Skip to content

दोस्रो न्वारान


सुन्दा पनि खितखित हाँसेको थिए म। नहाँसु पनि कसरी ? रमेशलाई रामेशु भनेको सुन्दा। रुपेशलाई रुपेशु भनेको सुन्दा। उमेशलाई उमेशु भनेको सुन्दा। सन्देशलाई सन्देशु भनेको सुन्दा। त्यही बखत मैले एक लखकाटेको थिएँ, “यिनीहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याउँदा रहेछन्।”

पछि मात्र थाहा पाएँ। मेरो त्यो लख पनि गौण पो रहेछ। मेरो हाँसोको फोहोरा झन भयांकर भएर आयो जब मैले आत्मीय अर्जुनलाई आजन भनेको सुने। तब मात्र म शत प्रतिशत फेल खाए मेरो ठहरमा। त्यो पनि सातौं चोटि घोकाउँदै बोकाउँदै रे। एक मनले त सोचें, यी मनुवाहरुले छद्मभेष त गरेका हैनन् ? कस्ता प्रमादी मनुवाहरू। अर्जुन बिस्तारै भन्छ,”अर्जुन।” मनुवा भन्छ,”अन्जुन ?” ऊ अब हात हल्लाउँदै बोलिको सघनलाई स्पष्ट पार्छ। अर-जुँन। मनुवा सायसपूर्वक ओठ चलाउँछ “अयर-जुन?”

धन्न ऊ अँझैसम्म झिंझिएको देखिदैन। काले, जंघे, बिरे रधनेको फेला पर्नुपर्छ। निमेशमै राइतालो मच्चिनेथ्यो। अर्जुन तपिउरीजस्तै हल्का भएरै मात्र हो। फेरि मनुवालाई मानमिजास पनि राख्नैपर्यो। नत्र त जतिखेरै ताना दिन माहिर छन् मनुवाहरू।

अलमस्ति बनेर सुइँकुच्चा ठोक्न पनि भएन। पछिपछि त ऊ पनि मनुवाले निचोर्-नाचोर् वा कनीकुथी उच्चारण गर्दा हाइसञ्चो मानिरहन्छ। आफ्नोशिर हजुर हजुर भन्दै आकाश र जमिनतिर हल्लाइरहन्छ। उसलाई पनि तऔहाडा हुन्छ नि। अत:निचोड निस्कन्छ उसको नामउपर। आजन। नामकैबिषयमा यत्रो रैला गर्नुभन्दा त अर्जुनले बरु त्यही नामलाई श्रेयस्कर मान्दैगाठो कस्छ। मनुवा आफूलाई आत्मश्लाघी ठान्दै कामतिर दौडिन्छ। अर्जुनदंगदास हुँदै युवा उमेरमा आफ्नो न्वारानको नबिन नाम “आजन” कण्ठगर्दै पछ्याउँछ मनुवालाई। त्यो प्रातकालमा उसले यति भन्दाहासोसंगसँगै बिस्फोटित आवाजलाई हातको ढाल बनाएर जबरजस्तथुन्ने चेष्टा गर्छु म।

साजन अधिकारी। अर्को एक मित्रको नाम। बढो मृदु मुस्कान दिदैकार्यस्थलमा पहिलोचोटि प्रवेश गर्छ। साजन आमोदित भई आधा जिउनिहुराउँदै आफूलाई मुकाम गर्छ। शुरुमा अलि दहकस मान्दै एक अधबैसेकोरियनले कुनाको एक सन्दुक खोल्दै कपडाका पन्जा र नाक मुक ढाक्नेसेतो माक्स दिदै सोध्छ, “ईरुमी म्वया?”(नाम के हो)।

साजनले एकै हरमा भन्छ, “साजन अधिकारी।”

मलाई लाजसँगसँगैको मिश्रित हाँसोले एकै चोटी छोप्न शुरु गर्छ। बरु लाज पचाइएला, तर हाँसो दबाउन मुस्किलछ यहाँ। मुन्टो हल्लाउँदै, चेहरा बिगार्दै उल्टै प्रश्न गर्छ ऊ।

“स्याछन आथिका ?” बाफ्रे! मेरो हाँसोको फोहोरा कहाँ रोकिन्थ्यो र ? नेपाली नामलाई एकैछिनमा रेगिस्थानी नाम बनाइदिंदा। नामको के हर्जो छ र यहाँ ? मभित्र झन परिहास उत्पात हुँदै अन्तस्करणबाटै अचाक्ली चुलिएर आयो। अनि फुत्त मुखबाट उफ्रियो दिल्लगी रुपी फोहरा। मैले जबरजस्त मुख छोपेँ र सुँक्क-सुँक्क गरी आफूलाई एकैछिन ढाकछोप गराएँ।

“प्रभु छिटै मोचन मिलोस,” मैले मनमनै याचन गरेँ।

प्रश्न-उत्तर झैं दोहोरी चल्छ त्यहाँ। अधबैँसे त च्याठिँदै थर्काउँछ पो, “सुईजन मिल्यो ?”

“…”

“माजन मिल्यो ?”

“मिलेन हजुर।”

“स्याजन ?”

“मिलेन।”

नाम त कसै गर्दा मिल्दै मिल्दैन। अहँ अहँ गर्दै साजन टाउको हल्लाउँदै हाँस्छ मुसुमुसु। घरिघरि मतिर हेर्छ। मलाई झन् बेस्सरी बेस्सरी हाँसो उँठ्छ। म मुख थुनेर फन्नक अर्कोपट्टि फर्कन्छु र शौच गर्न भन्दै दगुर्छु। एक घण्टापछि ट्वाइलेटमै जम्काभेट हुँदा सोधिहाल्छु खुसुक्क, “नाम के जुर्यो साजन?”

उसले मोचित हुँदै भन्छ, “आजन रे आजन।”

म ट्वाँ पर्दै सम्झन्छु। साजन त कोरियन शब्द पनि हो नि। किन कन्जुस गर्छन् उच्चारण गर्न। अरे! अर्जुनको पनि नाम ‘आजन’ अनि साजनको पनि नाम ‘आजन’। हैन के पारा यो? कोरियनहरुका नाम हामी त स्पष्टसँग उच्चारण गर्छौं। किम जङ् उन्, किम ह्यन् हो। उ छल् यन्। फाक सङ् गिल्। के यिनीहरू सबैलाई एउटै नाम राख्दा मिल्छ? राखिदिऊँ खिम च्वा? हरे शिव! कसरी सपारुँ बिग्रिएको नाम!

कहिलेकाहि नामहरुको कन्त बिजोक देख्दा यस्तो लाग्छ कि बरु छद्म गर्दै सजिलो नाम भनिदिऊँ। जस्तै काका, दादा, मामा, आमा। हैट हुन्न। फेरि यस्ता पवित्र नामहरू अप्रभंश भए भने कस्तो सुनिएलान्! काकालाई खाखा, दादालाई राधा, मामालाई जामा, आमालाई रामा। अंग्रेजहरुले सही उच्चारण गर्न सक्ने नेपाली नामहरू कोरियनको कण्ठमा चैं किन नसुहाउने? हैन नेपाली नामहरू मात्र हिन्दोल गर्छन कि अरु पनि छन् यस्ता।
मलाई त शंखै लाग्छ। ओलीलाई ‘खोली’ रे। राईलाई ‘लाई’ रे। पंगेनीलाई ‘पाखे’ रे। लामालाई ‘रामा’ रे। आचार्यलाई ‘अचारी’ रे। राजवंशीलाई ‘फागंसी’ रे। गुरुङ्लाई ‘फुरुमा’ वा ‘खुरुमा’ रे। मानिसको शदिंयौको पवित्र थरमाथि यस्तो बिठ्याइँ गर्न कोरियनहरू मात्र माहिर हुन्छन। लिंगको यत्रो महत्व छ संसारमा। मतलबै छैन यिनीहरुलाई। बिमललाई ‘बिमला’ रे। नविनलाई ‘नविना’ रे। सुसनलाई ‘सुसना’ रे। सबिनलाई ‘सबिना’ रे। यहाँ त लिलै छ साथी।

पूर्वेली नाम पनि पश्चिमेली रअनेक मेली बन्छन। शिबलाई ‘शिल्बा’ भन्दा। सन्दिपलाई ‘सन’ भन्दा। देवेन्द्रलाई ‘भेन’ भन्दा। चन्द्रलाई ‘चेन’ भन्दा। तपाईं अँझै आसर्जे मान्नु होला। यस्ता थुप्रै नामहरू छन् मसँग। हरीलाई ‘हरिया’। प्रकाशलाई ‘फाक्का’, अनि ‘फुराकाशु’ हुँदै ‘फाकाशु’सम्म। कमललाई खमराहुदै खमरी वाखामेलसम्म। सागरलाई स्याग। बहादुरलाई दुरा। जवादलाई जावे। अर्कोरसयुक्त कुरो त के छ भने एउटै नाम पनि फरकफरको मुखमा पर्दाफरकफरक उच्चारण हुदोरहेछ। कसैले खुमा रे। कसैले कुमारा रे। कसैलेकुमारु रे। बीचरो कुमारलाई।

कम्पनीमा पहिलोचोटि प्रवेश गर्दा रभसपूर्ण बनी रोजनामचा लिन मपुग्छु। मलाई साथीभाइकै कुरा सुन्दा रनसंग्राम बन्छ जस्तै लाग्थ्यो। मेरोत्यो हासो क्रोधमा परिणत हुन्छ जस्तै लाग्थ्यो। मैले चतुर भएर बसेराछाड्नुपूर्व गोजीमा कोरियन ठुला अक्षरमा मेरो शुद्द नाम लेखेरघुसाइदिएको थिए। मलाई मेरो नाममा गथासो गरेको मन नपर्ने भएरै होमैले त्यसो गरेको। मलाई पूर्व अनुमान भइसकेको थियो। मेरो नाम उनिहरुको मुखबाट कसरी पिङ खेल्छ भनेर।

तेरो नाम चै के हो ? पुग्नेबित्तिकै त्यही अधबैंशे मसँग ठोक्किन आउछ। उसको अनुहार देखेपछि मलाई कुत्कुत्याइहाल्छ हाँसोले। के कोरिस्सिनु। हाँस्न पो थाले म। माध्विले लठ्ठिएको मान्छे जस्तै। तथापि फ्याट्ट भनें, “बुद्धि पण्डित।”

सँगैकी एउटी शेर्पीनी साथीले भनिन् उनको नाम, “फुटी शेर्पा।”

अति स्पृहि बनी कोरियनले फेरि सोध्यो फुटीलाई। बिनम्र भई बताई उसले। म भयाकंर हाँस्न थाले तब। फुटी हात मुखमा लग्दै कहिले मतिर त कहिले त्यही खरी-साउँलोतिर हेर्दै हिकहिक गर्दै गिल्लिन थालिन्। मलाई त परिहासको स्पन्दन छुटिसकेको थियो। दाइने हात पाइन्ट्को बगलीमा छिरिसकेको थियो। फ्याट्ट निकालेर आँखैसामु खरा खिदिऊँ झै झ्वाँक चलेको थियो कागजको चिर्कटो। पर्खिएँ मैले एकैछिन।

कतै कैफत नगरी सुन्दर नामलाई कैलाशबास नपुर्याउने पो हो कि ? बाफ्रे! सुनिसक्नु भएन मेरो नाम। झन् सुनिसक्नु भएन फुटीको नाम। “भो भो हजुर,” मैले बोल्दा-बोल्दै हातले रोकेर एक हातले हत्तपत्त जेबबाट चिर्कटो फुत्त निकालेँ र दिएँ कैफतीलाई। धेरै सहज मान्दै उच्चारण गर्यो उसले। बुद्धिलाई फुटीमै पुर्यायो। फुटीको कहाँ पुर्यायो पुर्यायो। भन्दा पनि शरम लाग्छ। फुटी नाराज बनी त्यही नाममा रफत भई। म फुटीको नाममा रफत भएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *