Skip to content

ग्राम्स्कीको देश इटलीमा

  • by


सन् २००८ को नोभेम्बरमा नवमार्क्सेली चिन्तक एन्टोनियो ग्राम्स्कीको देश इटलीको भ्रमण गर्ने अवसर मिल्यो । हर्षले मन पुलकित भयो । इटलीको धेरै सीमित विम्बहरू छन् मेरो । चिन्तक ग्राम्स्की, फुटबलर रोवर्टो वाजियो, पिसाको ढल्केको टावर र रोमको ऐतिहासिक सभ्यता । शायद जम्माजम्मी यी चार विम्बहरू । लामो थकानपूर्ण यात्रापछि बल्लतल्ल रोममा ओर्ल्यौ । मसँग युथ एक्सन नेपालका पवन राय र चाइल्ड युथ नेटवर्कका भगवती अधिकारी पनि थिए । हामीहरू सामाजिक अभियानका बारेमा छलफल गर्न एक्सन एड इटलीबाट निम्त्याइएका थियौं । विदेशी साथी पाओलो र उनको प्रेमिका चियरा हामीलाई रोम एयरपोर्टमा पर्खिरहेका थिए । सामान्य चिनजानपछि पवन राय, भगवती अधिकारी र म उनको बेन्चकारमा बस्यौं । कारमा बस्न नपाउँदै आनन्दको आवेगलाई सम्हाल्न नसकेर मैले भने ः ‘ग्राम्स्कीको देशमा आउँदा खुसी लाग्यो ।’ पाओलो क्षणभरलाई चकित भयो । उनलाई शायद मलाई ग्राम्स्कीको बारेमा थाहा छ भन्ने अनुमान थिएन । हुन पनि उनकै देशमा ग्राम्स्की अहिले बिर्सदै गइरहेको छ । सामाजिक आन्दोलनको बारेमा अध्ययन गर्दा ग्राम्स्कीको बारेमा थाहा पाएको थिए । ग्राम्स्की सांस्कृतिक प्रभुत्ववाद (कल्चरल हेजेमनी) सिद्धान्तको प्रतिपादकको रूपमा चिनिन्छ । सफा र चौडा बाटामा गुडिरहेको कारमा साथीहरू कुराकानीमा व्यस्त रहँदा मैले भने ग्राम्स्की नै सम्झिरहेको थिए । ग्राम्स्कीको बारेमा एक्सनएड भारतका निर्देशक बाबु माथ्युज्ले व्याख्या गरेपछि मेरो जिज्ञासा झन् थपिएको थियो ।

सन् १८९१ मा एल्स, सार्डिनियामा जन्मेका ग्राम्स्की इटलीको अल्वानियन अल्पसङ्ख्यक थिए । ग्ा्राम्स्कीको बुबा सरकारी जागिरे थिए । प्रशासनिक पदको दुरूपयोगको आरोपमा उसको बुबा ५ वर्ष जेल परेपछि ग्राम्स्कीको दुःखको दिन सुरू भयो । छ सन्तानको परिवार, जेलको आपत्ति र चरम गरिबीले ग्राम्स्कीलाई जीवनको कठोर सत्य र क्रुर अनुभव बाल्यकालमा नै भयो । साथै गरिबीको अभावमा नफस्टिएको रोगी शरीर आजीवन ग्राम्स्कीको परिचयजस्तै बन्यो । सन् १९११ मा तेज संस्मरण क्षमता र तर्कशील ग्राम्स्कीले टुरिनको विश्वविद्यालयमा अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरे । टुरिन सहर भर्खर औद्योगिकीकरणमा प्रवेश गरेको थियो । फियट र लान्सिया ब्रान्डका मोटरकारखानाले दुर्गम गाउँका गरिब श्रमिकहरूलाई दल्नु दलाउँथे । ग्राम्स्कीले गरिब श्रमिकहरूको श्रमशोषण गरेर अन्यायपूर्ण हिसाबले उद्योगी, पूँजीपतिले पैसा थुपारेको देखे । ग्राम्स्की त्यसपछि ट्रेड युनियनमार्फत श्रमिकहरूलाई सङ्गठित र परिचालित गर्न तर्फ लागे । यही क्रममा सन् १९१३ मा ग्राम्स्कीले इटाली समाजवादी पार्टीमा प्रवेश गरे ।

एकाध घण्टाको यात्रापछि हामी सामान्य भिरालो पहाडमा बनेको मनमोहक ग्रामीण सहर फ्रान्सकाटी आइपुग्यौँ । मूल सडकबाट छुट्टएिर तीन चार मिनेटमा एउटा पुरानो फलामको गेटभित्र छिर्‍यौं । हलिउडको हरर फिल्ममा देखाइनेजस्तो फलामको गेट । बाटाको दुवैतिर लस्करै ठूलाठूला रूखहरू उम्भिएका थिए । सडकमा खसेका पहेँलो र रातो पातहरूको रङ्गीबिरङ्गीको कार्पेट ओछ्याइएको थियो । नजिकै सुन्दर उद्यान । अलि तल ओलिभका रूखहरूको फार्म । ओलिभका रूखमा कालाकाला ओलिभका दानाहरू सुन्दरतम् झुण्डिएका देखिन्थे । पुरानो भिल्लाजस्तो तीन चार तल्लाको भवन अगाडि गाडी रोकियो । हाम्रो गन्तव्य यही थियो गोष्ठीको ।

सन् १९२६ मा फाँसीवादी सरकारले मुसोलिनीको हत्याको आरोपमा सङ्कटकाल घोषणा गर्‍यो र अन्य राजनीतिक पार्टीका सदस्यहरूलाई धरपकड सुरू गर्‍यो । यसैक्रममा ग्राम्स्की पनि पक्राउ परे र क्युविन अफ हेभेन जेलमा राखिए । कानुनी केसमा सरकारी पक्षले ग्राम्स्कीको विरुद्धमा अदालतमा यसरी बयान दिए ः ग्राम्स्की अत्यन्त खतरनाक मान्छे हो, आगामी २० बर्षसम्म्मको निम्ति हामीले उसको सोच्ने क्षमतालाई बन्द गर्नुपर्दछ ।

सन् १९१४ मा समाजवादी पत्रिकामा राजनीतिक, सांस्कृतिक लेख रचनाहरू पठाउन सुरू गरे ग्राम्स्कीले । उच्च बौद्धिक पत्रकारको रूपमा विस्तारै ग्राम्स्कीको छवि स्थापित हुँदै गयो । केही नजिकका साथीहरूसँग साप्ताहिक खबरपत्रिका न्यु अर्डरको स्थापना गरे । सन् १९२१ मा बेनिटो मुसोलिनीको राष्ट्रिय फासिस्ट पार्टी स्थापना भएपछि राज्यको तानाशाह र निरकुङ्शता चुलियो । फाँसीवादको बिरुद्धमा बैचारिक र साङ्गठनिक दुबै हिसावले ग्राम्स्की क्रियाशील भए ।

दुई दिने गोष्ठीमा इटलीको सामाजिक आन्दोलनको स्वरूप र सङ्गठनको बारेमा धेरै जानकारी भयो । हामीले पनि नेपालमा अनुभव गरेका युवा अभियानका बारेमा आफ्ना बिचारहरू राख्यौँ । पवन र भगवती अभियानमा प्रत्यक्ष संलग्न भएकोले उहाँका प्रस्तुतिहरूलाई रुचि लिएर सुने इटलीका सहभागीहरूले । गोष्ठी सकिएपछि पाओलो र चियरासँग रोम घुम्न निस्क्यौं । रोमको कल्पना मात्रले मनभरि वग्रेल्ती आनन्दका लहरहरू दगुर्‍यो । केही महिना अघि नेपाल आउँदा पाओलो, चियरा र उनका साथीहरूलाई मैले काठमाडौँ मज्जाले घुमाएको थिए । विशेष वसन्तपुरका संस्कृति सम्पदा । उनीहरू हप्ता दिनको निम्ति कैलालीका सुकुम्वासी वस्ती घुम्न गए, वेफुर्सदले म जान सकिन् । उनीहरू खाद्य सुरक्षाको स्थिति बुझ्न र सुकुम्वासीहरूसँग उक्त विषयमा छलफल गर्न आएका थिए । कैलालीबाट फर्केपछि पाओलोले वस्तीका मानिसहरूको सहयोगी भावना र खुला हृदयको निकैपल्ट प्रशंसा गरेको थियो । पाओलोका अनुसार पश्चिमको आधुनिकीकरणमा उनीहरूको मानवीय सम्बन्ध धेरै स्वार्थी र शुष्क हुँदै गइरहेका छन् ।

विश्वव्यापी खाद्य सङ्कट, ऊर्जा सङ्कट र वित्तीय सङ्कटको असर निम्न मध्यम वर्गीय इटलीयन व्यक्तिहरूलाई धेरै परेको छ । विशेष, वृद्धवृद्धाहरू धेरै एक्लो र निरस जीवन बाँचिरहेका छन् । भूमिगत रेलवे स्टेसनमा माग्न बसेका, अशक्त घरविहीन वृद्धवृद्धाको अनुहारमा विषाद र नैराश्यताको रेखाहरू सल्बलाइरहेको देखिन्थ्यो । गोष्ठीमा खाद्य अधिकारबाट वञ्चितहरूको सङ्ख्या ग्रामीण क्षेत्रमा वढ्दै गएको थाहा भयो । एकातिर फेसनको सहर भनेर चिनिएको देश इटली, अर्कोतिर चरम गरिबीमा बाँच्न विवश सिमान्तकृत समुदायहरू, विसङ्गतवोध भयो ।

पाओलोको बाजे मुसोलिनीको निरकुङ्शता बिरुद्ध लड्ने स्वतन्त्रता सेनानी रहेछ । पाओलो जो हाम्रो गाइड पनि थिए, इटलीको बद्लिँदो आचरण र अत्यन्त भौतिकवादी चरित्रलाई मन पराउँदैन मात्र होइन, एकहदमा घृणा पनि गर्दछ । ऊ वर्तमान पूँजीवादी इटलीलाई पनि संरचनात्मक फाँंसीवाद भन्छ । स्टेरिङ घुमाउँदा पाओलोले दाहिने हातको वूढी औँलामा लगाएको प्लास्टिकको नीलो औँठी बेला बेला टल्कन्थ्यो । चियरा पातली, तीखो नाक नक्साको । प्रायः मौन बस्ने । अलि लज्जालु तर अत्यन्त सुन्दरी । पाओलो भने एक सुरले हामीलाई गाइडलेझैँं स्थान, व्यक्ति, इतिहासको बारे जानकारी गराइराख्थे । रोमको हजाराँै वर्ष पुराना सभ्यताका अवशेषहरू सफा गल्ली, सुन्दर उद्यान, कलात्मक वास्तुकला र सहरभरि ठडिएको मूर्तिहरूमा प्रतिविम्बित भएको थियो ।

विश्वप्रसिद्ध ट्रेभि फाउन्टेन (इ.सं १७३५) विष्मृत पार्ने खालको थियो । पत्यारै गर्न नसकिने कलात्मक भव्यताको । विस्फारित आँखाहरू लिएर म क्षणभरलाई विचारशून्य भए । पइटकहरू फाउन्टेन र त्यस वरिपरिका कलात्मक मूर्तिहरू हेर्दै मुग्ध भएका देखिन्थे । फोटो खिचाउनेहरूको ठेलमठेल भीड थियो । कोही प्रगाढ शान्तिको भाव ओढ्दै हातले फोहोराको निलो पानी छोइरहेका थिए । मूर्तितिर फर्काइएको शक्तिशाली फ्लासलाइटका हजारौं वाटका प्रकाश संगमर्मरका मूर्तिहरूमा छरिदा सिङ्गो वातावरण अतीयथार्थिक पेन्टिङजस्तो देखिन्थ्यो । सपनाको सुन्दरतम् दृश्यजस्तो । म पनि आनन्दको स्वप्नलोकमा हराउँदै गरेको बेला पाओलोले मलाई बोलायो । ध्यान भङ्ग भएपछि म पावोलोतिर बढे ।

पाओलोले मलाई अलिकति हिँडाएपछि भन्यो “म तिमीलाई त्यो शासकको मूढता देखाउँछु जसले यो वैभवशाली फोहोरा बनाइएकोथ्यो ।” मैले पहिला त केही बुझिन् । फोहोराको उत्तरी कुनोमा पुगेपछि मैले देखे, त्यहाँ संगमर्मरकै अनुमानित एक मिटर व्यासको ढिस्को दृश्य नै छेकिने गरी ढ्यास्स राखिएको थियो । पाओलोले भन्यो “त्यो फोहोरा बनाउँदा शासकले नागरिकहरूसँग अनुदान मागेको थियो रे । त्यो कुनो नजिकको पसलेले अनुदान दिन नमानेपछि शासक रिसाएर मूर्तिहरूको सुन्दर दृश्य छेकियोस् भनेर दुकानकै अगाडि ढिस्को राख्नलगाएछ ।” पाओलो हाँस्दै थप्छ, “त्यो अत्यन्त तुच्छ मूर्ख थियो । मलाई लाग्यो, वैभवशाली भनिएको फाउन्टेन शासकको इतिहास थियो तर ढिस्कोले शासितको इतिहास दर्शाइरहेको थियो । जसले ऊ बेला नै त्यो शक्तिशाली शासकको आज्ञाको प्रतिरोध गर्ने साहस गर्‍यो, लाग्यो त्यही व्यक्तिको आत्मा ग्राम्स्कीमा प्रवेश गरेको हुनुपर्छ ।

ग्राम्स्कीको ख्याति मुख्यतया उसले सन् १९२९ देखि १९३५ सम्मको क्रममा लेखेको जेलबाट चिठ्ठी नै हो, जसलाई पछि जेल नोटबुक नामक सँगालोको रूप दिइयो । एघार वर्षको ऐकान्तिक जेल जीवनमा करिब ३० वटा नोटबुक र ३,००० पेजमा उनले तत्कालीन समाज, राज्य र राजनीति विषयमा विशद् ऐतिहासिक विश्लेषण गरेका थिए । उक्त जेल नोटबुकले युरोपमा मात्र होइन, तेस्रो विश्वका बौद्धिक जगत् र राजनीतिवृत्तमा गहिरो हलचल मच्चायो । जेलबाट मुक्त भएको करिब २ वर्षपछि २७ अप्रिल, १९३७ मा ४६ वर्षको अल्पायुमा ग्राम्स्कीको निधन भयो ।

पूँजीवादको नाफामूलक विश्वव्यापीकरणले पैसा हुनेलाई सम्पूर्ण संसार सुम्पेको छ, नहुनेसँग आत्मसम्मानसमेत खोसेकोछ । हुन पनि चाहे रोमन फोरम, विश्वप्रसिद्ध कोलोसियम हेर्दा होस् वा संसारकै प्रति इन्च सर्वाधिक धनी र सानो स्वतन्त्र राज्य भेटिकन सिटि भ्रमण गर्दा होस्, यत्रतत्र पैसाकै अधिपत्य देखिन्थ्यो । पैसाले नै मानव मानवबीचको सम्बन्धहरू निर्माण गरेको छ । पैसा बाहिर केही अस्तित्वमा छैन । पैसालाई नै अन्तिम सत्य वनाउने व्यवस्था राम्रो लागेन ।

रोम सहरभरि नै इतिहासको छाँया मात्र देखे मैले । शक्तिशाली भूतकालीन इतिहासको छाँयाले इटलीको चिन्तनाहरूलाई भविष्यतिर ताक्न नदिएकोझैँं माने । आफ्नो स्वभावलाई भत्काउँदै चियरा बोलिन् “इटलीका पनि प्राविधिक, वैज्ञानिकहरू विशेषतः अमेरिका र बेलायतमा पलाइन भइरहेको छ ।” भिन्न कारणले नै किन नहोस्, नेपालमा हामीले भोगिरहेकोे विदेश पलाइनको पीडा विकसित भनिने इटलीको पनि रहेछ ।

ट्रेभि फोहोरामा सिक्का फ्याकेपछि भाग्यले साथ दिन्छ भन्ने प्रचलन रहेछ । जसले पनि सिक्का फ्याकेको देखिने । सङग्लो पानीभित्र सिक्का यत्रतत्र मिल्किरहेका देखिन्थे । पूँजीवादका उपजस्वरूप वनेका सिक्काका छाँया पनि पानीको लहरसँगै हल्लिरहेका देखिन्थे । पूँजीवादको सिक्का फ्याक्नजस्तो पूँजीवाद फ्याक्न कदाचित सजिलो छैन तर असम्भव पनि शायद छैन । इतिहासले प्रष्ट देखाइसकेको छ । छलफलमा सामाजिक अभियन्ताहरू सामाजिक न्यायमा आधारित नयाँ विश्व संरचनाको कुरा गरिरहेका थिए । इटलीको आधुनिक सहर र बाहिरबाट देखिने सम्पन्नताभित्रको सामाजिक अन्यायलाई पाओलोले चिनाएपछि मलाई पनि भिन्न अनुभव भयो । तिलचामले प्रशन्नचित्त पाओलो मलाई पृथक व्यक्ति लाग्यो । युरोपको विकसित पूँजीवादमा मार्क्सवादी हुनु नेपालको अविकसित समाजमा मार्क्सवादी हुनु भन्दा शायद धेरै गुणा कठिन थियो । पाओलोले देखाएको परिवेश, सुनाएको कथा र कथाका घटनाहरू सतहभित्रको थियो । शायद त्यसैले मैले पर्यटकहरूले भन्दा भित्रसम्म देखेको थिएँ ।

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *