९ र १० को विशिष्टीकरण तालिकामा आधारित रही लेखेका हुन् ।

व्याकरणका सकारात्मक पाटाहरू-

१. विशिष्टीकरण तालिकाअनुरूप तयार पारिएको,

२. व्याकरण शिक्षणका आगनात्मक विधिहरूमा आधारित रहेको,

३. शिक्षणिय पाठपूर्व नै पाठका उद्देश्यहरू किटान भएको,

४. प्रारम्भमा विद्यार्थीको पूर्वज्ञानमा आधारित रोचक अभ्यासहरू राखिएको,

५. पाठहरूको सटिक परिचय र उदाहरणहरू पेस गरिएको,

६. ‘परिक्षण-सामग्री’ स्तम्भमा निर्दिष्ट लक्ष्यपूर्ति अनुरूपको रोचक अभ्यास थपिएको,

७. ‘अन्य-सामग्री’ स्तम्भमा परीक्षापयोगी थप अभ्यास राखिएको,

८. परीक्षामा सोधिने प्रकृतिअनुरूप ‘मूल्याङ्कन-सामग्री’ स्तम्भमा अभ्यासहरू राखिएको,

९. प्रत्येक पाठको अन्त्यमा ‘विशेष जानकारी’ स्तम्भमा विशिष्टीकरण तालिकाले निर्दिष्ट गरेका तथ्यगत जानकारी (प्रश्नको प्रकृति, अङ्कभार र समय) उल्लेख भएको,

१०. वोध र अभिव्यक्ति अन्तर्गत सङ्क्षिप्त नियमहरू सहितका जानकारी उल्लेख भएको,

११. अन्त्यमा परीक्षापयोगी नमुना-उत्तर हस्तलिखितरूपमा प्रस्तुत गरिएको,

१२. स्वाध्ययन सामग्रीको रूपमा समेत सिकारुले प्रयोग गर्न सक्ने हिसावले आधारभूत जानकारी समेट्न कोशिस रहेको,

१३. पुस्तकको आकार, अक्षर, छपाइ र स्तर कक्षा र तह अनुरूप उत्तम रहेको, आदि ।

व्याकरणका नकारात्मक पाटाहरू-

१. सिकारुको चौतर्फी व्याकरणात्मक सीप विकासमा पूर्णता दिन नसकेको,

२. परीक्षामुखी शैक्षिक सामग्रीका रूपमा तयार पारिएको,

३. निर्दिष्ट पाठहरूको पर्याप्त जानकारी र यथेष्ट उदाहरणहरू पेस गर्न नसकेको,

४. विशिष्टीकरण तालिकाले सङ्केत गरे बमोजिम मात्र एकोहोरिएको,

५. कमजोर विद्यार्थीहरू हत्तोत्साहित हुने गरी कतिपय ठाउँमा कठिन अभ्यासबाट पाठ सुरुआत गरिएको,

६. बोध र अभिव्यक्तिअन्तर्गत कमै नियम र जानकारी उपलब्ध गराइएको,

७. सामान्य आर्थिक हैसियत भएका सिकारुहरूका निम्ति मूल्य निर्धारण उच्च भएको,

८. सिकाइमा बढी श्रम, समय र स्रोतको उपयोग गर्नुपर्ने अवस्था देखिने,

९. यी व्याकरणका आधारमा सिकाइ गर्न कुशल शिक्षकको अभाव भएमा फलदायी शिक्षण सम्भव नहुने,

१०. कार्यकलापमुखी, प्रयोगमुखी, आवश्यकताअनुकूल र शिक्षार्थीपरक बनाउन अझ कोशिस गर्नुपर्ने देखिएको, आदि ।

व्याकरण लेखनको जटिलता र भाषिक सङ्क्रमणकालीन यस समयमा निश्चय नै ‘प्रयोगात्मक नेपाली व्याकरण र रचनाशिल्प’ नामक कक्षा-९ र १० का दुई बेग्लाबेग्लै शैक्षणिक व्याकरणका पुस्तकहरू प्रकाशनमा आउनु नेपाली व्याकरण लेखनको इतिहासमा महत्वपूर्ण प्राप्ति हो । यी दुबै अभ्यासात्मक र प्रायोगिक प्रकृतिका देखिन्छन् । निर्दिष्ट विशिष्टीकरण तालिकाले सङ्केत गरेभन्दा बाहिरका अन्य सहायक पाठहरूको अभाव खट्केको छ । यसबाट व्याकरण सिकाइका अन्य विविध पाटाहरू ओझेलमा पर्न सक्ने देखिन्छ । परीक्षामुखीभन्दा सीपमूलक र अभ्यासमूलक व्याकरण लेखन आजको आवश्यकता हो । यस सन्दर्भमा लेखकद्वयको ध्यानाकर्षण गर्दै आगामी संस्करणमा थप पाठहरू समाविष्ट हुने र अझ रोचक अभ्यास र जानकारी थप्दै जानुपर्ने अपेक्षा राख्नु सान्दर्भिक ठहर्छ ।

नन्दलाल आचार्य
लिटिल फ्लावर मा.वि., राजविराज-९, सप्तरी ।
०६८.१२.२९ बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *