Skip to content

घोडेजात्राः रेवन्त र शालिहोत्रको सम्झना

  • by


काठमाडौं उपत्यकामा चैत्रकृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइन्छ । यस दिन घोडादौडका साथै घोडाका विभिन्न खेलको प्रदर्शन गर्ने गरिन्छ । यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष भनेको भगवान् रेवन्तको पूजा हो । घोडेजात्राको दिन वसन्तपुर र सिंहदरबारमा रहेका रेवन्तको पीठमा घोडचढी प्रहरी र सैनिकद्वारा साइत जुराएर धार्मिक अनुष्ठान गरिन्छ । यसरी विधिपूर्वक पूजा गरिसकेपछि मात्रै घोडेजात्राका दिन घोडादौडको आयोजना हुने गर्दछ ।

भगवान् रेवन्त घोडाको रक्षा गर्ने देउता हुन् । घोडा सधैँ स्वस्थ होस् र कुनै रोगले दुःख नदेओस् भन्नका लागि रेवन्तको उपासना गरिन्छ । घोडसवारीमा सिपालु बन्न र घोढचढी युद्धकलामा पोख्त हुने प्रेरणा प्राप्त गर्न समेत रेवन्तको पूजा हुने गर्दछ । घोडचढी सेना तथा प्रहरीमा भगवान् रेवन्तलाई आराध्य देवता मानिन्छ । पशुचिकित्सकहरूद्वारा पनि घोडाको उपचारमा दक्ष हुन रेवन्तको पूजा गर्ने परम्परा छ ।

विष्णु पुराणअनुसार हिमवत् खण्डको उत्तरकुरू नाम गरेको किराँतीय प्रदेशमा तपस्या गरेका सङ्ज्ञा र सूर्यका सन्तानका रूपमा रेवन्तको उत्पत्ति भएको हो । दस्युभय अर्थात् लुटपिटको आतङ्क, चोरको बिगबिगी र डकैतीको त्रास निवारणका लागि रेवन्तको पूजा गर्ने उपदेश मार्कण्डेय पुराणमा दिइको छ । ‘बृहत् संहिता’ मा भगवान् रेवन्तको आकृतिसम्बन्धी जानकारी दिइएको छ । उक्त ग्रन्थमा खड्ग, धनुषजस्ता शस्त्रले सुसज्जित एक घोडसवार देउताको रूपमा रेवन्तको चित्रण गरिएको छ । कालिका पुराणमा बायाँ हातमा तेजिलो तरबार लिएका सेतो घोडामा सवार देउताको रूपमा भगवान् रेवन्तको वर्णन पाइन्छ ।

देवी भागवत्मा भगवान् रेवन्तको वाहन ‘उच्चैः श्रवा’ नामक दिव्य शक्तियुक्त घोडा भएको कुरा बताइएको छ । राम्रा र असल घोडा प्राप्त गर्न चाहनाले गर्नुपर्ने भगवान् रेवन्तको पूजासम्बन्धी जानकारी गरूड पुराणमा पाइन्छ । राज्याभिषेक गर्दा र घोडा दानका समय रेवन्तको आहृवान गर्ने विधान अग्निपुराणमा छ । नीलमाता पुराणमा घोडा पाल्नेहरूद्वारा गरिनुपर्ने भगवान् रेवन्तको पूजाबारे उल्लेख गरिएकेा छ । भगवान् रेवन्तको अश्वपि्रय, अश्वविद्या अधिष्ठाता, संज्ञापुत्र, उग्रतेजस्लगायतका विभिन्न एक्काइस वटा नाम छन् ।

घोडालाई स्वस्थ राख्ने र बिरामी परेमा उपचार गर्ने आयुर्वेदको स्वतन्त्र शास्त्र अश्वायुर्वेदमा रेवन्तलाई उक्त विद्याको मुख्य देवता मानिएको छ । अश्वायुर्वेद विषयका हस्तलिखित ग्रन्थहरूको सुरूमै ‘ॐ नमो रेवन्तायै’ लेखिएको भेटिन्छ । घोडाको उपचार गर्ने अश्ववैद्यहरू भगवान् रेवन्तको उपासना गर्दथे । ‘शालिहोत्र’ नामक अश्वायुर्वेदको प्रसिद्ध ग्रन्थमा आश्विन पूणिर्माको दिन अश्वशान्तिकर्म गर्नुपर्ने र त्यसो गर्दा कमलको फूल चढाएर रेवन्तको पूजा गर्नुपर्ने निर्देश गरिएको छ ।

घोडका रक्षक देउताको रूपमा भगवान् रेवन्तप्रति श्रद्धा प्रकट गरिए झैँ घोडामा समर्पित विद्याको विकास गर्ने अग्रणी विद्वान्को रूपमा शालिहोत्रलाई आदर गरिन्छ । ‘अश्वायुर्वेद सिद्धयोग सङ्ग्रह’ नामक ग्रन्थ रचना गरेका शालिहोत्रले उक्त कृतिमा आफूले सृष्टिका रचयिता ब्राहृमाद्वारा अविर्भाव भएको घोडा रक्षा गर्ने विद्या समाजकल्यणका लागि प्रस्तुत गरेको बताएका छन् । अग्नि पुराण, मत्स्य पुराण र गरूड पुराणमा शालिहोत्रको उल्लेख पाइन्छ ।

घोडाको अध्ययन-अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याएकै कारण घोडा-विज्ञानलाई पछि शालिहोत्र शास्त्र भन्न थालियो । घोडाका बारेमा लेखिएका किताबलाई समेत शालिहोत्र भन्ने नाम दिइयो । संस्कृत, नेपाली र नेवारी भाषामा लेखिएका ‘शालिहोत्र’ नामक सत्रवटा फरक-फरक हस्तलिखित ग्रन्थ राष्ट्रिय अभिलेखालयमा छन् । हस्तलिखित ग्रन्थमध्ये केहीलाई पछि पुस्तकका रूपमा प्रकाशित गरियो । यही क्रममा १९५९ देखि १९६३ सम्म गोरखापत्रका पण्डित -सम्पादक) रहेका चिरञ्जीवी पौड्यालले ‘शालिहोत्र’ नामक कृति प्रकाशित गरेका थिए ।

वि. सं. १९९० मा सैनिक पेशामा आबद्ध अनन्त शम्शेर थापाद्वारा प्रकाशित ‘पशु-प्रबन्ध’ नामक पुस्तकमा शालिहोत्रद्वारा प्रतिपादिन विवरणहरू समाहित छन् । शालिहोत्रद्वारा रचना गरिएको ‘अश्वायुर्वेद सिद्ध सङ्ग्रह’ लाई नेपालीमा अनुवाद गर्ने काम डमरूवल्लभ पौड्यालद्वारा भएको हो । उक्त पुस्तक वि. सं. २०३१ मा नारायणहिटी राजदरबारद्वारा प्रकाशित गरिएको थियो । उक्त ग्रन्थमा घोडाका विषयमा विविध जानकारी प्रस्तुत गरिएको छ । घोडाको जन्मदेखि मृत्युसम्म गरिने पालनपोषणका विविध उपाय, घोडालाई लाग्ने विभिन्न रोग र त्यसको उपचार, घोडाको तालिम र बसोबास लगायतका व्यवहारिक ज्ञान शालिहोत्रले आˆनो पुस्तकमा प्रस्तुत गरेका छन् । घोडामा गरिने शल्यचिकित्साको समेत उनले वर्णन गरेका छन् ।

घोडासम्बन्धी अति महत्त्वपूर्ण ज्ञान समावेश भएकाले शालिहोत्रको ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको थियो । उक्त गन्थलाई सन् १३८१ मा ‘कुब्रुत उलमुल्क’ नाम दिई फारसीमा अनुवाद गरियो । शैययद अब्दुला खान फिरोज जङ्गले यसलाई ‘किताब उल वैतर्त’ नाम दिएर अरबी भाषामा छपाएका थिए । यसका दुइ प्रति अङ्ग्रेजी अनुवाद अहिले लण्डनस्थित बेलायती सङ्ग्रहालय र जर्मनीको बर्लिन पुस्तकालयमा राखिएका छन् । तिब्बती भाषामा यसको अनुवादलाई ‘ताङयूर’ नाम दिइएको छ ।

सामाजिक व्यवहारका विविध आवश्यकताको परिपूर्ति प्राकृतिक सामाग्रीद्वारा नै होस् भन्ने चाहना राख्ने हाम्रा पूर्वजहरू पर्यावरणीय सन्तुलन कायम गर्नुलाई नै सर्वस्व ठान्दथे । त्यही भएर घोडाको उपयोगले पहिले व्यापकता पाउन सक्यो । यसरी सुदूर भविष्यको चिन्ता गरिएकै कारण हामी कहाँ घोडा-विज्ञानले समेत यति गौरव-गरिमाका साथ विकास गर्ने सुअवर पाएको हो । त्यसैले घोडेजात्राका दिन अश्वकलाको प्रदर्शनमा मात्र सीमित नभई घोडाको अन्वेषणमा नेपाली सभ्यताले चुमेको उत्कर्षको सम्झना गरिनुपर्छ र तिनलाई कथा होइन विज्ञानकै रूपमा संसारभर प्रतिष्ठित गराउने सत्प्रयासहरू पनि थालिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *