Skip to content


यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् । एकदर्जन कृतिका स्रस्टा, आधा दर्जन कृतिका सम्पादक, साढे चार दशकको साहित्यिक साधना यतिखेर धेरैले बिर्सेजस्तो छ । एउटा स्रस्टाको कदर समयमै गर्नुपर्छ, समयमै सम्झनुपर्छ भन्ने सोच धेरैमा अझ नआएजस्तो भएको छ । बनिबनाउ साहित्यकार, उठाएका र चर्चामा ल्याइएका साहित्यकार अनि राजनीतिक हैसियत हेरेर ‘साहित्यकार’ बनाउने होडबाजीले दैवज्ञराज न्यौपाने जस्ता साँच्चिकै साहित्यकार अचेल ओझेल पर्न थाल्नुभएको छ । बिर्सिन थाल्नु भएको छ, ओझेल पर्न थाल्नुभएको छ ।

छ दशकको उमेर पनि नटेक्दै हिँड्दाहिँड्दैको एउटा ‘फुर्तिलो’ मान्छे रोगले गाँजेपछि अशक्त अवस्थामा पुग्नुभयो- दैवज्ञराज न्यौपाने । लेखन, सम्पादन, साहित्यिक सक्रियता, प्राध्यापन आदिमा संलग्न भएर सहज र सक्रिय जीवन बाँच्ने दैवज्ञराज न्यौपाने विगत तीन वर्षदेखि असहज र निस्कृय जीवन बाँचिरहनु भएको छ । रोगले गाँजे पनि झण्डै तीन वर्ष त लेखन नछाडि उहाँ निरन्तर साधनारत हुनुभयो । गएका साउन महिनादेखि रोगले आँखालाई पनि आक्रमण गरेपछि एउटा सिर्जनशील व्यक्तित्व लेख्न नसक्ने अवस्थामा पुग्नुभएको छ । काठमाडौँको गैरीगाउँस्थित आˆनै घरमा राम्ररी बोल्न पनि नसक्ने अवस्थामा उहाँले भन्नुभयो- “गत साउन महिनादेखि त आँखाको कारण लेख्न पनि सकेको छैन ।”

एउटा सरल, सक्रिय अनि फुर्तिलो मान्छेको जीवनमा २०६२सालको भदौ १५गते ‘ब्रेन हृयामरेज’ भएपछि दैवज्ञराज न्यौपाने ओछ्यान पर्नुभएको छ । बिरामी अवस्थामै पनि उहाँका ‘सम्झनाको धरातलबाट’ -खण्डकाव्यहरूको सङ्ग्रह-२०६३), घामले ढोका खोल्यो -बालकविता सङ्ग्रह-२०६५) प्रकाशित भइसके भने एउटा बालकविता सङ्ग्रह प्रकाशनको तरखरमा छ । यसअघि कवि एवं समालोचक दैवज्ञराज न्यौपानेका सिर्जनाको लहर -कविता र गीतसङ्ग्रह-२०३५), तोतेबोली -बालकविता सङ्ग्रह-२०३८), गाउँखानेकविता -बालकविता सङ्ग्रह-२०४३), हुने विरुवाका चिल्ला पात -जीवनी सङ्ग्रह-२०४५), जोर मुरली -कविता सङ्ग्रह-२०४६), बालसंसार -बालकविता र गीत सङ्ग्रह-२०५३), सबै हाम्रा साथी -बालकविता सङ्ग्रह-२०५६), गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन -२०५४) नाट्य परम्परा र भारती खरेलका नाटकहरू -२०५४) समालोचनात्मक ग्रन्थहरू प्रकाशित भइसके । वि.सं. २०२० सालमै ‘अरूणोदय’ पत्रिकामा ‘उनीमा निम्तो’ शीर्षकको रचना प्रकाशित गराएर साहित्यमा औपचारिक यात्रा थाले दैवज्ञराज न्यौपानेले साढे चारदशकको समय साहित्यमा लगाइसक्नुभयो । यसैबीचमा ‘नेपाली कविता -भाग १-४) को सम्पादन, वाङ्मय, भानुदर्शन, इलम, धर्मसन्देश, मुना, बालक पत्रिकाको सम्पादनमा संलग्न रहनु भयो उहाँ ।

वि.सं. २००४ को मङ्सिर ३० गते भोजपुरको गोगनेमा जन्मिनुभएका दैवज्ञराज न्यौपानेको जीवनको अधिकांश समय काठमाडौँमै बितेको छ । सिर्जना,साधना गर्ने थलो यही हो, काठमाडौँको बानेश्वरमा निकै वर्ष व्यतित गरेपछि केही वर्षदेखि उहाँ काठमाडौँको गैरीगाउँमा बस्दै आइरहनुभएको छ । रोगले राम्ररी बोल्नसक्ने नसक्ने अवस्थामा पुग्नुभएका साहित्यकार दैवज्ञराज न्यौपाने यतिखेर आफूप्रति स्नेह गर्ने, सम्मान गर्ने र सम्झना गर्नेहरूलाई भावुक भएर सम्भिmरहनु भएको छ । उहाँकै शब्दमा भन्नुपर्दा २०६३ सालमा प्रज्ञाप्रतिष्ठानबाट ५० हजार, २०६५ सालमा भीएस निकेतन र लिटिल एन्जेल्स स्कुलबाट सम्मानस्वरूप ३५ हजार रुपियाँ पाउनुभयो उहाँले । त्यसो त वि.सं. २०४२ मा राष्ट्रिय युवावर्ष मोती पुरस्कार, प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा तीनपटक पुरस्कृत,बाल हितकारी पुरस्कार, बाल साहित्य पुरस्कार, छिन्नलता विशेष सम्मान, दीपस्मृति पुरस्कार, गुणराज व्याख्यान पुरस्कार आदिबाट सम्मानित भइसक्नुभयो उहाँ ।

दैवज्ञराज न्यौपाने जस्ता स्रस्टा साधकहरू मुलुकको खर्चमा उपचार गराउन देश बाहिर जान पाउँदैनन्, उहाँजस्ता स्रस्टा साधकहरूको उपचारमा राष्ट्रले न चासो लिन्छ न त गम्भीर नै बन्छ । समयमै उपचार नपाएर अकालमै मृत्युवरण गर्न पुग्ने स्रस्टाहरू यो मुलुकले धेरै नै देखिसक्यो । उपचार खर्चको समस्याले पिल्सिने कतिपय स्रस्टाहरू रोगले भन्दा उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले पीडित बन्ने गरेका छन् । रोग, रोगबाट प्राप्त पीडा अनि उपचार खर्च जुटाउने समस्याले ग्रस्त स्रस्टाहरूको उपचारमा मुलुकले सोच्ने कि नसोच्ने ?

दैवज्ञराज न्यौपानेले यो मुलुकको भाषा-साहित्यका लागि दिनुभएको योगदान कुनै राजनीतिज्ञले दिएको योगदानभन्दा कम छैन, अझ बढी पनि होला । एउटा राजनीतिज्ञ मुलुकको खर्चमा उपचार गाउन देश बाहिर जाने सुविधा पाउँछ भने स्रस्टा साधकले यस्तो सुविधा किन नपाउने ? स्रस्टाहरू यस्ता विषयमा आफैँ बोल्दैनन्, आˆनो उपचारका लागि निवेदन दिने काम पनि प्रायः स्रस्टाबाट हुँदैन । मुलुकका स्रस्टाका लागि सोच्ने त मुलुकले हो । दैवज्ञराज न्यौपाने र उहाँजस्ता स्रस्टाले उपेक्षाको जीवन भोग्न नपरे कस्तो हुँदो हो । यतिखेर हामीले जे सोचे पनि, राष्ट्रले उहाँबारेजे सोचे पनि वा सोच्दै नसोचे पनि दैवज्ञराज न्यौपाने यतिखेर लेख्न नसकेको बारे सोचिरहनु भएको छ, रोगको उपचारबारे सोचिरहनु भएको छ र लाग्छ यो मुलुकले स्रस्टा साधकहरूप्रति गर्ने व्यवहार सोचिरहनु भएको छ । साँच्चै, दैवज्ञराज न्यौपाने यतिखेर के सोचिरहनु भएको छ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *