मनका राजा मानिकन तिमीसँग भागी आएँ,
बा आमाले दिन्नन भनी तिम्रो साथ लागी आएँ ।
एक चुट्की सिन्दुर मैले, सधै तिम्रै लागि लाएँ,
तिम्रो सृष्टि रच्ने निहुँमा, मैले कस्तो भाग्य पाएँ ?
चोखो माया जुनीभरि, गरिरहन्छु भन्थ्यौ पहिले,
सँग-सँग उत्सवहरू, सम्झिन्थ्यौ जहिले ।
जन्मदिन तिम्रो प्रियसीको, सम्झिने छाड्यौ अहिले,
मभन्दा नि माया गर्ने, अर्कीको छ अहिले ?
कल्पनाको संसारमा, घुमौना लान्थ्यौ,
भुन्टे पेटमा हुदाखेरी, सबै कुरा मान्थ्यौ ।
मेरो सृष्टि चलाउने, भुन्टे नै हो भन्थ्यौ,
आज थला पर्दाखेरी, भनेको के मान्थ्यौ ?
अर्कैको पछि लाग्छौ अरे, भन्छन साथीभाई,
उनीलाई नै पोस्छौ अरे, खाजा नखाई नखाई ।
डाह गर्नेहरु हास्छन, काखी बजाई बजाई,
ममा के कमि देख्यौ, भन्द्यौ न मलाई ?
मेरो माया उसको सामु, फिका लाग्छ भने भन,
बैंसका मेरा सारा पल, हिसाब गरी गरी गन ।
लोग्ने मान्छे असन्तोषी, सम्झौ कसरी मन ?
तिम्री कान्छी सधै भरि भैरहन्छे त यौवन ?
सँगै बच्ने मर्ने कसम, अधुरो भो मनको,
तिमीले दिएको पीडा लिई, बच्नु न मर्नु भो ।
अजम्बरी यौवन हैन तिर्सना हो मनको,
अबुझ भयौ अर्धांगिनी गहना हो जीवनको ।
