Skip to content


घरबाहिर
महादेवलाई देखेपछि
कति हुरुक्क हुन्छन
कति फुरुक्क हुन्छन
तर घरभित्र
श्रीमतीहरू रिसले बुरुक्क हुन्छन
के शक्ति रहेछ गाठे पार्वतीमा
बिचरा महादेव थुरुक्क हुन्छन ।

घरबाहिर
महादेवलाई भनेपछि
कति खुरुक्क सुन्छन
कति तुरुक्क रुन्छन
तर घरभित्र
श्रीमतीका पाखुरा जुरुक्क हुन्छन
के भक्ति रहेछ गाठे पार्वतीमा
बिचरा महादेव लुरुक्क हुन्छन ।

घरबाहिर
महादेवलाई सुनेपछि
कति डराई पुलुक्क हेर्छन
कति परै झुलक्क हुन्छन
घरभित्र
श्रीमतीहरूका आबेग भुलुक्क हुन्छन
के जुक्ति रहेछ गाठे पार्वपतीमा
बिचरा महादेव छुलक्क हुन्छन ।

घरबाहिर
महादेवलाई भेटेपछि
कति मोहित हुन्छन
कति सम्मोहित हुन्छन
कति घायल हुन्छन
तर घरभित्र
श्रीमती तातो टायल हुन्छन
के युक्ती रहेछ गाठे पार्वतीमा
बिचरा महादेव कायल हुन्छन ।

घरबाहिर
महादेवलाईपछि
कति मुसुक्क हास्छन
कतिले खुसुक्क डाक्छन
तर घरभित्र
श्रीमतीहरू ठुसुक्क हुन्छन
के ओखती रहेछ गाठे पार्वतीमा
बिचरा महादेव पनि लुसुक्क हुन्छन ।

प्रेम ओली

1 thought on “बिचरा महादेव”

  1. ठिस बुढा

    प्रेम ओलीको महादेव
    सदा झैं प्रेम ओली ज्यूको मिठो रोचक कविता।

    वाह वाह

    धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *