Skip to content

सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र


दक्षिणे भक्त नेपाल सरखार महाशय,

म नेपाली भूमिको एक सन्तान भएको नाताले मनका भावनाहरू पोख्दै छु । सरकार हुनलाई जनताका भावनाहरूलाई यथोचित तवरले सम्बोधन गर्न सक्नुपर्छ । जति पटक कुर्सीमा बसे पनि म तिमीमा सरकारको गुण देखिरहेको छैन । खाली दक्षिणेलाई महाप्रभुको रूपमा पूजाआजा गरेर आफ्नो महत्वाकांक्षा पूरा गर्न लालायित लालची भक्तका रूपमा मात्र देखिरहेको छु । मुलुकलाई पराधीन तुल्याएर दलीय स्वार्थको घैंटो भर्ने अपराधी चरित्र मात्र देख्दै छु । त्यसैले सम्बोधनमै ‘सरखार’ भन्ने गरेको छु । यसमा अन्यथा मान्नुपर्ने कुनै कारण देख्दिनँ ।

हेर ! मलाई त पूरापूरी एकिन भयो । तिमीलाई न नेपाल प्यारो छ, न जनता प्रिय छन् । नेपाल तिमीलाई साह्रै अफ्ठ्यारो छ । भोट तान्ने बेलामा मात्र जनता प्रिय छन् । अरू बेला गुहे कीरा हुन् । दक्षिणे प्रभुहरू तिम्रा हृदयमा बसेका छन् । उनीहरूको हात शिरमा परे आफूलाई भाग्यवानी ठान्छौ । नपरे अमनचयन लिलाममा परेको सम्झन्छौ । दक्षिणेको कुटनैतिक सफलतामै आफ्नौ भाग्य चम्केको देख्छौ । हो, मलाई थाहा छ, सत्तास्वार्थमा लिप्त भई मरिहत्ते गर्ने तिमीहरूजस्ता मन नभएकाहरूसँग राष्ट्रियताको आभाष हुँदैन । दशगजा मिचेर हजारौं बिघा नेपाली भूमि अतिक्रमण गर्दा समेत तिमीहरू बेखबर छौ । समस्यामा नेपालीहरू रहँदा समेत तिमी सत्ता र शक्ति बचाउनका लागि मात्र दिल्ली दौडाहामा केन्द्रित हुन्छौ । दिल्लीलाई रुघा लाग्दा तिमीहरू आत्तिन्छौ । दिल्लीले खोक्न खोज्दा तिमीहरूको होसहवास उड्छ । उसले इसारा गर्न साथ धोती न टोपी भएर दौडन्छौ । उसको सेवामा हाजिर हुन पाउनु गौरवको कुरो सम्झन्छौ । देशको साख गिरेको चिन्ता छैन, पुनरुत्थानवादी शक्ति चलमलाएको प्रवाह छैन । धम्की मिश्रित आश्वासनको पोको भेट्यौ भने आफ्नो जीवन सफल भएको सम्झन्छौ । नेपाली जनता उल्लु भइदिएका भए खुल्लमखुल्ला देश बेच्दै खान्थ्यौ । जनता केही चनाखा भएका कारण परोक्षरूपमा बेच्दै खाँदै छौ । यो कुरो हरेक सचेत नेपालीको मनमस्तिष्कमा गडेको छ ।

पत्यार भएन भक्त महाशय ! अरू ठाउँको कहिरनको पाटो बेग्लै छ । आज म सप्तरी जिल्लाको कहिरन बताउँदै छु । सप्तरीको लालापट्टी गाविस र भारतको बिहार राज्यअन्तर्गत पर्ने राजपुर ग्राम पञ्चायत बीच रहेको दशगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी दक्षिणे पक्षले वर्षौदेखि उपभोग गर्दै आएको छ । उसले सरकारी लगानीमै कच्ची सडक, कलभर्ट, पुल लगायतका भौतिक संरचना निर्माण गरेको छ । स्थानीय नेपाली प्रशासन कुम्भकर्णे चीरनिन्द्राबाट बिउँझिएको छैन । स्थानीय जनताहरूले कैयौं पटक स्थानीय प्रशासनमा जाहेरी गरे पनि सुनुवाइ भएकोे छैन । माथिको भजन गाएर सुनाउने काम मात्र हुन्छ । माथि भनेको तिमीहरू नै हौ । मस्तिष्क त तिम्रो छँदै छैन, के आँखा र कान पनि छैनन् ?

चार वर्ष अघि नै दक्षिणेहरूले ग्रामीण स्वरोजगार ग्यारेण्टी योजना कार्यक्रमअन्तर्गत लाखांै लगानी गरेर दशगजा क्षेत्रमै कच्ची सडक तथा कलभर्ट निर्माण गरेका छन् । नेपाल–भारत दुई देशको सीमालाई छुट्याउन गाडिएको बोर्डर पिलरको बीचमै दशगजालाई मिचेर दक्षिणेहरूले भौतिक संरचना निर्माण गरे पनि तिमी अझै बेखबर छौ । नपत्याए हेर– सीमास्तम्भ २२६/१७ र २२६/१८ का बीचमै दक्षिणेहरूले सडक तथा कलभर्ट निर्माण गरेका छन् । सप्तरी जिल्लाको संरक्षक बनेर आउने जिल्लापतिहरूको दिमाखमा दशगजा क्षेत्रमा खासै विवाद देखिएन । उनीको मतानुसार दशगजामा दुबै तर्फका जनताहरूले खेती गर्न बाहेक थप जटिल विवाद देखिएन रे ।

दक्षिणे भक्त सरखार महाशय ! तिमीहरूले पढाएर र घोकाएर पठाएका जिल्लापतिहरू त तिमीहरूका प्रवक्ता न हुन् । जे अह्राउँछौ र देखाउँछौ, त्यही त गर्ने हुन् क्यारे । सप्तरी सीमावर्ती क्षेत्रअन्तर्गत सप्तरीको लालापट्टी गाविसदेखि गोविन्दपुरसम्म लगभग सात किलोमिटरको दुरीमा रहेको एक हजार बिघाभन्दा बढी नेपाली भूमिलाई दक्षिणेहरूले अतिक्रमण गरी वर्षौदेखि खेती गर्दैै आएका छन् । करिब पाँच दशकदेखि दक्षिणेहरूले नेपाली भूमि उपभोग गर्दै आए पनि यसलाई रोक्न कसैले कुनै ठोस कदम उठाउन सकेको छैन । ०६६ असार ६ गते सप्तरीका तत्कालीन जिल्ला पतिसहितका चारै सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको टोलीले गरेको स्थलगत निरीक्षणको क्रममा नेपाली भूमिमा खेती गर्नुका साथै दशगजा क्षेत्रमा घर समेत बनाइएको पाइए पनि त्यसलाई हटाउन हालसम्म कुनै पहल गरिएको छैन । त्यतिबेला दशगजा क्षेत्रमा कसैले घर तथा खेती गर्न नपाउने निष्कर्ष निकालिएको थियो । दुबै देशको मामिला भएकोले गृहमन्त्रालयलाई जानकारी गराइए पनि वर्षांै वित्दा पनि नेपाली भूमि अतिक्रमण हट्न सकेको छैन । दक्षिणेहरूले नेपाली भूमि अतिक्रमण गरी खेती गर्न थालेपछि सप्तरीका लालापट्टी र सखडा गोविन्दपुरका बासिन्दालाई चरिचरणको समेत समस्या हुँदै आएको छ । हाम्रै भूमि दक्षिणेहरूले उपभोग गरेको भए पनि कहिलेकाहीं हाम्रो गाईवस्तु धान खेतमा गएको विषयमा पटक–पटक दक्षिणे र हामीबीच कुटपिट समेत हुने गरेको कुरा स्थानीयबासी गोविन्द यादव दुखेसो पोख्छन् । उक्त क्षेत्रमा राजपुरका श्याम यादव, बासुदेव यादव, मनोजकुमार पण्डित, मंगल रजकलगायतका दक्षिणेले खेती गर्नुका साथै घर बनाएर बसेका छन् । उनीहरूलाई जे गर्न पनि छुट छ । हामीलाई भने आफ्नो भूमि नहडप भन्न पनि छुट छैन ?

दक्षिणे भक्त सरखार महाशय ! सप्तरी क्षेत्रमा नेपाल भारतको सीमा छुट्याउन सप्तरीमा गाडिएको कुल ३८३ वटा सीमास्तम्भमध्ये १५७ वटा सीमास्तम्भ हराइसकेका छन् । तिमीले सीमा सुरक्षा गर्न जिम्मा दिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले के काम गर्दै छ र त्यसको गुनासो के–कस्तो छ ! त्यस बारे तिमी गम्भीर हुन सकेका छौ त ! हेर, विगत ६ महिनादेखि सप्तरीको लालापट्टीको सीमा क्षेत्रमा दक्षिणेको सीमा सुरक्षा बल एसएसबीले अस्थायी क्याम्प राखेको छ । त्यस क्षेत्रमा हाम्रो तर्फबाट सीमा सुरक्षाको जिम्मेवारी दिएर पठाएको कुनै निकाय छैन । नेपाली सीमा सुरक्षा सशस्त्र प्रहरीको कुनै क्याम्प छैन । लालापट्टीको सीमा क्षेत्रमा दक्षिणेको सीमा सुरक्षा बल एसएसबीको निरन्तर ज्यादती सहेर हामी बाँचिरहेका छौं । सुनुवाइ हुँदै हुन्न । नेपाली हुनुको अर्थ पिरलो सहनु मात्र हो भन्ने भावनाले जरो गाड्दै गएको छ । राजधानीमा आ–आफूमा किचलो गर्न मात्र जनप्रतिनिधि भएको हो कि जनअपेक्षा र राष्ट्रिय स्वाभिमान बचाउन पनि प्रतिनिधि भएका हौ ! एक पटक राम्ररी गुन । र, यथाशिध्र सीमाविवाद हल गर । सक्दैनौं त दक्षिणेको धोती पछार्न दक्षिणतर्फै भासिऊ । कम्तिमा हामीले नयाँ अनुहारलाई प्रतिनिधि बनाएर आफ्ना कुरा राख्न त पाउँछाँै ।

दक्षिणे भक्त सरखार महाशय ! दुई देशको सीमालाई छुट्टयाउन सिमेण्टको पिलर गाडिनुपर्नेमा नेपाली प्रशासनलाई थाहै नदिइकन बाँसको सीमा स्तम्भ गाडिएको थियो । तिलाठी गाविसस्थित खाडो नदीमा नेपाल र भारत दुई देशको सीमालाई छुट्टयाउन बाँसको सीमा स्तम्भ गाडिएको तीन वर्षभन्दा बढी हुन लाग्दा समेत दुबै तर्फका प्रशासनले त्यसको स्थायी निकासका लागि पहल गर्न सकेनन् । दुई देशको सीमा छुट्याउन सप्तरीको तिलाठी र भारत बिहारको कुनौली पञ्चायत खण्डमा २३७ नम्बरको जङ्गे पिलर गाडिएको थियो । तर, २०६७ सालको असोज महिनामा आएको बाढीले उक्त जङ्गे पिलर भत्काएर लगेपछि त्यसको विकल्पमा दक्षिणे एसएसबी र नेपालका तर्फबाट सशस्त्र प्रहरी बलको समन्वयमा उक्त बाँसको सीमा स्तम्भ गाडिएको थियोे । त्यो पनि दुई बर्ष पछि २० मिटर उत्तर नेपालतिर आएर बाँस गाडिएको हो । सीमास्तम्भ गाड्ने बेलामा स्थानीय जनता कसैलाई पनि जानकारी गराउनु उचित ठानिएन । किनभने २० मिटर हाम्रो जग्गा हडप्नु थियो । सीमा संरक्षकलाई मूकदर्शक तुल्याएर मनोमानी गर्नु थियो । त्यस बेला जिल्ला संरक्षकलाई स्थानीय बासिन्दाले गरेको अनुरोध असारका भ्यागुताको रोदन मात्र भयो । संचारकर्मीद्वारा मात्र जानकारी पाएका स्वयम् जिल्ला पति समेत बाँसको गिडिल्कोलाई सीमा स्तम्भ बनाइएको खबर सुन्दा चकित भए । भन त भक्त महाशय ! बाँसद्वारा दुई देशको सीमा छुट्टयाउनु मुलकमै पहिलो दृष्टान्त हो कि होइन र ? हाल सोे बाँसको सीमास्तम्भ पनि खाडो नदीको बाढीले बगाएको दुई महिनाभन्दा बढ्ता भयो । बाँसको उक्त सीमा स्तम्भ बाढीले बगाएसँगै दक्षिणे सीमानासँग जोडिएको सप्तरीको रम्पुरा मल्हनियाँदेखि लिएर तिलाठीसम्मको झण्डै पाँच किलोमिटर सीमा क्षेत्रमा सीमा छुट्याउने एउटा पनि सीमा स्तम्भ बाँकी छैन । यस संवेदनशील कुरामा कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन । साम्राज्यवादीलाई विस्तारै, विस्तारै मधेस निल्न दिने तिम्रै रणनीति हो कि क्या हो !

अरू कति दृष्टान्त पेस गरौं भक्त महाशय ! तिलाठी क्षेत्रको झण्डै ९ किलोमिटर सीमा क्षेत्रमा कैयौं यस्ता विवादित मुद्दाहरू रहेका छन् । झण्डै एक वर्ष अगाडि तिलाठी–कुनौलीसँगै जोडिएको दश गजा क्षेत्रमा एउटा सानो सीमा स्तम्भ उखलिएर भारततर्फ फेला परेको थियो । सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय अन्तर्गतको तिलाठी बोर्डर आउट पोष्टभन्दा झण्डै ३ किलोमिटर दक्षिण पश्चिममा तिलाठी गाविस–५ नजिक रहेको नम्बर नखुलेको सो सीमा स्तम्भ हालसम्म पनि त्यसरी उखालिएको अवस्थामा छ । अगाडि २२३/१३ नम्बर र पछाडिको नम्बर नखुलेको पाइएको छ । त्यस क्षेत्रको झण्डै ५ सय हेक्टरभन्दा बढी दशगजा क्षेत्रको भू–भागमा दक्षिणेहरूले खेती समेत गर्दै आएका छन् । त्यस ठाउँमा दक्षिणकोे सीमा सुरक्षा बल तथा स्थानीय दक्षिणे बासिन्दाहरूले वदनियतपूर्ण तरिकाबाट नेपालको सीमाना पश्चिमतर्फ धकेलेको स्पष्ट बुझ्न सकिन्छ । तिलाठी क्षेत्रमा मात्रै ५६ मध्ये ४२ वटा सीमा स्तम्भ बेपत्ता रहेको बुझिन्छ ।

दक्षिणे भक्त महाशय ! नेपाल–भारत सीमा छुट्याउने सप्तरीको १६ वटा गाविसहरूमा गाडिएको जम्मा ३८३ वटा सीमा स्तम्भहरूमध्ये हाल १५७ वटा हराएका छन् । यस जिल्लामा २८ वटा जङ्गे पिलर (ठूलो स्तम्भ) र ३५५ वटा साना पिलर गाडिएका थिए । तीमध्ये २२५ र २२७ नम्बरलगायत ९ वटा जङ्गे पिलर र बाँकी साना पिलरहरू हराएका हुन् । टापुको गाउँको रूपमा रहेको सप्तरीको गोबरगाढा गाविसमा मात्र तीनवटा जङ्गे र ३० वटा साना सीमा स्तम्भहरू हराइरहेको रेकर्ड जिल्ला प्रहरी कार्यालय सप्तरीमा छ । गत वर्षको निरीक्षणमा लालापट्टी गाविसअन्तर्गत ४७ वटामध्ये १९ वटा साना पीलर (बेसाबुत) हराएको पाइएको थियो । सीमास्तम्भ हराउने काम यसरी नै बृद्धि भइरहँदा पनि नेपाली पक्षले त्यसप्रति चासो देखाउन सकेको छैन । दक्षिणेहरूले दशगजा अतिक्रमण गरेर भौतिक निर्माण गरेको स्विकारे पनि उनीेहरूले गलत मनसायका साथ अतिक्रमण नगरेको भनी प्रतिक्रिया दिएर जिल्ला संरक्षक नेपाली साना प्रभुहरू जनतालाई भेडाबाख्रा सम्झिरहेका छन् । स्मरण रहोस् ! सप्तरी जिल्लाको सीमा क्षेत्रको जम्मा दुरी पूर्व कोशी नदीदेखि पश्चिममा बलान नदीसम्म ७८ किलोमिटर छ ।

यस सप्तरी क्षेत्रका ८५ प्रतिशत जनताहरू कृषिमा आधारित रहेका छन् । मरिहत्ते गरेर लगाइको धान बाली प्रत्येक वर्ष डुवानका कारण बर्बाद हुने गरेकाले कृषकहरू हैरानीमा छन् । बचेखुचेको धान र हिउँद याममा हुने गहुँबालीका कारणले मात्र यहाँका कृषकहरू बाँच्न सकिरहेका छन् । दक्षिणहरूकोे नाकासँग जोडिएका हुनाले यस क्षेत्रमा व्यापार/व्यवसायको राम्रो सम्भावना छ । नेपाल र भारत दुबैका अपराधीहरूको चलखेल र प्रशासनको अनुपस्थितिका कारणले यस क्षेत्रले व्यवसायिक वातावरण र शान्ति सुरक्षाको प्रत्याभूति पाएको छैन । नाकालाई सदरमुकाम राजविराज र जिल्लाका अन्य भागसँग जोड्ने सडक विस्तार नहँुदा अनि भएका पनि जीर्ण अवस्थामा पुगेकाले बासिन्दाहरू लाभान्वित हुन सकेका छैनन् । खाँडो नदीले प्रभाव जमाई सडक क्षतविक्षत तुल्याउनुपूर्व व्यापारिक चहलपहल उत्साहबद्र्धक रहेको कुरा बुढापाकाहरूको स्मृतिमा ताजै छ । सडक नै अवरूद्ध भए पनि उक्त क्षेत्रमा कृषि बजार र खेतीपातीका अतिरिक्त आय आर्जनको अर्को कुनै पनि विकल्प रहेको देखिँदैन । नदीको प्राकृतिक बहाव नियन्त्रित गरिएका कारण तिलाठी गाविसस्थित बेल्ही भन्सारमा रहेको कृषि बजार समेत नराम्ररी प्रभावित छ ।

सीमावर्ती भागमा जबरजस्ती बाँध बाँधेर नदीको बहाव वर्षौंदेखि थुनेर राखेका कारण सप्तरीको रम्पुरा मल्हनिया, सकरपुरा, कोइलाडी, लौनियाँ, तिलाठी, हनुमाननगरलगायतका गाविसहरू वर्षेनी डुवानमा पर्दै आएका हुन् । कुनौली वोर्डरस्थित कोशीको पश्चिमी तटवन्धदेखि सप्तरीको तिलाठी गाविसस्थित खाँडो नदीसम्मको झण्डै तीन किलोमिटर भू–भागमा दक्षिणेहरूले सन १९७४ देखि नै बाँध निर्माण गर्न थालेका हुन् । त्यसवेला उनीहरूकै बाँधका कारण उत्तर–दक्षिण भएर नेपालबाट भारततर्फ बग्ने तीन नदीहरू (खाँडो, महुली र जिता नदी) आफ्नो प्राकृतिक बहाव परिवर्तन गरी पूर्व–पश्चिम हुँदै पूर्णरूपमा नेपालमै बग्न थालेकाले पानी जम्न गई डुवानको अवस्था आएको हो । धेरै वर्ष पहिले बाढीको जोखिम बढ्न थालेपछि अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक अधिकृतहरूको सक्रियतामा नेपालीहरू रातारात भारत पसेर बाँध काट्ने गर्दथे । यसो गर्दा दुबैतर्फका स्थानीय जनता बीच बेलाबेलामा बाझाबाझ समेत हुने गरेको अनुभव बूढापाकाको छ । अहिले भने दक्षिणे पक्षले बाँधको सुरक्षाका लागि विहार पुलिस र एसएसवीको कडा सशस्त्र गस्ती राखेको कारण बाँध काट्न नसकिनाले नेपाली भू–भाग डुवानमा पर्नुको विकल्प नभएको हो । परापूर्वकालदेखि नै बगिरहेको नदीको क्षेत्रलाई थुनेर आफ्नो अहम्ता प्रदर्शन गरी नेपाली जनतालाई आहात दिन दक्षिणेलाई कुनै अधिकार छैन । त्यस्ता जनविरोधी कार्यको भण्डाफोर गरी जनतालाई राहत दिलाउन नसक्ने सरकारले जनप्रतिनिधि भएको स्वाङ रच्नु राष्ट्रिय लज्जाको विषय हो ।

पीडाको कहिरन बुझ्दै जाऊ महाशय ! अहिले त दक्षिणेहरूले प्राकृतिक बहाव रोक्ने त्यस्ता बाँधलाई झन् भीमकाय बाँधको रूपमा विकसित गरिसकेका छन् । बाँधमाथि कालोपत्रे सडक र दुबै छेउमा वृक्षारोपण गरी बाँध झन् मजबुत पार्दै आएका छन् । कतिपय ठाउँमा त्यस्ता बाँध दशगजा क्षेत्रमै निर्माण गरिएको छ । पहिले–पहिले बाँध निर्माण गरी सकेपश्चात् पानी निकासको एउटा ठूलो माध्यम कुनौली वोर्डरस्थित कोसी तटवन्धमा फलामे सुिलस गेट राखिएको थियो । पानीको बहाव बढ्न थालेपछि सुलिस गेट खोली पानीलाई निकास दिने गरेका कारण समेत केही मात्रामा भए पनि बाढीको चाप कम हुन्थ्यो । तर पछिल्लो केही वर्ष यता कोसी नदीको बहाव पूर्वतर्फ गएपछि बाँध छेउमा दक्षिणेहरूले खेती गर्न लागेको र यसरी सुलिस गेटमा पानी निकास दिँदा आफूहरूको बाली नष्ट हुने भन्दै उनीहरूले उक्त सुलिस गेटलाई समेत वन्द गरेपछि पानीको निकास हुन नसकी डुवान भएको हो । यसो हुँदा सप्तरीको दक्षिणी भेगका गाविसहरूका हजारौं सर्वसाधारण वर्षैनी २/३ महिना बडो कष्टकर जीवन बिताउन वाध्य छन् । दुई देशको सम्वन्धको मामला भएकोले यस वारे आफूहरूले हतारहतारमा केही बोल्नु उपयुक्त नरहेको भन्दै जिल्ला संरक्षकहरू बेलाबेलामा प्रतिक्रिया दिन्छन् । बरू नेपाली भू–भाग डुवानमा पर्नुको मुख्य कारण नै दक्षिणेहरूले नदीको प्राकृतिक बहाव नियन्त्रण हुने गरी बनाएकोे बाँध नै रहेको जिकिर गर्दै नेपाल पत्रकार महासंघ, सप्तरीका सभापति धीरेन्द्रप्रसाद साहले यस मामिलामा छिट्टै नेपाल सरकारले द्विपक्षीय वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने अभिमत जाहेर गर्दछन् ।

ओ भक्त महाशय ! दिल्लीको इशारामा कति नाच्छौ ! एक क्षण सप्तरीको दक्षिणी भेगको ऐतिहासिक पाटालाई पनि हेर त । यस भू–भागले नेपाली राजनीतिमा निकै महत्वपूर्ण स्थान राखेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन होस् वा दक्षिणेकै स्वतन्त्रता संग्राम नै किन नहोस् यसै भूमिको भरमग्धुर उपयोग गरिएको ऐतिहासिक पाटोलाई कति चाँडो विर्सिइयो । यस भू–भागको आश्रयमा दुबैतर्फको राजनीतिक आन्दोलन भएको थियो । अरू त के नेपालको आमूल परिवर्तनकारी जनयुद्धको इतिहास बन्न होस् या जयकृष्ण गोइत नेतृत्वको स्वतन्त्र तराई राष्ट्र स्थापनाको चलिरहेको भूमिगत युद्ध होस्, सबैलाई सप्तरीको दक्षिणी भू–भागले आफ्नो वक्षस्थलमा समेटेको छ । अघिपछि होस् या नेपालमा प्रजातान्त्रिक आन्दोलन चलिरहेका बेला होस् रामराजाप्रसाद सिंह, वी.पी. कोइराला, गणेशमान सिंहलगायतका हस्तीहरूको आश्रयस्थल यही क्षेत्र थियो । यस क्षेत्रले त दक्षिणे स्वतन्त्रता संग्रामका महानायकहरू जयप्रकाश नारायण, जेपी लोहियासहितका कयौं नेतानेतृहरूलाई समेत आश्रय दिएको थियो । तर तिनै स्वतन्त्र दक्षिणेहरूले जबरजस्ती बनाएको बाँध र बसाएको बस्तीका कारण यस क्षेत्रले सौताको सन्तानको दर्जा पाएको छ ।

अहिले पनि यस क्षेत्रबाट निर्वाचित भएर गएका प्रतिनिधिहरू नेपाली राजनीतिमा निकै चर्चित भए पनि समस्या ज्युँकात्युउँ छ । यसै क्षेत्रबाट निर्वाचित स्वर्गीय गजेन्द्रनारायण सिंह पटक–पटक मन्त्री भए । नेपाली राजनीतिमा उनको खरा, दह्रो र अनुकरणीय सक्रियता भेटिन्छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी हुन् या संविधान सभा निर्वाचनमा सद्भावना पार्टीका तर्फबाट निर्वाचित सभासद महेश यादव नै किन नहून् वा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकका सभासद् शिवचन्द्र मिश्रकै कुरा किन नआओस्, उनीहरूले यस भेगको प्रतिनिधित्व मात्र गरे । जनताले पाउनुपर्ने राहत भने कहिल्यै पाएनन् । जेजस्ता प्रतिनिधिलाई चुनेर पठाए पनि सीमा–विवाद, बाध–निर्माणले निम्त्याएको हण्डर, बाढी प्रकोप, शान्तिसुरक्षाको अभावले खोसेको अमनचयन केहीमा पनि सुधार भएको पाइएन । नेपाली राजनीतिमा गौरवशाली भूमिका खेल्ने यो क्षेत्र सधैं सरकारी उदासिनताको सिकार भइरह्यो । यस्तै हो भने, सायद भइरहने छ । र, दिनानुदिन नेपालीहरू नाङ्गेझार हुँदै उत्तर लखेटिने छन् । दक्षिणेहरू उत्तर सर्दै रहने छन् ।

भक्त महाशय ! दक्षिणेले अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई खुल्लमखुल्ला चुनौती दिँदै नेपाली जनतालाई आँसुको दहमा पौडिन बाध्य पारिरहँदा पनि तिमी उसैको पाउ मोल्न हर्दम् तयार रहन्छौ र जनताको पीरमार्का सम्बोधनका लागि एक शब्द पनि चुहाउन खुट्टा कपाउँछौ भने तिमीलाई राष्ट्रघाती नभनेर के भन्ने त ! तिमीलाई नेपाल प्यारो छ र नेपाली जनताको प्रतिनिधि हुँ भन्ने रत्तिभर बोध छ भने कृपया सीमा क्षेत्रको तथा सीमा स्तम्भहरूको सुरक्षाको लागि प्रत्येक ६/६ महिनामा सीमा क्षेत्रको अवलोकन गर । अधिकांश सीमा स्तम्भहरू भत्केको पाइएकोले यथासीध्र मर्मत सम्भार तथा रङ्गरोगन गर । प्रत्येक ५/५ बर्षमा सीमा स्तम्भहरूको मर्मत सम्भार तथा रङ्गरोगन गर्नु आवश्यक रहेको सीमाविद्हरूको कथनलाई शिरोधार्य गर । अझ, स्थानीय जनताको रोहबरमा दुई देश बीचको आपसी सहमतिअनुसार सीमा क्षेत्रमा रहेका जोड अङ्कका सीमा स्तम्भको रेखदेखको जिम्मा दक्षिणे पक्षलाई गर्न लगाऊ रे बेजोड अङ्कको सीमा स्तम्भको रेखदेखको जिम्मेवारी आफूले लेऊ । दक्षिणेको कुटनैतिक चातुर्यतालाई राम्ररी बुझ । उसले गरेको इशारामा तिमी पाउ मोल्न दौडने हैन । उसलाई नै आफ्नो मुलुक भ्रमण गराऊ र प्रभावित एवं बिवादित क्षेत्र घुमाऊ । स्थानीय जनताको अभिमतमा गम्भीर बन । नेतालाई दिल्ली झिकाएर राजनैतिक परिस्थिति बारे बकाएर नाडी छाम्ने दक्षिणे प्रवृत्तिलाई बुझ । नेपालीप्रतिको त्यत्रो सदाशयता रहेछ भन्ने लागेमा नेपालमा नै दक्षिणेलाई झिकाउन सक्नुपर्छ । उसको आशय दुहुनुपर्छ र आफ्नो राष्ट्रियता झल्कने आवाज बुलन्द गर्नुपर्छ । राष्ट्रियताका सवालमा दलीय मतमतान्तर पूर्णरुपेण अन्त्य हुनुपर्छ । एकएक जनासँग हैन, सबै जनाले एकै पटक भेट दिनुपर्छ । नेपाली एक ठाम भए, जनप्रतिनिधिको मत एक भए संसारको कुनै शक्तिले हामीलाई धकेल्न त के छुन पनि सक्दैन भन्ने अभिमतका साथ पत्रान्त गर्दछु ।

धन्यवाद !

–नन्दलाल आचार्य

(सप्तरी जिल्लाको दक्षिणी क्षेत्र तिलाठी गाविसमा घर भई राजविराज टुडे, नागरिकजस्ता दैनिक पत्रिका र न्यूज २४ टेलिभिजनमा समाचार सम्प्रेषण गर्ने पत्रकार जीतेन्द्रकुमार झा ‘जितु’को सहयोगमा मत संकलन, फोटो संकलन तथा स्थानीय क्षेत्रको भ्रमण अवलोकन गरी यो पत्रात्मक लेख तयार पारिएको हो । त्यसैले यस पत्रको विश्वसनीयतामा थप मद्दत पुगेको अनुभव गर्न सकिन्छ । यस पत्रात्मक लेखको मूल आशय राष्ट्रियताको जगेर्नामा जनप्रतिनिधिलाई खबरदारी गर्नु हो । आफ्नो अधिकारप्रति जनतालाई सचेत तुल्याउनु हो । जनताको पीरमार्कालाई सार्वजनिक गर्नु हो । र, भारतीयहरूको गिद्धेदृष्टिलाई बञ्चरो प्रहार गर्नु हो । धन्यवाद ! – नलाआ)

4 thoughts on “सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र”

  1. ओय सरखार! पढ्नै पर्छ है तैंले
    ओय सरखार! पढ्नै पर्छ है तैंले यो खुल्ला पत्र !
    शरण आँसु

  2. सरखारहरू अम्रिकामा तिनै
    सरखारहरू अम्रिकामा तिनै दक्षिणाहरूलाई ब्रिफिङ गर्न व्यस्त छन्, के पढ्लान् र खै !

  3. dekheko lekheko ho
    Editor & sharan jyu…
    Maile ta dekheko kura lekheko matrai ho…
    Aru ta garnele garnu par6 bhanthan6u…commentko lagi dhanybad

  4. dekheko lekheko ho
    Editor & sharan jyu…
    Maile ta dekheko kura lekheko matrai ho…
    Aru ta garnele garnu par6 bhanthan6u…commentko lagi dhanybad

Leave a Reply

Your email address will not be published. Required fields are marked *