जाडो साह्रै थियो । बिहानभरि ऊ सिरकभित्र गुटमुटिएर बसिरह्यो । त्यतिले भएन, मट्टितेलको हिटर चलायो । अलिक घाम रापिँदै गएपछि कौसीमा निस्किएर घाम ताप्यो ।
खाना खायो र घरबाट निस्कियो । दिनभर बजारमा अल्मलियो । साँझमा घरतर्फ फर्कन पाइला बढायो ।
घरभित्र पस्दा, लोडसेडिङको कारण घरमा अन्धकार थियो र त्यही अन्धकारबीच घरभित्र पस्दापस्दै उसले आफ्नी श्रीमतीको मसिनो गुनगुन सुन्यो । गुनगुन होइन, खासखुस सुन्यो । त्यो खासखुसमा पुरुष स्वरको समेत सहभागिता थियो । उसले कान थापेर त्यो पुरुष स्वर ठम्यायो । त्यो उसको छिमेकीको स्वर थियो ।
‘यो साँझ………… त्यो पनि लोडसेडिङको साँझ ? मेरो अनुपस्थितिमा यो केको खासखुस ?’ उसको मनमा चिसो पस्यो ।
केही खाँदै नखाई भोकै, कसैसँग बोल्दै नबोली ऊ, चुपचाप सुत्यो त्यो रात । सुत्यो के भन्नु ? सुत्ने कोसिस गरिरह्यो ।
रातभर जाग्राम । सोचिरह्यो उसले, ‘यो बाहिरी जाडो त सिरकले, घामले, हिटरले हटाएको छ तर…….मनको यो चिसो ?’
रातभर………
उसको मनको चिसो चिसै भइरह्यो, कसै गरेर हटेन ।
युवामञ्च २०६८ पुस
