Skip to content

नतातेको बाटो

  • by
LaxmiPokharel-04


पण्डित बाको घरमा अर्को हप्तादेखि पुराण लाग्ने भएकोले छिमेकी दिदी बहिनीहरू गफ चुट्दै पात गाँसिरहेका थिए । गफ गर्ने शिल्शिलामा दाहाल्नी आमैले भनिन् “ए साँच्ची तिमीहरूले आज बिहान पँधेराको गफ सुन्यौ ?”

दाहाल्नी आमैको कुरा नसिधिँदै हत्त पत्त अधिकार्नी बज्यैले भनिन्, “के कुरा हो हामी पनि सुनौ न !”

फेरि दाहाल्नी आमैले भनिन्, ” होईन हौ तल्ला घरेका कान्छा छोराले र अनारबोटेकी माइली छोरीले त बाटो तताएछन् नि !”

“लौ हेर ! कस्तो घोर कलियुग जाग्न थाल्यो !”

उनीहरूको यस्तै गफ चल्दा चल्दै पण्डितनी आमैले खाजा र चिया लिएर आइन् र केटाकेटीलाई पनि खाजा दिनलाई बोलाईन् । सबै बच्चाहरू आए, तर देवकी, मन्झरी र अम्बिका भने देखा परेनन् । तिनीहरूको चारैतिर खोजी भयो । उनीहरू बेला निकै पर परसम्म खोज्न गए, तर पनि फेला परेनन् ।

घरका सबै अत्तालिरहेका थिए । बल्ल साँझको करिब सात बजेतिर ती बच्चीहरू भोकले सानो मुख लगाउँदै लखतरान भएर घर आए । उनीहरु घर आइपुग्ने बित्तिकै पण्डितनी आमैले खै गरिन् । अनि उनीहरुले भने, “हामी गोट्टी खेलिरहेका थियौँ, त्यति बेला पात गाँस्दै दाहाल्नी आमैले भन्नु भएको तल्ला घरका बले दाइ र माथि राधा दिदीले बाटो तताए अरे । अनि कहाँ बाटो तताएछन् भनेर बाटो छाम्न गएका थियौँ नि ! बाटो त कहीँ पनि तातेको छैन त ।”

“किन दाहाल्नी आमैले ठूलो मान्छे भएर पनि झूटो बोल्नु भएको आमा ?” भनेर देवकीले सोधिन् ।

“लौ मलाई थाहा छैन, खाना खान आओ !” भन्दै पण्डितनी आमै भन्सा कोठामा गइन् र “के कुरा केटाकेटीको सामु भन्ने हो के नभन्ने केही थाहा पाउँदैनन् । बोल्न पाए भने जे पनि बोलेका छन्” भनेर फत्फताउँदै छोरीहरूलाई खाना खान दिइन् ।

बच्चीहरू पनि भोकले खरिएका थिए, त्यसैले हङ्ग्रायोले पाङ्ग्रो निले जस्तै गरेर खाना खान थाले ।

लक्ष्मी पोखरेल
हाल इज्रायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *