Skip to content

प्रष्ट बोली : स्पष्ट व्यवहार


प्रिय जनसेवक ठान्ने दाइ !

जनताको अदालतमा तँलाई स्वागत छ !

दाइ ! म अहिले असाध्यै रोगाएको छु । त्रासद दिनहरूको परिकल्पनामा डराएर बसेको छु । एक समय मैले तेरो चमत्कार धेरै नजिकबाट नियालेको थिएँ । तेरा सफलताका ती स्वर्णिम दिनहरूको प्रशंसामा मख्ख र मस्त भएको थिएँ । तँ सधैं त्यस्तै रहन सकिनस् । र, विकर्षणभावले अलमलाउँदो भएँ । हेर्, यस माटो बाहिरको तेरो सिद्धान्त त त्यति जान्दिनँ । तर, यस माटोमा हुनुपर्ने तेरो व्यवहारिक सिद्धान्त बारे दुई–चार कुरा भन्न भने पछि पर्दिनँ । तेरोजस्तो पाखा–पखेराको, कुनाकन्दराको विश्वविद्यालयमा मैले एक अक्षर पनि पढिनँ । तैंले खोलेको विश्वविद्यालयको विद्यार्थी हुनु चानचुने कुरो थिएन । जो कोहीले हात हाल्ने कुरा पनि आएन । मेरा लागि पटकपटक अवसर नआएका हैनन् । म त्यस घडीमा विल्कुलै अन्धो थिएँ । आँखाको उपचारमा दिन विताएर रहेँ । मगज पनि ठीक थिएन, त्यसलाई ठीक पार्दा पार्दै समय हातबाट खुस्केको पत्तै भएन । केही खुस्केको दिमाखले, मोतिबिन्दुले समाएको आँखाले तँलाई हेरिरहेँ । एकटकले नियालिरहेँ । तेरो शक्तिलाई र पराक्रमलाई मनमनै नमन गरिरहेँ । तेरो दैनन्दिनी पढिरहेँ । तेरो मूलमन्त्रलाई नियालिरहेँ । तेरो व्यवहारलाई पटकपटक परीक्षणको कसीमा घोट्दै गएँ । भौतिकरूपमा दूर थिएँ, मानसिकरूपमा निक्कै नजिक रहेँछु । त्यस कुराको भान मलाई धेरै पछि भयो । जब तैंले मूलमन्त्र विर्संदै गइस्, प्रभुचिन्तनमा निर्लिप्त भइस् तब मलाई औडाहा भयो । बेचैनीले समायो । त्यसै त्यसै विचलित हुँदै गएँ । धेरै दिनसम्म होस हराएझैं भएँ । पछि, पछि बानी परें । यसको पनि ड्याङ भिन्नै तर बीउ भने एकै नासको रहेछ भन्दै धिकार्दै रहेँ । तर, अहिले आएर तेरो अडान देख्दा थोरै आश पलाएको छ । र, तँलाई केही पाठ दिऊँ भन्ने लागेको छ ।

हेर् दाइ ! मीठो वचनले भन्दा पनि हुन्थ्यो भन्लास् । तँ–तँ र म–म भन्यो भन्ठान्लास् । तर, तँलाई कहिल्यै मैले टाढाको देखिनँ । तेरो मूलमन्त्रले मलाई लठ्याएको थियो । त्यसैको प्रभावले हुनुपर्छ– तँलाई ‘तपार्इं’ भन्ने नाटक रच्न मनै लागेन । ‘तँ’ सम्बोधनमा जति रस छ, त्यति ‘तपाईं’मा विल्कुलै छैन । आखिरमा तँ टाढाको पनि होइनस् । तँलाई अर्ति–उपदेश दिने क्षमता पनि मसँग नहोला । तर, याद गर् ! तँलाई दाजु मानेको छु । त्यसैले गुनासो राख्ने पूरापूरी हकदाबी गर्दछु । यसमा जति आत्मीयता छ, मौलिकता छ, त्यति अरू केहीमा छैन । आडम्बरमा बाँच्न मैले बिर्सिसकेँ । त्यो ज्ञान पनि मैले तँबाटै सिकेको हुँ । रूपचन्द्र विष्ट पनि भन्थे– ‘तँ एक अंगालो श्रीमती/श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस् ।’ वास्तवमा हामी त्यसै गरिरहेका छौं । जीवन त्यसरी नै नफालेको भन्ने हो भने यस्तो वेथितिका अनुयायी किन भएको त ! त्यसैले पनि मेरो मनमा आदरभाव हराएर गएको हो । आदर गर्नै पर्ने मनुष्य मैले भेट्टाएकै छैन । दाइ ! तँलाई मैले मनुष्य मानेकै छैन । तँलाई त नेपाल र नेपाली जनताको विचार, भावना, संस्कार र व्यवहारलाई सकारात्मक दिशातर्फ रूपान्तरण गर्ने एक शक्तिशाली अस्त्रको रूपमा मैले हेर्ने गरेको छु । एक समय मैले विश्वास गरेको थिएँ । तैंले विश्वासघात फर्काइस् । सायद तेरो होस आयो क्यारे ! गोत्र नै त्यागिछस् । तैँले गोत्र त्याग्दा मलाई खुशी लागेको छैन । मूलमन्त्रअनुसार पुरानै गोत्रलाई सुधार, परिमार्जन र परिष्कार गर्न सकेको भए मेरो खुशीको सीमा रहने थिएन । तापनि जे गरिस्, गरिस्, त्यो आफ्नो ठाउँमा ठीक गरिस् भन्नका लागि म तँलाई पाठ दिँदै छु । त्यस पाठलाई शिरोधार्य गर्न सकिस् र व्यवहारमा खरो उतारिस् भने धरोधर्म म तेरो पूजा गर्ने छु । युगयुगसम्म तेरो श्रद्धा गरेर थाक्ने छुइनँ । अबको अध्यायमा म त्यतैतिर तेरो ध्यान खिच्न खोज्दै छु । अब पनि मेरो विश्वासलाई धुमिल बनाउँदै हिँड्छस् भने तँ स्वयम् माटोमा मिल्ने छस् र हामी टुहुरा हुने छौँ भन्दै छु । निर्णय गर् । चाँडो निर्णय गर् । सार्वजनिक घोषणा र प्रतिवद्धतासहित महल छाडेर, वैभव त्यागेर मेरा आँगनमा आइज । म तँसँगै जनलहरमा लामबद्ध हुने छु । म तँसँगै माटो बेच्नेलाई घूलो चटाउने छु । म तँसँगै भौतिक वैभवका पूजारीलाई रछ्यानमा सुताउने छु । जनविश्वासको बलमा, झुटको आलिसान बङ्गलामा बसेर औला ठड्याउनेलाई रगत छदाउने छु । धरोधर्म दाइ ! तैंले हडबडमा गडबड गरिस् या जानबुझ मलाई थाङ्नामा सुताइस् भने तेरै घोक्रो फुटाउने छु । मात्र एक पटक म तँलाई विश्वास गर्दै छु । तँलाई परीक्षणकालमा समावेस गराउँदै छु । भनूँ न, तँलाई मेरो मनपेट दिँदै छु । तँलाई नै सर्वस्व सुम्पदै छु ।

दाइ ! यसको चाहना के होला भन्लास् । यसले कस्तो प्रस्ताव राख्दै छ भन्ठान्लास् । मलाई यत्तिखेर उनै रूपचन्द्रको आदर्श याद आइरहेछ– ‘श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल (दरबार)ले गरेर हुँदैन, महिलाको राजनीति पुरूषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका अनि सत्य र न्याय हाम्रा लागि हुन् ।’ मलाई शब्दमा अल्झनु पनि छैन । मेरो ध्याउन्न शब्दमा रमाउनु पनि होइन । मात्र मनको छटपटी र बेचैनीलाई मिसाएर अग्रगामी दिशानिर्देश गर्नु हो । जनकल्याण र राष्ट्रनिर्माणमा सडकछापदेखि आलिसान दरबार मालिकलाई बराबरको हिस्सेदार बनाउनु हो । खुन–पसिना चुसेर डकार्नेहरूलाई सडकछाप बनाउने हो । खुन–पसिना सुकाएर जीवन काट्नेहरूलाई भरपेट अन्न, आङभरि लत्ता र आनन्दले रात काट्ने व्यवस्था जुटाइदिने हो । मैले असम्भव सपना समेत देखेको छैन । प्रचलित सिद्धान्तले मेरा कुरा पूरा हुँदैनन् भने त्यस्ता जनविरोधी हर्कत देखाउने सिद्धान्तलाई किचिमिची पार्न सक्नुपर्छ । फर्केर जनविश्वविद्यालयमा भर्ना हुनुपरे पनि खुट्टा कमाउनु हुन्न । लत्तो छाड्ने काम छैन । सहासले काम गरेन भने दुष्साहसलाई आधार बनाउनुपर्छ । सत्य र न्यायमा बस्ने हो भने, निस्वार्थ मनले जनपथमा एकोहोरिने हो भने हाम्रा दिन टाढा छैनन् । विनाजोखिम रूपान्तरण खोज्नु आकासकुसुम कुरा हो । विनाबलिदानी परिवर्तन भेट्न खोज्नु अनर्गल कुरो हो । मूलमन्त्रको सेरोफेरोमा रहेर गरिएका हरेक कामकुरा सिर्जनाको मूल फुटाउने साधन हुन् । बरोबर पढिरहनुपर्ने र घोकिरहनुपर्ने शास्त्रका ठेली हुन् ।

अब भने दाइ ! म मूलमन्त्र मेरै भाकामा सुनाउँदै छु । यिनलाई कुनै कानुनले छुँदैनन् । यिनलाई काट्ने प्रचलित कानुन मान्य हुँदैनन् । यसको मर्म र भावना विपरीत गरिएका र गरिने हरप्रकारका कार्यहरू लागू भएकै समयदेखि स्वतः निस्क्रिय हुनेछन् । जनचेतनालाई प्राथमिकताको लहरमा राखेर काम गरिनुपर्छ । रगतको खेल नहोस् भनी हर्दम् सचेत रहनुपर्छ । ज्यान चढाएर प्राप्त फलको मूल्य असाध्यै महङ्गो हुन्छ । राष्ट्रका सबैलाई चेतना भया ।

राष्ट्रको जिम्मेवार शक्तिको भूमिका निर्वाह गर्दै र निकासको ठोस निष्कर्ष ननिकाली हडबडमा गरिने कार्यले अन्ततः देश र जनतालाई नै दलदलमा फँसाउने तथा अपुरणीय क्षति दिलाउने निश्चित भएको ठहर गर्दै त्यसको विपक्षमा उभिई निम्नलिखित तवरले जनताको काम र राष्ट्रनिर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ–

राजनैतिक सवाल–

१. दलले जनताको भावनालाई सर्वोच्च शक्ति ठानी काम गर्ने छ ।

२. राजनीति दलीय स्वार्थतर्फ विल्कुलै केन्द्रित हुने छैन ।

३. राजनैतिक दलका केन्द्रीय सदस्यहरूको सम्पत्ति पार्टीको मूल धन हुने छ । तिनीहरूको जीविकोपार्जनको जिम्मा सोही पार्टीको हुने छ ।

४. सम्पूर्ण सम्पत्ति पार्टीलाई बुझाएपछि मात्र जनप्रतिनिधि बन्ने योग्यता प्राप्त हुने छ ।

५. देश र जनताको वृहत्तर हित विपरीत उभिन कुनै दल वा प्रतिनिधिलाई अधिकार हुने छैन । उभिए दण्डित हुने छन् ।

सामाजिक सवाल–

१. कुनै वर्ग वा समुदाय ठूलो र कुनै सानो हुने छैन ।

२. मानव–मानवबीच भेदभाव ल्याउने सम्पूर्ण अमानवीय भावनाको समूल नष्ट गरिने छ ।

३. बाल, वृद्ध, महिला र अशक्तको सुरक्षा र संरक्षणलाई पहिलो मान्यता दिइने छ ।

४. दुईभन्दा बढी सन्तान जन्माउने दण्डित हुनेछ, निसन्तान दम्पती पुरस्कृत हुने छन् ।

५. हरेक क्षेत्रमा बहुसङ्ख्यक उत्पीडित वर्गको सर्वोच्चतालाई स्वीकारिने छ ।

आर्थिक सवाल–

१. श्रमिकलाई उचित पारिश्रमिक र सम्मान हुने छ ।

२. स्थानीय क्षेत्रको विकास र संरक्षणको लागि प्रत्येक नागरिकले निःशुल्क श्रमदान गर्नु पर्ने छ ।

३. शैक्षिक चेतना, सीप र क्षमताअनुसार प्रत्येक नागरिकले रोजगार पाउने छ ।

४. स्थानीय साधन र स्रोतको समुचित उपयोग स्थानीय क्षेत्रकै समुन्नतिलाई ध्यानमा राखेर गरिने छ ।

५. आवश्यक स्थानमा आवश्यकता परेमा कम्युन अवधारणालाई मूर्तरूप दिएर जीवनयापन सरल र सफल तुल्याइने छ ।

६. जनसरोकारका हरेक क्षेत्र सरकारी अधीनमा हुने छन् । स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा चरम व्यापारीकरण निर्मूल गरिने छ ।

सांस्कृतिक सवाल–

१. धर्मनिरपेक्षताको सिद्धान्तअनुसार सबैको सांस्कृतिक पक्षको सम्मान हुने छ ।

२. लिङ्ग, जाति, गोरा–काला आदि कुनै पक्षको आधारमा कसैमाथि असमान व्यवहार गरिने छैन ।

३. प्रचलित परम्पराका राम्रा पक्षको अवलम्बन गर्दै र अरू सम्प्रदायको भावनाको सम्मान गर्दै संस्कृति मान्ने छुट जो कोहीलाई हुने छ ।

४. सबै वर्गले आस्था र विश्वासका साथ मान्दै आएका अग्रगति लक्षित कुराहरू नेपालीका सांस्कृतिक सम्पदा मानिने छन् ।

५. आडम्बरी चालचलनलाई परिमार्जन गरी अग्रगामी समाजका लागि अनुकूल हुने गरी अवलम्बन गर्ने, गराइने छ ।

राष्ट्रियतासम्बन्धी सवाल–

१. राष्ट्रको सर्वाङ्गीण पक्षको समुन्नतिलाई आधार बनाएर अरू राष्ट्रसमक्ष सम्बन्ध विस्तार गरिने छ ।

२. राष्ट्रको सीमा सुरक्षा र किचलोलाई यथाशीघ्र चाँडो समाधान गरिने छ ।

३. मुलुक र जनताप्रति उत्तरदायी भई वैदेशिक सम्बन्धलाई स्वीकारिने छ ।

४. अनावश्यक वैदेशिक चलखेल र हस्तक्षेपलाई एक जुट भएर सामना गरिने छ ।

५. मुलुकको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच पुग्ने कुनै प्रकारका कसुरलाई क्षमा गरिने छैन ।

शैक्षिक सवाल–

१. अनिवार्य रूपमा साक्षरता शिक्षा दिने र लिने व्यवस्था हुने छ ।

२. व्यवसायिक शिक्षामा विशेष जोड दिई रूचीअनुसार अध्ययन गर्न पाउने सुविधा उपलब्ध गराइने छ ।

३. पुरातन शैलीको शिक्षा लिने परिपाटीमा आमूल सुधार ल्याइने छ ।

४. अनौपचारिक ढङ्गले शिक्षाआर्जनका असीमित अवसरहरू उपलव्ध गराइने छ ।

५. प्राप्त ज्ञानले व्यक्तिलाई स्वावलम्वी बनाउने छ, जीविकोपार्जनका लागि अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने छ ।

प्रशासनिक सवाल–

१. अपराध प्रमाणितले सजाय कटाउन निःशुल्क श्रमदानमा जुट्नुपर्ने छ ।

२. देश र जनताको भावनासँग खेलवाड गरेको प्रमाणित हुनासाथ निजलाई सर्वस्वहरणसहित आजीवन श्रमदानमा सामेल गराइने छ ।

३. खटाइएको काम इमान्दारपूर्वक फत्ते गरी दायित्व पूरा नगर्ने राष्ट्रसेवक कर्मचारी आजीवन श्रमदानमा रहने छ ।

४. जनतालाई प्रत्यक्ष राहत पुग्ने खालका गतिविधि सञ्चालनमा कटिबद्ध रहने नीति अबलम्बन गरिने छ ।

५. कानून सबैमा समानरूपले लागू हुने र पानीमाथिको ओभानो भई रहन नसक्ने अवस्था सिर्जना गरिने छ ।

अन्य/विविध–

१. जनतासँग गरिएको प्रतिबद्धतामा प्रतिबद्ध भई कार्यसम्पादन गर्न नसकिएको खण्डमा जनताबाट पाइने दण्डलाई सहर्ष स्विकारिने छ ।

२. भएका कमजोरीप्रति नैतिकरूपमा जिम्मेवार भई परिस्थितिको सामना गरिने छ ।

३. कसैको आस्था र भावनालाई जबरजस्त कुल्चिने काम गरिने छैन ।

४. सम्पूर्ण काम–कार्वाहीमा पारदर्शिता अपनाइने छ ।

५. कसैलाई पूर्व सूचना नदिई र सफाइ पेस गर्ने अवसर नदिई कुनै किसिमको अन्यथा निर्णय गरिने छैन ।

६. गहुँ पिस्दा घुन नपिसियोस् भन्ने कुरामा विशेष सतर्कता अपनाइने छ ।

७. आन्तरिक छलफलले ठोस निर्णय निकाल्दा ढिलाइ नगरिकन कार्यसम्पादनमा विशेष चनाखो भइने छ ।

८. दलीय र वैयक्तिक स्वार्थले मुलुक र जनताको अमनचयन स्खलन गर्न, गराउन सख्त मनाही गरिने छ ।

९. सदैव जनताका सेवकको हैसियतमा रहेर काम गरिने र जनताको सुखलाई आफ्नो सुख अनि जनताको दुःखलाई आफ्नै दुःख सम्झेर कर्तव्य पालनामा सरिक भइने छ ।

माथि उल्लेखित बुँदाहरू केवल सङ्केतका लागि हुन् । यिनै साङ्केतिक कुराहरूलाई केन्द्रविन्दु बनाई सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष विगतमा भएका कमिकमजोरी प्रति क्षमायाचना गर्दर्छौं । र, यसै घडीदेखि लागू हुने गरी माथि सङ्केत गरिएका कुराहरू सहर्ष अवलम्बन गर्ने सपथ खान्छौँ । कुनै काम–कुरामा कुठाराघात देखिएमा जनताले दिएको जस्तोसुकै सजाय भोग्न राजी छौँ भनी प्रतिबद्धता सार्वजनिक गर्दछौँ ।

अँ त दाइ ! माथि लेखिएका कुराहरू पूरा गर्न सक्छस् त, पुरानो ड्याङ्गबाट बाहिरिएर ठीकै गरिस् भनौंला । हैन, सत्तास्वार्थबस् उट्पट्याङ्ग कुरा गर्दै हिँडेको होस् भने समयमै मुसाको दुलो खोजिहाल । तेरो कल्याण त्यसैमा छ । पटकपटक ठूला सपना देखाउँदै जनताको भावनासँग खेलबाड गर्ने अधिकार तँलाई कसैले दिएको छैन । हैन भने, राजधानीलाई मात्रै मुलुक ठान्ने भूल नगरिकन जनचेतना जगाउन र खबरदारी गर्न गाउँ–गाउँ, पाखा–पाखा, कुनाकन्दरमा पुग्ने गर् । हरेक सम्प्रदाय र वर्गमा थोपरिएको घैलामैलालाई सफा गर्दै हिँड् । तँसँग चेतनाको दीप बाल्दै हिँड्ने सामथ्र्य देखिरहेछु । तँसँग अग्रगामी सोच र समझको मार्गचित्र भएको भेटिरहेछु । आफूमा भएको शक्ति र सामथ्र्यको पूरा उपयोग गर् । सोच र समझमा परिष्कार ल्याउँदै समयको माग र आवश्यकतामा तारतम्य मिलाउँदै अघि बढ् । जनकल्याणमा समर्पित तेरो त्याग र पुरुषार्थले जताततैबाट सलाम पाउने छ । नेपाली माटोमा तेरो खुन र पसिनाको मूल्य अनमोल भइरहने छ !

धन्यवाद !

–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल– लिटिल फ्लावर उच्च माध्यमिक विद्यालय, राजविराज–९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *