‘जे वजय छी, सएह मैथिली’ नाराका साथ मैथिली जागरण मञ्च, राजविराजले विद्यापति स्मृति पर्व तथा पुस्तक विमोचन समारोह सम्पन्न गर्यो । उक्त अवसरमा सागरवीर कडारीद्वारा लिखित, सम्पादित तथा सङ्कलित ‘मैथिली लोकोक्ति सागर’ नामक पुस्तक विमोचन भएको थियो ।
कार्यक्रमका अध्यक्ष आसिन मियाँ, प्रमुख अतिथि विष्णुकुमार मण्डल, विशिष्ट अतिथि डा. पिताम्बरलाल यादव, अतिथि अमरकान्त झाले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । मैथिली जागरण मञ्चका महासचिव श्यामसुन्दर यादवद्वारा उद्धोषण गरिएको उक्त कार्यक्रममा नन्दलाल आचार्य, करुणा झा, साधना झा, सत्येन्द्रनाथ चौधरी, विमला देव, धीरेन्द्र साह, जिवक्ष दास, निराञ्जन झा, विद्यानन्द वेदर्दी, सागरवीर कडारी, सरोज सन्त, राम मण्डल, रिशभ झा, सरोज दास, ब्रह्मदेव ठाकुर लगायतका वक्ताहरूले विद्यापति र विमोचित पुस्तकका बारेमा मन्तव्य राखेका थिए ।
उक्त अवसरमा वक्ताहरूले मधेसमा राजनीति गर्ने दलहरूले हिन्दीको सट्टा मैथिली भाषालाई साझा सम्पर्कको मुख्य भाषाको स्थान दिलाउनुपर्ने कुरामा जोड दिएका थिए । राजनैतिक दलहरूले मधेसमा राजनीति गर्ने हो भने मातृभाषा मैथिली र मातृभूमि मिथिलाञ्चलको समुन्नतिमा दिलोज्यानले काम गर्ने प्रतिबद्धता जाहेर गर्नु आवश्यक रहेको आवाज समेत उठेको थियो । मैथिली महासंघ, नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रमुख अतिथि विष्णुकुमार मण्डलले संविधानसभाको निर्वाचनसम्पन्न लगतै मिथिला राज्य र मैथिली भाषाको समुचित स्थानका लागि नेपालभरि शङ्खघोष गर्ने घोषणा गर्दै भन्नुभयो– ‘जब मैथिली भाषा, कला र संस्कृतिले उचित सम्मान पाउँछ तब मात्र महाकवि विद्यापतिप्रति उचित सम्मान ठहर्दछ । लेखक–कलाकारले गरेको मेहनतले उचित पारिश्रमिक पाउँछ ।’
मैथिली जागरण मञ्चका अध्यक्षसमेत रहेका कार्यक्रमका अध्यक्ष आसिन मियाँले मिथिला राज्यका तमाम समुदाय मैथिली भएको र मैथिली भाषा मिथिलाञ्चलको साझा र एक मात्र निर्विकल्प भाषा भएको उद्घोष गर्दै जसले जसरी बोले पनि त्यो मैथिली भाषा भएको वताउनुभयो । नेतानेतृले मधेस र मधेसीको हितमा केही गर्न नसक्ने भएकाले तिनीहरूको पछि लागेर हैन मैथिल युवाहरू स्वयम् अघि बढेमा मात्र मैथिली भाषाले सम्मान पाउने र मिथिलाञ्चल राज्य स्थापित हुने दाबी गर्नुभएको थियो ।
विमोचित कृतिका लेखक सागरवीर कडारीले ५/६ वर्ष लगाएर सप्तरी र सिराहा जिल्लाका गाउँघरमा पुगी वयोवृद्धहरूसँग कुराकानी गरेर कहबी, बुझौअलि र फकडाक सङ्कलन गरेको वताउँदै भन्नुभयो– ‘मैले मातृभूमिप्रतिको दायित्व पूरा गर्ने कोसिस मात्र गरेको हुँ । किड्नी (अश्मरी) रोगले पीडित हँुदाहुँदै पनि मैले लुकेका कुरा बाहिर ल्याउने जमर्को गरेँ । अब मेरो प्राण बचाउने जिम्मा तपाईंहरूको हातमा छ । किनभने इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानशेखपुरा–१४ पटना, विहारमा मेरो किड्नी समस्याको निरन्तर उपचार भइरहेको छ । राहत शिक्षक, गरिब र परिवारको कुनै अर्को आयस्रोत नभएको कारण उपचारमा आर्थिक समस्या परेको छ । अतः एक–एक वटा किताब किनिदिएर मलाई बाँच्न प्रोत्साहन दिन र आर्थिक स्रोत जुटाउन मद्दत गर्दिन अनुरोध गर्दछु । पुस्तक लिन र अन्य सल्लाह, सुझाव र सहयोग दिनका लागि मेरो मो. नं. ९८१५७२९८४६/९८०५९९८२५१ हो । ’
कार्यक्रममा सत्येन्द्रनाथ चौधरी, विद्यानन्द वेदर्दी, रिशभ झा, सरोज सन्त, राम मण्डल, निराजन झालगायतले कविता/गीतसमेत वाचन गरेका थिए । प्रस्तुत छ, छिन्नमस्ता एफ.एम.मा साहित्यिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका ‘मिथिलाके अनुपम डेग’ नामक मैथिल संस्थाका सप्तरी जिल्ला सदस्य विद्यानन्द वेदर्दीको गजल–
जनता सभक सजायल ख्वाबो बदैल जैत की
देखैत रहब एक पलमे चुनावो बदैल जैत की ।
मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हैते मात्तर
देशप्रति ऐ सभके झुकावो बदैल जैत की ।
भ्रष्टचार क’के डिस्कोमे पिअत हुस्की
लोकल दारु भट्टीके शराबो बदैल जैत की ।
सभक ठोरपर नयाँ नेपाल बनत कहिआ
आइकालि कहिते ई प्रश्नके जवाबो बदैल जैत की ।
संविधान बनलाके बाद, जहिनाके तहिना
रामवरण, प्रचण्ड सन नयाँ नवाबो बदैल जैत की ।
–नन्दलाल आचार्यबाट संकलित, लिखित तथा प्रेषित साहित्यिक/भाषिक क्षेत्रको समाचार ।
शनिबार, १ मङ्सिर, ०७०को कार्यक्रम
