Skip to content

मालिकका पूजारीहरु (लघु कथा)

  • by


गएको महिनाको अन्तिम सप्ताहतिर मधेशका भूमिपति, ब्यापारी तथा समाजसेवी गजानन्द तिवारीको घरमा भएको ज्याफ्री नाम गरेको पोथी कुकुरको पाचौ वर्ष प्रवेश गरेको अवसरमा भव्य तरिकाले जन्म दिन मनाईयो । ज्याफ्री भारतका लकडीका नामूद ब्यापारी नवासी लालले गजानन्दकी माहिली श्रीमती अम्बिका देवीलाई तीन वर्ष अगाडि उपहार स्वरुप दिएका थिए । एउटा सानो फूर्लुंगमा राख्दा पनि हुने, यसो खोकिलातिर बोकेर हिडे पनि हुने, बडो मज्जाको कुकुर लाग्छ ज्याफ्री । कालो र सेतो रंग मिसिएको, मसिना काला रिठ्ठाका दाना जस्ता तीखा आखा भएको,मसिना कान, मूसाका जस्ता दात, जोख्यो भने त्यस्तै तीन पाउ जति वजनको हुदो होला । गाउका निकै जना केटाकेटीहरूलाई उनीहरूका भाषामा ज्याफ्रीले काटेको छ । गाउका गरिव मानिसहरू ज्याफ्रिको बिरुद्धमा उजुर गर्न सक्दैनन । ज्याफ्री काट्दै जान्छ, उनीहरू सहदै जान्छन् ।

गजानन्द तिवारीले ज्याफ्रिको जन्म दिनमा टाढा-टाढा देखिका आफ्ना हितैसी मित्रहरू, पाहुनाहरूलाई निमन्त्रणा गरे । राजनीतिक दलका नेता, सरकारका उच्च पदस्थ कर्मचारीहरू, ब्यापारी गणहरू लगायतका मानिसहरूको ठूलो उपस्थिति थियो । आमन्त्रित महानुभावहरू कसैलाई पनि कुनै किसिमको कमिकमजोरी नहोस भनेर गजानन्दले सबै कुराको तर्जुमा गरेका थिए । ज्याफ्रिको नक्शा आकृत ठूलो र आकर्षित केक सजाइएको थियो । महंगा महंगा बिदेशी सोमरसका बोतलहरू राखिएका थिए । एउटा पाच तारे होटलको बार भन्दा कम थिएन । ५-७ वटा पहाडबाट ल्याइएका स्थानीय जातका खसीहरूका विभिन्न प्रकारका परिकार बनेका थिए । ज्याफ्रिको जन्म दिनको केक काट्ने समयको शुभ मुर्हूतको बेला पाहुनाहरूले ल्याएका आफ्ना आफ्ना उपहारहरू दिए । ज्याफ्रिले धन्यवाद भन्न नजाने पनि बेला बेला मुन्टो हल्लाएर धन्यवाद भने जस्तै गर्थ्यो । केक काटे पछि सबैले उज्यालो अनुहार लगाएर “ह्यापी बर्थ डे टु ज्याफ्री” भने ।

मुम्बईबाट दुई जना अंग्रेजी भाषामा गीत गाउने लोकप्रिय गायकहरू पनि बोलाइएको रहेछ । तिनीहरूले अनेक थरिका भाकामा अंग्रेजी गीतहरू गाए । गाउबाट ज्याफ्रीको जन्म दिनको रमझम हेर्न गएका केटाकेटीहरूले पनि गजानन्दको घरको बाहिर पटीका झ्यालबाट भित्र हेर्दै अंग्रेजी भाषाको गीत बुझे जस्तो गरी ताली बजाए । गरिबीले खाएका देख्दै माया लाग्ने गाउका केटाकेटीहरूलाई मसिना एक एक वटा केकका डल्लाहरू सालको पातमा दिएर बाहिरबाट नै भगाइयो । उनीहरूले पनि ज्याफ्रिको जस्तै जिन्दगी भए कति राम्रो हुने थियो भनेर सोचे हुनन् ।

यता पाहुनाहरूको रेखदेखमा खटिएका गजानन्दका आफ्ना कर्मचारीहरू लक्ष्मीनाथ र धर्मनाथ बडो फूर्तिलो पारामा काम गर्दै थिए । पाहुनाहरू रक्सिको साथमा स्न्याक्स, सेकुवा, भुटुवा, पकुवा के के हो के के परिकार साथ रमाउन लागेका थिए । सबै खाना, गाना र बजानामा व्यस्त भएको देखेर धर्मनाथको मुख रसाउन लाग्यो । धर्मनाथले लक्ष्मीनाथलाई बिस्तारै टेबुलको तलतिर बोलाएर भन्यो, “अरे हो छोड़का ! थोडा थोडा तो देना ही चाहिए” …. लक्ष्मीनाथले भन्यो, अरे मालिकले देख्यो भने फसाद परी हाल्छ । धर्मनाथले भन्यो “जो होगा देख जाएगा” । धर्मनाथले दुई दुई घुट्कीको प्याक बनायो र दुबैले एकै स्वासमा स्वाट पारे । फेरि लक्ष्मीनाथले प्याक बनायो । दुबैले आखा चिम्लिएर निले । धर्मनाथले राता आखा बनाएर भन्यो,”यस सालेको गजेको हामीले त्यसै खाएका छौ र ? काम गरेर खाएको हो ।” लक्ष्मीनाथले फुल प्याक लगायो । धर्मनाथले ब्ल्याक लेबलको बिर्को खोल्यो । कसैको पर्वाह नगरी उनीहरू लगातार पिउन थाले । को पाहुना कहाँ छन्, उनीहरूलाई थाहा हुन छाड्यो । त्यसै बखत “चल छैया छैया” भन्ने गीत बज्न थाल्यो । धर्मनाथ बस्दै उठ्दै कहिले खुटा दाया र कहिले बाया गरी फ्याक्दै नाच्न थाल्यो । लक्ष्मीनाथले मारुनी नाच प्रस्तुत गर्यो । उनीहरूको अस्वभाविक चाला देखेर पाहुनाहरू अफ्ट्यारो मान्दै थिए । गजानन्द आएर दुबै जनाको सातो टिपे । केही क्षणको लागि लक्ष्मीनाथ र धर्मनाथ अलप भए ।

साथीहरूले फेरि दुई दुई प्याक लगाए । यता समारोहमा “कौन्सा हिले पकना हिले, मथुरा हिलेला गोरी……..“ भन्ने गीत घन्कियो । आफ्नो प्रादेशिक भाषाको गीत सुनेर धर्मनाथ र लक्ष्मीनाथ अरु उतेजित भए । गजानन्दकी कान्छी छोरी रुक्मिणी सो गीतमा नाच्न थालेकी थिईन् । एक्कासी धर्मनाथले रुक्मिणीको हात समातेर नाच्न थाल्यो । अम्बिका देवी चिच्याउदै “होइन ए धर्मे ! तेरो औकातमा चल्ने गर” भन्न नपाउदै लक्ष्मीनाथले अम्बिका देवीले काखी च्यापेर बोकेको ज्याफ्रीलाई तानेर जोडसँग भुइँमा बजार्यो । बिचरा ज्याफ्रिको प्राण खुस्किएला जस्तै भयो । लक्ष्मीनाथ गर्ज्यो, “साला गाउभरीका बालबालिकाले एक छाक खान पाएका छैनन,त शोषकको कुकुरको जन्म दिन ? ” उता धर्मनाथले टेबुलमा भएका गिलास र रक्सीका बोतलहरू भुईमा फ्याकेर झर्याम झुरुम पार्दै भन्यो,“त साले गजेले गाउभरिका छोरी चेलीको दिन दाहडै इज्जत लुट्दै हिड्न हुने, मैले तेरी छोरीको हात समातेर नाच्न नहुने ? ”

गजानन्द तिवारीको रिसको पारो बढेर गयो । भित्रबाट घुघुरुको लौरो ल्याएर लक्ष्मीनाथ र धर्मनाथलाई दुई दुई डण्डा बर्साए । धर्मनाथ र लक्ष्मीनाथको पाता कसियो । उनीहरू कराई रहेका थिए,“गजे चोर, शोषक, बलात्कारी, भ्रस्टचारी, दूराचारी …… ।”

भोलि पल्ट बिहान गजानन्दले दुवै जनालाई अगाडि राखेर स्वाहा पार्ने भन्दै थिए । दुबै जनाले हतार हतार गजानन्दको पाउ समातेर “मालिक हामीले हजुरको नून खाएका छौ, माफ गरी दिनु पर्यो । हामी मालिकका पूजारी हौ” भन्दै प्रार्थना गर्दै थिए ।

एल एन सुवेदी ”हस्ती”

मंगलबारे ५ ईलाम

हाल दुबई –यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *